काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको विद्युत् वितरण प्रणालीलाई थप आधुनिक, भरपर्दो तथा स्वचालित बनाउने उद्देश्यका साथ निर्माण गरिएको लेटाङ ३३/११ केभी, ८ एमभीए मानवविहीन अटो रिकलोजर तथा स्काडा आधारित सबस्टेसन सफलतापूर्वक परीक्षण, कमिसनिङ तथा चार्ज भई सञ्चालनमा आएको छ।
आयोजना विद्युत् प्राधिकरण, कोसी प्रदेश कार्यालय विराटनगरअन्तर्गत निर्माण गरिएको हो। उक्त सबस्टेसन नेपालको विद्युत् वितरण प्रणालीमा पहिलो पटक अटो रिकलोजर तथा स्क्याडा नियन्त्रण प्रणालीमा आधारित मानवविहीन सबस्टेसनको रूपमा स्थापित भएको छ, जसले वितरण प्रणालीको आधुनिकीकरणमा नयाँ अध्याय थपेको छ।
निर्माण कार्य २०७९ साल वैशाख ६ गते प्रारम्भ भई २०८३ असार ५ गते सफलतापूर्वक सम्पन्न तथा चार्ज गरिएको हो। आयोजना निर्माणको जिम्मेवारी जय दुर्गे इन्फ्रा इन्जिनियरिङले वहन गरेको थियो।
सबस्टेसनमा ८ एमभीए क्षमताको पावर ट्रान्सफर्मर, ३३ केभीका ४ वटा बे (एक इनकमर, एक आउटगोइङ, एक ट्रान्सफर्मर तथा एक स्पेयर) तथा ११ केभीका ५ वटा बे (एक इनकमर, चार आउटगोइङमध्ये दुई स्पेयरसहित) स्थापना गरिएको छ। साथै, नियन्त्रण कक्ष तथा कर्मचारी आवाससहितको कार्यालय भवनसमेत निर्माण गरिएको छ।
करिब रु. १० करोड लागतमा सम्पन्न यस आयोजनाले लेटाङ नगरपालिका तथा बेलबारी नगरपालिका क्षेत्रका हजारौं विद्युत् उपभोक्तालाई प्रत्यक्ष लाभ पुर्याउने अपेक्षा गरिएको छ।
सबस्टेसन सञ्चालनमा आएपछि वितरण प्रणालीमा रहेका प्राविधिक तथा व्यावसायिक हानिमा कमी आउने, भोल्टेज स्तरमा सुधार हुने, अनावश्यक ट्रिपिङ तथा विद्युत् अवरोध न्यून हुने तथा राजस्व संकलनमा वृद्धि हुने विश्वास गरिएको छ। साथै मानवविहीन तथा पूर्ण स्वचालित प्रणाली भएकाले सञ्चालन तथा मर्मतसम्भारका लागि आवश्यक जनशक्ति तथा सञ्चालन खर्चमा समेत उल्लेखनीय कमी आउनेछ।
परियोजनामा प्रयोग गरिएको प्रमुख उपकरणमा सीजी मेको अटो रिक्लोजर तथा साइमेन्स स्क्यान्डा सिस्टम रहेका छन्, जसले दूरस्थ नियन्त्रणमार्फत सबस्टेसनको सुरक्षित तथा प्रभावकारी सञ्चालन सुनिश्चित गर्नेछ।
परियोजनाको सफल परीक्षण, कमिसनिङ तथा चार्जिङसँगै कोसी प्रदेशको विद्युत् वितरण प्रणाली थप भरपर्दो, आधुनिक तथा स्मार्ट ग्रिड प्रविधितर्फ उन्मुख भएको सम्बन्धित पक्षले बताएका छन्।
नेपाल विद्युत् प्राधिकरण तथा निर्माण कम्पनीका प्राविधिक टोलीको संयुक्त प्रयासबाट सम्पन्न भएको यो आयोजना देशको विद्युत् वितरण प्रणाली स्वचालनको क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
लेटाङ क्षेत्रमा लामो समयदेखि न्यून भोल्टेज तथा विद्युुत् आपूर्तिसम्बन्धी समस्याका कारण स्थानीय उपभोक्ताबाट ब्यापक गुनासो आएपछि विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले तत्काल वैकल्पिक व्यवस्था गरी सबस्टेसन निर्माण कार्य शीघ्र सम्पन्न गर्न निर्देशन दिएका थिए।
सोहीअनुसार कोसी प्रादेशिक कार्यालयले विराटचोकदेखि केरुङसम्म निर्माण भएको ३३ केभी लाइन सञ्चालन गरी द्रुत गतिमा सबस्टेसन सञ्चालनमा ल्याएको हो ।