काठमाडौं। लिपमोटर बी१० मा ‘ठूलो परिवर्तन’हुने भएको छ। नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्सले इलेक्ट्रिक क्रसओभर एसयूभी लीपमोटर बी१० मा ‘ठूलो परिवर्तन’हुने जनाएको हो।
आज काठमाडौंको उत्तरढोकास्थित आफ्नै सोरुममा विशेष कार्यक्रम आयोजना गर्दै बी१० सम्बन्धी विशेष घोषणा गर्ने तयारी गरेको छ।
कम्पनीले ‘समथिङ इज चेन्ज’ भनेर एक कार्यक्रम गर्ने घोषणा गरेको छ। कार्यक्रमको विषयवस्तु भने खुलाएको छैन। आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमा किलोवाट क्षमताको आधारमा लाग्दै आएको विद्युतीय सवारीसाधनको कर मूल्यको आधारमा लाग्ने घोषणा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका थिए। नयाँ कर संरचनाले बी१० लाई प्रत्यक्ष फाइदा पुग्ने अनुमान गरिएको छ।
यसअघि मोटर क्षमताका आधारमा उच्च कर लाग्दै आएको यो मोडल अब मूल्यआधारित कर प्रणालीमा समेटिएपछि यसको मूल्य पुनः समायोजन हुन सक्ने देखिएको हो। त्यसैले कार्यक्रममा मूल्य कटौती वा नयाँ अफर सार्वजनिक हुन सक्ने चर्चा बजारमा छ।
प्राविधिक रूपमा बी१० शक्तिशाली रियर–ह्वील ड्राइभ इलेक्ट्रिक एसयूभी हो। यसमा जडान गरिएको १६० किलोवाट क्षमताको मोटरले २४० न्यूटन मिटर टर्क उत्पादन गर्छ, जसले सवारीलाई उत्कृष्ट प्रदर्शन दिन्छ।
यो मोडलमा ५७ किलोवाट आवर र ६७ किलोवाटआवर क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। डब्लूएलटीपी मापदण्डअनुसार यी ब्याट्रीहरूले क्रमशः ३६१ किलोमिटर र ४३४ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छन्।
चार्जिङतर्फ, बी१० ले ११ किलोवाट एसी चार्जिङ तथा १६८ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ। फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रीलाई २० मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ।
आकारका हिसाबले बी१० को लम्बाइ ४५१५ एमएम, चौडाइ १८८५ एमएम र उचाइ १६५५ एमएम रहेको छ भने यसको ह्वीलबेस २७३५ एमएम छ, जसले प्रशस्त केबिन स्पेस उपलब्ध गराउँछ।
फिचरको सूची पनि आकर्षक छ। गाडीमा एडास लेभल–२, लाइडार सेन्सर, स्न्यापड्रागन चिपसेट, ३६० डिग्री क्यामेरा, एम्बियन्ट लाइटिङ, १२ स्पीकरयुक्त प्रिमियम अडियो सिस्टम, सनरुफ, लेदर सिट, हिटेड तथा भेन्टिलेटेड सिट लगायत सुविधा समावेश छन्। साथै फ्लस पप–आउट डोर ह्यान्डल र १८ इन्च अलोय ह्वीलले यसको आधुनिक डिजाइनलाई थप आकर्षक बनाएको छ।