काठमाडौं। आगामी आर्थिक वर्षको बजेटले देशको कुनै पनि क्षेत्रमा उत्साह जगाउन नसकेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सचेतक तथा सांसद खुश्बु ओलीले सरकारलाई कडा प्रश्न उठाएकी छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ओलीले बजेट सार्वजनिक भएयता सेयर बजारमा देखिएको निरन्तर गिरावटलाई औंल्याउँदै सरकारको आलोचना गरिन्। उनका अनुसार, सामान्यतया बजेटले पुँजी बजार र अर्थतन्त्रलाई सकारात्मक दिशा दिने अपेक्षा गरिए पनि यसपटक बजारको प्रतिक्रिया उल्टो देखिएको छ।
"बजेट वक्तव्य सार्वजनिक हुनेसाथ सेयर बजारमा तीव्र गिरावट देखियो, जुन आजसम्म पनि कायम छ। बजार झन्झन् घट्दैछ," सांसद ओलीले भनिन्। उनले थप्दै भनिन्, "सामान्यतया बजेटले बजारलाई केही न केही सकारात्मक संकेत दिनुपर्थ्यो, तर यसपटक त्यस्तो देखिएन।"
बजेटको प्रत्यक्ष प्रभाव पुँजी बजारमा सबैभन्दा पहिले देखिने भए पनि हाल लगानीकर्ताहरू निराश रहेको उनको भनाइ छ। "आज उद्योग क्षेत्र उत्साहित छैन, सेयर बजार र निजी क्षेत्रमा पनि उत्साह छैन। लगानीकर्तामा आत्मविश्वासको ठूलो कमी देखिएको छ," ओलीले प्रतिनिधिसभामा भनिन्।
देशको समग्र आर्थिक अवस्था र बजेटको प्रभावकारितामाथि प्रश्न उठाउँदै उनले अर्थमन्त्री र प्रधानमन्त्रीलाई समेत सिधा जवाफ माग गरिन्। "यस्तो अवस्थामा मेरो सरकारसँग, विशेषगरी अर्थमन्त्रीज्यू र प्रधानमन्त्रीज्यूसँग प्रत्यक्ष प्रश्न छ — आखिर यो बजेटबाट उत्साहित भएको चाहिँ को हो?" उनले प्रतिनिधिसभा बैठकमा प्रश्न गरिन्।सांसद ओलीको यो टिप्पणीपछि बजेटको प्रभावकारिता र पुँजी बजारको अवस्थालाई लिएर संसदभित्र थप बहस हुने सम्भावना देखिएको छ।