चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र प्रयोजनका लागि प्रतिनिधि परिचयपत्र वितरणको काम सुरु भएको छ। परिचयपत्र वितरणको काम छिटो सक्ने उद्देश्यले विभिन्न नौ ठाउँबाट सुरु गरिएको पार्टीले जनाएको छ।
रास्वपा चितवनका सभापति ई. मिनीमाधव खनालका अनुसार सात प्रदेश, प्रवास र समायोजनबाट प्रतिनिधि बनेकाहरूको अलगअलग ठाउँमा वितरण भइरहेको छ। प्रतिनिधिको टुङ्गो लागेपछि स्वचालित प्रणालीबाट परिचयपत्र छपाइ गर्ने भएकाले केही ढिलो भएको स्पष्ट गर्दै महाधिवेशन आयोजक जिल्लाका सभापति खनालले परिचयपत्र वितरणपछि बन्दसत्र सुरु हुने बताए।
यसैबीच कुनै पनि पदका उम्मेदवारका प्रस्तावकले अर्को उम्मेदवारको प्रस्तावक बन्न नपाउने भएका छन्। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सूचना जारी गरी कुनै एक व्यक्तिले एकभन्दा बढी उम्मेदवारको उम्मेदवारी फारममा प्रस्तावकका रूपमा हस्ताक्षर गर्न नपाइने जनाएको हो।
त्यसैगरी, कुनै पनि पदका उम्मेदवारका एक समर्थकले एकभन्दा बढी उम्मेदवारको उम्मेदवारी फारममा समर्थकका रूपमा पनि हस्ताक्षर गर्न नपाइने आयोगले स्पष्ट गरेको छ। आयोगका प्रमुख भुवन केसीका अनुसार पार्टी सभापति पदका उम्मेदवारले मनोनयन फारम दाखिला गर्दा एक जना प्रस्तावक र ५१ जना समर्थकको अनिवार्य रूपमा नाम, सम्पर्क नम्बर र हस्ताक्षर गरेको हुनुपर्ने छ।
त्यस्तै, पार्टी पदाधिकारी र केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने हरेकले दाखिला गर्ने मनोनयन फारममा एक जना प्रस्तावक र २१ जनाका दरले समर्थकको नाम, सम्पर्क नम्बर र हस्ताक्षर भएको हुनुपर्नेछ।
केसीले नियमविपरीत उम्मेदवार मनोनयन फारम दाखिला हुन आएमा उक्त उम्मेदवारी फारम स्वतः अमान्य ठहर हुने बताए। यसैगरी, कुनै पनि उम्मेदवारका प्रस्तावक र समर्थकले पार्टीको पदाधिकारी एवं सदस्य पदमा उम्मेदवारी दिन नपाउने आयोगले स्पष्ट गरेको छ।