काठमाडौं। सरकारले दुई महिनामा अर्थ मन्त्रालयअन्तर्गत ११ वटा महत्त्वपूर्ण निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वैशाख र जेठमा ६ पटक बसेको बैठकले अर्थ मन्त्रालयअन्तर्गत महत्त्वपूर्ण ११ निर्णय गरेको हो।
मन्त्रिपरिषद्को वैशाखमा बसेको पहिलो बैठकले अर्थ मन्त्रालयअन्तर्गत बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप कोषमा स्वीट्जरल्याण्ड सरकार प्राप्त हुने स्वीस फ्रान्क (सीएचएफ) १ मिलियन बराबरको अनुदान सहायता प्राप्त गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकले आन्तरिक राजस्व विभागको उपमहानिर्देशक, निर्देशक र शाखा अधिकृत, ठुला करदाता कार्यालय तथा मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासक, प्रमुख कर अधिकृत र कर अधिकृत, आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत र कर अधिकृत तथा ५२ वटा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक वा कोष नियन्त्रकलाई तोकिएको क्षेत्र हेर्ने गरी अन्तःशुल्क अधिकृतको रूपमा तोक्ने निर्णय गरेको बताए।
मन्त्री पोखरेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (तेस्रो संशोधन) नियमावली स्वीकृत गर्ने र भन्सार नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय समेत गरेको जानकारी दिए।
बैठकले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्ति गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव डा.घनश्याम उपाध्याय र भुवनकुमार दाहाल, रौतहट विशेषज्ञ रहने गरी सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो।
यस्तै, नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको रिक्त अध्यक्ष पदमा नियुक्ति गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र प्रा. डा. फत्तबहादुर केसी, काठमाडौं विशेषज्ञ रहने गरी सिफारिस समिति गठन गर्ने निर्णय समेत गरेको मन्त्री पोखरेलले बताए।
एकीकृत खानेपानी तथा ढल व्यवस्थापन ( क्षेत्र) परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने अमेरिकी डलर ११५ मिलियन सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी वित्तीय सम्झौता तथा अन्य सम्बन्धित दस्तावेजलाई अन्तिम रूप दिने विषयमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने बैठकले निर्णय समेत गरेको छ।
यसैगरी, परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न उद्योगहरूलाई कर्जा उपलब्ध गराउने र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा पाँच मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत गरेको मन्त्री पोखरेलले बताए।
उनले मध्य त्रिशूली नदी बेसिनमा चिसो पानीमा पाइने लोपोन्मुख प्रजातिका माछाको संरक्षण र माछा मार्ने समुदायहरूको दिगो जीविकोपार्जन परियोजनाको लागि विश्व वातावरण सुविधाबाट प्राप्त हुने १२,७२,६३० अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको बताए।
नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठित सिफारिस समिति पुनर्गठन गर्ने र सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य माननीय सुशील खड्का, बागलुङ र माननीय योगेश गौचन थकाली, मुस्ताङलाई मनोनयन गर्ने निर्णय समेत भएको मन्त्री पोखरेलले जानकारी दिए।