काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले विधि र प्रक्रिया भन्दा परिणाम दिन्छु भन्दै कानुनविपरीतका काममा उद्धत भएको बताएका छन्।
सरकारका १०० दिनबारे पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको समीक्षात्मक कार्यक्रममा सभापति थापाले प्रधानमन्त्री शाह नेतृत्वको सरकारले २०७४ सालको निर्वाचनपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकार जस्तै शैलीमा काम गरेको उल्लेख गरे।
उनले भने, ‘विधि र प्रक्रिया केही होइन। परिणाम दिन्छु भनेर सरकार हिँडिरहेको छ। यस्तो अभ्यास हामीले विगतमा पनि देखेको हो। नेकपाको सरकारभन्दा अहिलेको सरकार फरक भएन।’
यस्तै, सभापति थापाले शाह नेतृत्वको रास्वपाको एकल सरकार नागरिकको जीवन (लाइफ)भन्दा सामाजिक सञ्जालको लाइक (लोकप्रियता)मा केन्द्रीत भएको बताए।
यस क्रममा उनले विविधताहरूलाई सम्बोधन गर्ने विषय सबैभन्दा बढी महत्त्वपूर्ण हुने भन्दै जे मन लाग्यो त्यही गरेर नचल्न सुझाव दिए। उनले भने, ‘हाम्रा विविधतालाई सम्बोधन गर्ने विषय सबैभन्दा बढी महत्वपूर्ण हुन्छ। तर यी विषयहरूलाई बडो हल्का पाराले, बडो लफङ्गो पाराले, जे मन लाग्छ, त्यही बोलिदिएको छ, जे मन लाग्छ त्यही गरिदिएको छ। यो अर्को एउटा चिन्ताको विषय हो।’
अन्तमा सभापति थापाले बालुवाटारभन्दा सिंहदरबारबाट शासन गरेको भन्दै प्रधानमन्त्री शाहको प्रशंसा गर्न भ्याए।