काठमाडौं। मर्चेन्ट बैंकिङ र सामूहिक लगानी कोष (म्युचुअल फण्ड) व्यवस्थापनमा आक्रामक बन्दै गएको एनआईसी एशिया क्यापिटलको व्यवस्थापकीय साख उच्च देखिएको छ। रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल (इन्फोमेरिक्स नेपाल)ले क्यापिटललाई ‘एएमसी क्वालिटी २’ रेटिङ प्रदान गरेको हो।
यो रेटिङले क्यापिटलसँग म्युचुअल फण्डका योजनाहरू सफलतापूर्वक सञ्चालन गर्ने र योजनाको उद्देश्य प्राप्ति गर्ने क्षमता ‘उच्च’ रहेको पुष्टि गर्दछ। क्यापिटलले आफ्नो व्यावसायिक पारदर्शिता र फण्ड व्यवस्थापनको गुणस्तर मापन गर्न यो रेटिङ गराएको हो। इन्फोमेरिक्सका अनुसार, बलियो लगानी संरचना, अनुभवी सञ्चालक समिति र दक्ष व्यवस्थापन टोलीका कारण एनआईसी एशिया क्यापिटलले फण्ड म्यानेजमेन्टमा आफ्नो बलियो उपस्थिति जनाउन सफल भएको छ।
सात वटा योजना र ६ अर्ब ७५ करोडको सम्पत्ति व्यवस्थापन
एनआईसी एशिया क्यापिटलले हालसम्म कुल सात वटा म्युचुअल फण्ड योजनाहरू व्यवस्थापन गरिसकेको छ। जसमा पाँच वटा बन्दमुखी र दुई वटा खुलामुखी योजनाहरू रहेका छन्। क्यापिटलले हालै मात्र ‘एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्कीम’ सफलतापूर्वक सार्वजनिक गरेको छ।
सन् २०२६ को अप्रिल मध्यसम्मको तथ्याङ्कअनुसार, क्यापिटलले व्यवस्थापन गरेको कुल सम्पत्ति करिब ६ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। क्यापिटलको पोर्टफोलियोमध्ये ७५ प्रतिशत हिस्सा सेयर बजारमा लगानी भएको छ। क्यापिटलको पहिलो योजना ‘एनआईसी एशिया ग्रोथ फण्ड’ ७ वर्षे अवधि पूरा गरी परिपक्व भइसकेको छ। जसले लगानीकर्तालाई वार्षिक औसत १४.१९ प्रतिशत प्रतिफल दिन सफल भएको थियो।
क्यापिटलसँग हाल व्यवस्थापन गरिएका योजनामा करिब १ अर्ब रुपैयाँ (कुल सम्पत्तिको १५ प्रतिशत) नगद मौज्दात रहेको छ। सेयर बजारमा उतारचढाव आइरहेको वर्तमान अवस्थामा यो नगद मौज्दातले क्यापिटललाई उपयुक्त समयमा सस्तो मूल्यमा सेयर खरिद गरी लगानीकर्तालाई थप लाभ दिलाउने अवसर प्रदान गरेको रेटिङ रिपोर्टमा उल्लेख छ।
वित्तीय प्रदर्शन र आम्दानीको स्रोत
एनआईसी एशिया क्यापिटलको वित्तीय स्वास्थ्य निकै सन्तोषजनक देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा क्यापिटलले ११ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामै क्यापिटलले ७ करोड ६० लाख रुपैयाँ नाफा कमाइसकेको छ। क्यापिटलको आम्दानीका मुख्य स्रोतहरूमा म्युचुअल फण्ड व्यवस्थापन शुल्क, पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस, सेयर निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रार सेवा रहेका छन्।
सन् २०१६ मा स्थापना भएको यस क्यापिटलमा एनआईसी एशिया बैंकको ९० प्रतिशत सेयर स्वामित्व छ। बाँकी १० प्रतिशत हिस्सा विभिन्न प्रतिष्ठित व्यक्ति र संस्थाहरूको छ। बैंकको बलियो नेटवर्क र प्राविधिक सहयोग क्यापिटलका लागि ठूलो सबल पक्ष हो। क्यापिटलको सञ्चालक समितिको नेतृत्व अध्यक्ष मदन पौडेलले गरिरहेका छन् भने व्यवस्थापन टोली अनुभवी बैंकर र वित्तीय विज्ञहरूद्वारा सञ्चालित छ।
नेपालको पुँजी बजारमा नियामक निकाय धितोपत्र बोर्डले ल्याएका नयाँ नीतिहरू, गैर–आवासीय नेपालीलाई बजारमा प्रवेश दिने योजना र प्राथमिक सेयरमा म्युचुअल फण्डका लागि छुट्याइएको कोटा क्यापिटलका लागि ठूला अवसर हुन्।
यद्यपि, सेयर बजारमा हुने तीव्र उतारचढाव क्यापिटलका लागि मुख्य चुनौती हो। क्यापिटलको लगानी पोर्टफोलियोमध्ये २१ प्रतिशत हिस्सा बैंक तथा वित्तीय क्षेत्रमा र २३ प्रतिशत हिस्सा निर्जीवन बीमा क्षेत्रमा केन्द्रित भएकाले यी क्षेत्रमा आउने जोखिमले क्यापिटलको नाफामा असर पार्न सक्छ।
त्यस्तै, म्युचुअल फण्ड उद्योगमा बढ्दो प्रतिस्पर्धा र दक्ष जनशक्तिलाई टिकाइराख्नु पनि उत्तिकै चुनौतीपूर्ण रहेको छ। तर, बलियो संस्थागत आधार र उच्च गुणस्तरको रेटिङका कारण एनआईसी एशिया क्यापिटलको व्यावसायिक भविष्य निकै आशालाग्दो देखिएको छ।