काठमाडौं। पीजी सुज ब्राण्डको नेपाली जुत्ता उत्पादक कम्पनी पारागन फुटवेयर इण्डष्ट्रिज बुधबारदेखि आफ्नो स्थापनाको २८औँ वर्ष प्रवेश गरेको छ। नेपाली सीपको उपयोग गरी उत्पादन गरिएका छालाका जुत्ता र छालाजन्य वस्तुहरु नेपाली उपभोक्ता माझ पहिचानका साथ सेवा पुर्याउँदै आएको कम्पनी २०५५ असार १७ गते स्थापना भएको हो।
कम्पनीका प्रबन्ध निर्देशक रामहरी तोलाङ्गले स्थापनाकालदेखि नेपालमा छालाका स्तरीय जुत्ता उत्पादन र बिक्री वितरण गर्दै आएको कम्पनीले शुरुवातमा अधिकांश काम हातबाटै शुरु भइ अहिले अत्याधुनिक मेसिनसम्म आइपुगेको बताए।
गुणस्तरलाई सुरुदेखि नै प्राथमिकतामा राख्दै आजसम्म आइपुग्दा, पारागन फुटवेयर उद्योगले आधुनिक मेसिन प्रविधिमार्फत उत्पादन गर्दै आएको जनाउँदै उनले बालबालिका, युवा, महिला तथा ज्येष्ठ नागरिकसम्म सबै उमेर समूहका ग्राहकहरूको आवश्यकता र रुचिअनुसार उत्पादनहरू उपलब्ध गराउँदै आएको बताए।
शुरुवातमा बढीमा १५ देखि २० जोर जुत्ता उत्पादनबाट शुरु भएको उद्योगका उत्पादन अहिले देशव्यापी भएका छन्। उद्योगदेखि सोरुमसम्म करिब एक सय जना प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साढे तीन सयभन्दा बढी जनशक्तिलाई रोजगारी प्रदान गरिरहेको पारागन फुटवेयरले आगामी दिनमा आयातीत जुत्तालाई प्रतिस्थापन गर्दै निर्यातमा जाने र ग्राहकले पनि विदेशी जुत्ता खोज्नै नपर्ने अवस्था ल्याउने गरी काम गरिरहेको कम्पनीका प्रबन्ध निर्देशक तोलाङ्गले बताए।
चन्द्रागिरी नगरपालिका वडा नं. ९ मा रहेको उद्योगमा पार्टी, क्याजुअल, बच्चा, कलेज तथा स्कुल स्पोर्टसलगायतका जुत्ता उत्पादन हुने गरेको छ। दिगो बजार तथा स्थानीय कच्चा पदार्थमा आधारित व्यवसायको निरन्तरताबाट नै कुनै पनि कम्पनीको संस्थागत विकास र व्यवसायिकता निरन्तरता स्थापित हुने भन्दै कम्पनीका मार्केटिङ प्रमुख राजेन्द्र तोलाङ्गले आगामी दिनमा पीजी सुज ब्राण्डका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पनि पुर्याउने तयारीमा लागेको बताए।
पारागन फुटवेयरले परम्परागत प्रविधि र नयाँ प्रविधिको समिश्रणबाट उत्पादित नेपाली जुत्ताहरु वास्तवमा भौगोलिक विकटता र नेपालीको क्रयशक्तिलाई समेत ध्यान दिएर पीजी सुज ब्राण्डका जुत्ता उत्पादन गरिएको उनले बताए। सामान्य नागरिकदेखि कर्मचारी, विद्यार्थी, सेना, प्रहरीलगायतको आवश्यकतालाई ध्यान दिएरै पारागन फुटवेयर उद्योग स्थापना भएको हो।
कम्पनीका मार्केटिङ प्रमुख तोलाङ्गले पारागन ब्राण्डका जुत्ताहरु अन्तर्राष्ट्रिय ब्रान्डसँग कुनै पनि हालतमा कमजोर छैनन् भन्ने कुरा आम उपभोक्ताहरुले बुझिसकेका कारण कम्पनीको रजत वर्ष पुरा गर्ने यात्रा सम्भव भएको बताए। नेपाली हातहरुले बनाइएका जुत्ताहरु नेपाली उपभोक्ताहरुले मात्र होइन विदेशी उपभोक्ताहरुले समेत मन पराउन थालेको भन्दै उनले बलियो, राम्रो र सस्तोमा नेपाली जुत्ताहरु पाइनुले पनि यसप्रति दिनानुदिन आकर्षण बढ्दै गएको बताए। नेपाली जुत्ता उत्पादन गर्ने उद्योगहरुले अझ नयाँ प्रविधि भित्र्याउन सके निश्चय नै नेपाली उद्योगहरुले विदेशी उत्पादनसँग पनि प्रतिस्पर्धा गर्न सक्षम हुने उनको विश्वास छ।
नेपाली जुत्ता उत्पादन गर्ने जति पनि उद्योगहरुले नेपाली उपभोक्तालाई मध्यनजर राखेर उत्पादन गर्ने तथा अन्तर्राष्ट्रिय चाहना र रोजाइलाई समेत ध्यान दिएर आकर्षक, सस्तो र राम्रो वस्तु उत्पादन गर्न सके नेपाली उद्योगहरुको भविष्य राम्रो रहेको कम्पनीका मार्केटिङ प्रमुख तोलाङ्गले बताए।आधुनिक किसिमका छालाका जुत्ता तथा छालाजन्य वस्तु उत्पादनको गुणस्तरीयतामा पारागनले कुनै कन्जुसाई नगरेका कारण अहिले आम नेपाली उपभोक्ताहरुमा पनि नेपाली ब्राण्ड सस्तो र राम्रो छ भन्ने बलियो धारणा बनिसकेको उनले बताए।