काठमाडौं। ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता भएको छ। आयोजनाको प्रवर्द्धक क्रिष्टल पावर डेभलपमेन्ट र सहभागी बैंकहरुबीच वित्तीय व्यवस्थापन सम्झौता भएको हो।
सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा सहायक प्रमुख कार्यकारी अधिकृत दीपचन्द्र रेग्मी र क्रिष्टल पावरका कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्यलगायत सह–अगुवाइ तथा सहभागी बैंक प्रतिनिधिले हस्ताक्षर गरे।
कुल २५ अर्ब रुपैयाँ अनुमानित लागत रहेको उक्त आयोजनामा ग्लोबल आइएमईको अगुवाइ, सिद्धार्थ, लक्ष्मी सनराइज, प्रभु बैंक सह–अगुवाइ एवं कृषि विकास बैंक र नेपाल एसबिआई बैंकको सहभागितामा बनेको कन्सोर्टियमले करिब १९ अर्ब रुपैयाँ लगानी गर्नेछ।
यसमध्ये ग्लोबल आइएमई बैंकले ५ अर्ब, सिद्धार्थ बैंकले ४ अर्ब, लक्ष्मी सनराइजले ४ अर्ब, प्रभु बंैकले ३ अर्ब ५० करोड, कृषि विकास बैंकले १ अर्ब ५० करोड तथा नेपाल एसबिआई बैंकले १ अर्ब रुपैयाँ लगानी गर्नेछन्।
ग्लोबल आइएमईका प्रमुख कार्यकारी अधिकृत रेग्मीले आयोजना निर्धारित समयसीमाभित्र सम्पन्न भई राज्यको ऊर्जा उत्पादन क्षमतामा वृद्धि हुने र निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुने १६६ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको अनुमानित लागत २५ अर्ब रुपैयाँ छ।
सम्झौताअनुसार बैंकले ७५ प्रतिशत लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत रकम संस्थापक तथा अन्य लगानीकर्ताबाट जुटाइनेछ। आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न हुनेछ।