भैरहवा। ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन बोर्डको समर्थनमा असार ५ मा भैरहवास्थित सिद्धार्थ भिलसामा आरोग्य जनचेतना तथा पर्यटन प्रवर्द्धन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यक्रममा सरकारी अधिकारी, पर्यटन उद्योगका अग्रणी व्यक्तित्व, वेलनेश विशेषज्ञ तथा व्यापारिक समुदायका प्रतिनिधिहरू सहभागी भई लुम्बिनी प्रदेशमा स्वस्थ जीवन, र वेलनेश पर्यटनको प्रवर्द्धनमा जोड दिएका हुन्।
नेपालमा भइरहेको आरोग्य पर्यटन वर्षको सन्दर्भमा आयोजना गरिएको यो कार्यक्रमको उद्देश्य लुम्बिनी क्षेत्रमा पर्यटन वृद्धिमा आरोग्य पर्यटनको अपार सम्भावनाहरूको बारेमा जनचेतना फैलाए।
कार्यक्रमको औपचारिक उद्घाटन नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले स्पा एसोसिएसन नेपालका अध्यक्ष सुरेश पुरी, आयोजक समितिका अध्यक्ष भुवन फैजु, नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशी, होटल एसोसिएसन नेपालका केन्द्रीय सदस्य तथा सिद्धार्थ होटल एसोसिएसन (सान)का अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्रालय सचिव नारद गौतम, सिद्धार्थ हस्पिटालिटी ग्रुपका संस्थापक अध्यक्ष लक्ष्मण न्यौपाने, र आयोजक समितिका सह–अध्यक्ष निशा श्रेष्ठको उपस्थितिमा गरेका थिए।
आफ्नो सम्बोधनमा मन्त्री पौडेलले मानव जीवनको केन्द्रीय उद्देश्य खुशीको खोजी भएको भन्दै यात्रा र वेलनेश त्यस खोजीसँग अन्तर्निहित रूपमा जोडिएको बताए। उनले नेपालको पर्यटनको मुख्य भाग आरोग्य पर्यटनसँग जोडिएको र देशको पर्यटन क्षेत्र यस बिना अधुरो रहेको बताए।
मन्त्री पौडेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई छिटोभन्दा छिटो पूर्ण रूपमा नियमित सञ्चालनमा ल्याउन सक्रिय रूपमा काम गरिरहेको बताए। उनले नेपालले एक करोड पर्यटक आकर्षित गर्ने महत्वाकांक्षी लक्ष्य राखेको बताए।
स्पा एसोसिएसन नेपालका अध्यक्ष सुरेश पुरीले नेपालमा वेलनेस टुरिज्मको सम्भावनाको बारेमा विस्तृत जानकारी दिए। उनले उपचार भन्दा रोकथाम बढी प्रभावकारी हुने कुरामा जोड दिँदै आधुनिक संसारमा तनाव व्यवस्थापनका लागि व्यायाम, योग र ध्यानलाई प्रभावकारी उपाय भएको बताए।