काठमाडौं। धार्मिक र ऐतिहासिक पर्यटकीय नगरी जनकपुरधाममा पहिलो पटक अत्याधुनिक सुविधायुक्त पाँचतारे होटल निर्माण गरिरहेको मिथिला हस्पिटालिटीले बैंकिङ ऋण सुविधाको प्रक्रिया अघि बढाएको छ। मिथिला हस्पिटालिटीले करिब २ अर्ब रुपैयाँको लागतमा १२४ कोठाको सुविधा सम्पन्न होटल निर्माण गर्ने १ अर्ब ६५ करोड रुपैयाँको ऋण रेटिङ गराएको हो।
नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाबाट ५० करोड रुपैयाँभन्दा बढी कर्जा सुविधा उपयोग गर्न अनिवार्य रुपमा क्रेडिट रेटिङ गराइएको हुनु पर्छ। सोहीअनुसार कम्पनीले आफ्नो २ अर्ब रुपैयाँ होटल आयोजनाको निर्माण र चालू पुँजी व्यवस्थापनका लागि कम्पनीले बैंकहरूबाट लिने कुल १ अर्ब ६५ करोड रुपैयाँ बराबरको ऋण सुविधाका लागि केयर रेटिङ नेपालमा रेटिङ गराएको हो।
जसमा केयर रेटिङ नेपालले कम्पनीको १ अर्ब ६० करोड रुपैयाँ बराबरको दीर्घकालीन बैंक कर्जाका लागि ‘डबल बी माइनस’ र ५ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि ‘एफोर’ रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको सुरक्षा रहेको संकेत गर्दछ।
नयाँ परियोजना निर्माणको प्रारम्भिक चरणमा रहेको र ठूलो पुँजी परिचालन भइरहेका कारण यो स्तरको रेटिङलाई सकारात्मक मानिन्छ। कम्पनीले उक्त होटल परियोजना निर्माणका लागि गत वैशाख २१ गते भूमि पुजनसमेत सम्पन्न गरी अन्य निर्माणका कार्य अघि बढाइरहेको छ।
यस आयोजनाको सबैभन्दा सबल पक्ष यसका अनुभवी प्रवद्र्धकहरू हुन्। कम्पनीको सञ्चालक समितिमा नेपालको व्यावसायिक र बैंकिङ क्षेत्रका हस्तीहरू रहेका छन्। समिति अध्यक्षमा केटीएम ग्रुप होल्डिङ्सका अध्यक्ष एवं एनआरएनएका पूर्वउपाध्यक्ष रामेश्वर शाह रहेका छन्। जोसँग आउटसोर्सिङ र हस्पिटालिटी क्षेत्रमा साढे दुई दशकभन्दा लामो अनुभव छ।
अन्तर्राष्ट्रिय स्तरको ब्रान्डसँगको आबद्धताले गर्दा यो होटलले विश्वस्तरीय मार्केटिङ सञ्जाल र व्यवस्थापकीय दक्षता प्राप्त गर्नेछ, जसले जनकपुरमा उच्च आय भएका वैदेशिक पर्यटक भित्र्याउन मद्दत पुग्ने छ।
त्यस्तै, सञ्चालक समितिमा बैंकिङ क्षेत्रका प्रख्यात व्यक्तित्व एवं नबिल बैंक र नेपाल बंगलादेश बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र ढुंगाना छन्। वित्तीय रणनीति र जोखिम व्यवस्थापनमा दख्खल राख्ने ढुंगानाको उपस्थितिले आयोजनाको वित्तीय पारदर्शिता र व्यवस्थापनलाई थप विश्वसनीय बनाएको रिपोर्टमा उल्लेख छ।
मिथिला हस्पिटालिटीले फ्रान्सको बहुराष्ट्रिय होटल चेन ‘लुभ्र होटल्स ग्रुप’अन्तर्गतको ‘रोयल टुलिप’ ब्रान्डसँग व्यवस्थापन सम्झौता गर्ने योजना बनाएको छ। अन्तर्राष्ट्रिय स्तरको ब्रान्डसँगको आबद्धताले गर्दा यो होटलले विश्वस्तरीय मार्केटिङ सञ्जाल र व्यवस्थापकीय दक्षता प्राप्त गर्नेछ, जसले जनकपुरमा उच्च आय भएका वैदेशिक पर्यटक भित्र्याउन मद्दत पुग्ने छ।
कुल १ लाख २० हजार वर्गफिट क्षेत्रफलमा फैलिने यो होटलमा १२४ वटा प्रिमियम कोठा, विशाल ब्याकेवट हल, स्विमिङ पुल, स्पा र हेलिप्याड समेत रहने छन्। साथै, भारतीय पर्यटकहरूलाई आकर्षित गर्न होटलमा क्यासिनोको सुविधासमेत रहने प्रतिवेदनमा उल्लेख छ।
यो होटल जनकपुरको धार्मिक पर्यटनलाई लक्षित गरी निर्माण भइरहेको छ। जानकी मन्दिर र धनुषाधाम जस्ता पवित्र स्थलहरूको सामिप्यता र भारत सरकारले अघि बढाएको ‘रामायण सर्किट’मा जनकपुरको समावेश हुनुले यो होटलको व्यावसायिक भविष्य उज्ज्वल देखिएको छ।
नेपाल सरकारले सन् २०२३-२०३३ लाई ‘पर्यटन दशक’ घोषणा गरी होटल उद्योगलाई कर छुट र अन्य सहुलियतहरू दिएकाले पनि मिथिला हस्पिटालिटीलाई आफ्नो लगानीको प्रतिफल निकाल्न सहज हुने देखिन्छ।
यद्यपि, निर्माणाधीन अवस्थामा रहेकाले समयमै निर्माण सम्पन्न गर्नु र बजारमा स्थापित हुनु कम्पनीका लागि चुनौती रहे तापनि अनुभवी प्रवर्द्धक, बलियो वित्तीय संरचना (८० प्रतिशत ऋण र २० प्रतिशत स्वपुँजी) र अन्तर्राष्ट्रिय ब्रान्डको साथले यो होटल मधेस प्रदेशको पर्यटन क्षेत्रमा एउटा कोशेढुङ्गा सावित हुने निश्चित छ।
आगामी दिनमा यसले जनकपुरलाई ‘डेस्टिनेसन वेडिङ’ र कर्पोरेट इभेन्टका लागि दक्षिण एसियाकै प्रमुख केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।