काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष पदमा अर्थशास्त्री एवं नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल प्रसाद भट्ट नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आज (शुक्रबार) को बैठकले लामो समयदेखि नेतृत्वविहीन रहेको बोर्डको नेतृत्व भट्टलाई सुम्पिने निर्णय गरेको हो।
यसअघि रमेश हमाल र सन्तोष नारायण श्रेष्ठ अध्यक्ष बन्दा पनि अन्तिम तीनको सूचीमा परेर बाहिरिएका भट्ट तेस्रो प्रयासमा देशको पुँजी बजार नियामकको सर्वोच्च कुर्सीमा पुग्न सफल भएका हुन्। भट्टले आगामी साढे २ वर्षका लागि बोर्डको नेतृत्व सम्हाल्ने छन्। यसअघि बोर्डमा ५ वर्षका लागि नियुक्त भएका श्रेष्ठले कार्यकाल पुरा नहुँदै राजीनामा दिएपछि बाँकी अवधिका लागि भट्टलाई सरकारले नियुक्त गरेको हो।
योग्यता र कार्यअनुभवको लामो फेरिस्त
डा. भट्ट वित्तीय क्षेत्र र आर्थिक अनुसन्धानका क्षेत्रमा खारिएका स्थापित नाम हुन्। उनले ’स्टक मार्केट इफिसिएन्सी’ (सेयर बजारको कार्यदक्षता) विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन्। नेपाल राष्ट्र बैंकमा विशिष्ट श्रेणी (कार्यकारी निर्देशक) को रूपमा लामो समय वित्तीय नीति निर्माण, आर्थिक अनुसन्धान र सुपरिवेक्षणमा बिताएका भट्टसँग प्राध्यापन र अन्तर्राष्ट्रिय वित्तीय परामर्शदाताको रूपमा काम गरेको समेत अनुभव छ। राष्ट्र बैंकको कडा नियामक वातावरणमा हुर्किएकाले उनलाई संस्थागत सुशासन कायम गराउने मामिलामा कडा प्रशासक मानिन्छ।
अब चाल्नुपर्ने कदमहरू र चुनौती
केन्द्रीय बैंकको अनुभव बोकेर धितोपत्र बोर्ड प्रवेश गरेका डा. भट्टसामु पुँजी बजारलाई बैंकिङ प्रणाली जत्तिकै सुरक्षित र पारदर्शी बनाउनुपर्ने प्राथमिक चुनौती छ। उनले तत्काल निम्न कदमहरू चाल्नुपर्ने देखिन्छः
नेप्सेको संरचनात्मक सुधार: नेप्सेको सरकारी स्वामित्व विनिवेश गर्ने र विश्वस्तरीय रणनीतिक साझेदार भित्र्याउने सम्बन्धी प्रतिवेदनहरू वर्षौँदेखि थन्किएका छन्। राष्ट्र बैंकको अनुभव प्रयोग गर्दै नेप्सेको पुनर्संरचनालाई तार्किक निष्कर्षमा पुर्याउनु उनको पहिलो प्राथमिकता हुनुपर्छ।
इलेक्ट्रोनिक सुपरीवेक्षण र भित्री कारोबार नियन्त्रण: बजारमा हुने भित्री कारोबार र कृत्रिम मूल्य उतारचढाव रोक्न बोर्डको इलेक्ट्रोनिक सर्भेलियन्स सिस्टमलाई आधुनिक बनाउनु आवश्यक छ। राष्ट्र बैंकमा सुपरिवेक्षण विभाग चलाएको उनको अनुभव यहाँ बढी उपयोगी हुने देखिन्छ।
नयाँ औजार र कमोडिटी मार्केटः नेपालमा वस्तु विनिमय बजार (कमोडिटी मार्केट) को कानुन बने पनि सञ्चालनमा आउन सकेको छैन। त्यस्तै डेरिभेटिभ मार्केट, इन्ट्रा–डे ट्रेडिङ र पूर्वाधार बन्ड जस्ता नयाँ औजारहरू बजारमा भित्र्याउन भट्टले तत्काल पहल गर्नुपर्नेछ।
नियामक समन्वय: धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकबीच विगतमा नीतिगत असमझदारीका कारण सेयर बजार प्रभावित हुने गरेको थियो। राष्ट्र बैंककै पूर्वअधिकारी भएकाले भट्टले दुवै नियामकबीच बलियो समन्वय कायम गरी मार्जिन प्रकृतिको कर्जा र अन्य वित्तीय औजारमा देखिएका गाँठाहरू फुकाउन सक्ने अपेक्षा गरिएको छ।
सरकारको पुँजी बजार नीतिलाई सफल बनाउन सहयोग गर्छु : भट्ट
नवनियुक्त अध्यक्ष डा. भट्टले नयाँ सरकारको पुँजी बजार सम्बन्धी नीतिलाई सफल बनाउन बोर्डले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘सरकारले पुँजी बजारलाई प्राथमिकतामा राखेर जुन नीति लिएको छ, त्यसलाई साकार पार्न म कटिबद्ध छु। विशेष गरी बजेटमा समेटिएका पुँजी बजारका महत्त्वपूर्ण विषयहरूलाई तत्काल कार्यान्वयनमा लैजानु मेरो मुख्य प्राथमिकता हुनेछ।’ बजारमा सुशासन कायम गर्ने, भित्री कारोबार जस्ता विकृतिलाई नियन्त्रण गर्ने र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर बोर्डलाई एक व्यावसायिक र पारदर्शी नियामक निकायको रूपमा अगाडि बढाउने उनको लक्ष्य छ।