काठमाडाैं। पूर्वाधारमन्त्री सुनील लम्सालले जनसेवामा लापरबाही गर्ने जनप्रतिनिधिविरुद्ध फेरि एकपटक कडा भाषा प्रयोग गरेका छन्। तनहुँको शुक्लागण्डकी नगरपालिका-५, दुलेगौँडामा स्थानीयवासीसँगको भेटघाटमा उनले काम नगर्ने मेयरलाई कारबाही र प्रदेशमन्त्रीलाई समेत थुन्ने चेतावनी दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा कार्यकर्तासँगको कार्यक्रममा बोल्दै मन्त्री लम्सालले जनताको पक्षमा इमानदारीपूर्वक काम गर्न सबै जनप्रतिनिधि र पदाधिकारी जिम्मेवार हुनुपर्ने बताए। "यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई जानकारी दिनुहोस्। आवश्यक कारबाही गर्छौं। प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने थुन्छौं हामी," उनले चेतावनी दिँदै भने।
मन्त्री लम्सालले जनतालाई दुःख दिने, सेवा प्रवाहमा बेवास्ता गर्ने वा जिम्मेवारी पूरा नगर्ने स्थानीय तहका प्रमुख वा पदाधिकारीको जानकारी सम्बन्धित निकायमा दिन नागरिकलाई आग्रह गरे। त्यस्ता गैरजिम्मेवार पदाधिकारीमाथि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रतिबद्धता उनले जनाए।
यो पहिलोपटक होइन, जब मन्त्री लम्सालको कडा भाषाशैली चर्चामा आएको छ। यसअघि उनले काम नगर्ने ठेकेदारहरूको खुट्टा भाँच्ने अभिव्यक्ति दिएका थिए, जसका कारण उनी व्यापक आलोचनामा परेका थिए। सोही शैलीको निरन्तरतास्वरूप उनले यसपटक प्रदेशस्तरका मन्त्रीलाई नै थुन्ने धम्की दोहोर्याएका हुन्।
मन्त्री लम्सालको यो अभिव्यक्ति रहेको भिडियो क्लिप हाल सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ, जसले सार्वजनिक प्रशासनमा जवाफदेहिता र जनप्रतिनिधिहरूको भाषाशैलीबारे बहस पुनः सतहमा ल्याएको छ।