न्युयोर्क। प्रेमको अभिव्यक्ति कति साहसिक हुन सक्छ? यसको एउटा असाधारण उदाहरण अमेरिकाको न्युयोर्कमा देखिएको छ।
विश्वकै चर्चित गगनचुम्बी भवन एम्पायर स्टेट बिल्डिङको करिब १,४५४ फिट (४४३ मिटर) अग्लो एन्टेनामा गैरकानुनी रूपमा चढेर रुसी ‘रुफटपर’ जोडी एन्जेला निकोलाउ र इभान बिर्कुस (इभान कुजनेत्सोभ)ले प्रेम प्रस्ताव गरेपछि उनीहरूलाई न्युयोर्क प्रहरीले पक्राउ गरेको छ।
घटनाअनुसार जुलाई १ को दिउँसो कालो पहिरन र अनुहार छोप्ने मास्क लगाएर उनीहरू एम्पायर स्टेट बिल्डिङको सार्वजनिक अवलोकन क्षेत्रभन्दा धेरै माथि रहेको प्रतिबन्धित एन्टेनासम्म पुगे। त्यहाँ पुगेर उनीहरूले ‘जब प्रेमको शक्ति सत्ताको शक्तिभन्दा ठूलो हुन्छ, तब संसारले शान्ति पाउँछ’ भन्ने सन्देश लेखिएको ब्यानर फहराए। त्यसपछि केही तल झरेर इभानले एन्जेलालाई औँठी दिएर विवाहको प्रस्ताव राखे।
एन्जेलाले प्रस्ताव स्वीकार गरेपछि दुवैले एकअर्कालाई अँगालो हाल्दै फोटो र भिडियो खिचे। केही समयपछि न्युयोर्क प्रहरीको आपतकालीन उद्धार टोली त्यहाँ पुगेको थियो र दुवैलाई नियन्त्रणमा लियो।
यो जोडी साहसिक सहरी आरोहणका कारण विश्वभर परिचित छ। उनीहरूले वर्षौंदेखि विश्वका अग्ला भवन, टावर, क्रेन र पुलमा कुनै सुरक्षा डोरीबिना चढ्दै आएका छन्। उनीहरूको जीवनकथामा आधारित २०२४ को नेटफ्लिक्स डकुमेन्ट्री स्काइवाकरस्: ‘अ लभ स्टोरी’ले उनीहरूलाई झन् विश्वव्यापी चर्चा दिलाएको थियो। उक्त डकुमेन्ट्रीमा उनीहरूको प्रेम सम्बन्धसँगै अत्यन्त जोखिमपूर्ण आरोहणको कथा प्रस्तुत गरिएको छ।
यस घटनापछि न्युयोर्कका अभियोजनकर्ताले उनीहरूमाथि फेलोनी (गम्भीर) चोरी, लापरवाहीपूर्ण जोखिम सिर्जना, आपराधिक अतिक्रमण, आपराधिक क्षति तथा अन्य अभियोग लगाएका छन्। अनुसन्धानका क्रममा प्रतिबन्धित क्षेत्रमा प्रवेश गर्ने ढोकाको लक फुटाइएको भेटिएको र उनीहरू कसरी त्यहाँसम्म पुगे भन्ने विषयमा अनुसन्धान जारी रहेको जनाइएको छ।
एम्पायर स्टेट बिल्डिङ व्यवस्थापनले यो घटना पूर्ण रूपमा अनधिकृत भएको स्पष्ट गर्दै भवनभित्र रहेका सर्वसाधारणलाई कुनै क्षति नभएको जनाएको छ। साथै, भवनमा कानुनी रूपमा विवाह प्रस्ताव गर्न चाहनेका लागि विशेष ‘प्रपोजल प्याकेज’ समेत उपलब्ध रहेको उल्लेख गर्दै यस्तो जोखिमपूर्ण कार्यको आवश्यकता नरहेको प्रतिक्रिया दिएको छ।
घटना सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले यसलाई प्रेमको साहसिक अभिव्यक्ति भनेका छन् भने धेरैले यस्तो कार्यले आफ्नै ज्यान मात्र होइन, उद्धारमा खटिने सुरक्षाकर्मीको जीवनसमेत जोखिममा पार्ने भएकाले गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गरेका छन्।
विश्वकै सबैभन्दा चर्चित गगनचुम्बी भवनमध्ये एकको चुचुरोमा गरिएको यो प्रेम प्रस्ताव केही मिनेटमै विश्वभर भाइरल बन्यो। तर, रोमान्टिक क्षणसँगै सुरु भएको यो घटना अन्ततः अदालत र आपराधिक अभियोगसम्म पुगेर टुंगिएको छ।