काठमाडौं। पाँचपटकको विश्वकप विजेता ब्राजिल चालू विश्वकप प्रतियोगिताबाटै बाहिरिएको छ।
विश्वकपको अन्तिम १६ मा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि स्टार फरवार्ड नेयमारले आफ्नो अन्तर्राष्ट्रिय फुटबल यात्राबाट संन्यासको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। खेल हारेपछि भावुक देखिएका उनले अब ब्राजिलको राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुंगिएको संकेत गरेका हुन्।
मेटलाइफ स्टेडियममा दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका ३४ वर्षीय नेयमारले इन्जुरी समय पेनाल्टीमार्फत एक गोल फर्काएको थिए। तर, नर्वेका अर्लिङ हालान्डको दुई गोलले ब्राजिलको पुनरागमन सम्भव हुन सकेन।
खेलपछि ब्राजिलको ग्लोबो एस्पोर्टेसँग कुरा गर्दै नेयमारले भने, ‘मैले धेरै प्रयास गरेँ। अब यो समाप्त भयो। मेरो यात्रा यहीँबाट सुरु भएको थियो र यहीँ अन्त्य भयो।’ अन्तिम सिटी बज्नासाथ उनी भावुक हुँदै आँसुमा डुबेका थियो भने टोलीका खेलाडीले सान्त्वना दिएका थिए।
ब्राजिलका सर्वाधिक गोलकर्ता नेयमारले सन् २०१० मा यही मेटलाइफ स्टेडियममा अमेरिकाविरुद्ध २–० को जितमा राष्ट्रिय टोलीका लागि पहिलो गोल गरेका थिए। त्यसै मैदानमा सम्भावित अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्नु उनका लागि विशेष संयोग बनेको छ।
पछिल्ला केही वर्ष चोटपटकका कारण लगातार समस्यामा पर्नुभएका पूर्वबार्सिलोना र पेरिस सेन्ट–जर्मेनका खेलाडी हाल आफ्नो पुरानो क्लब सान्तोसबाट खेलिरहेका छन्। चोटकै कारण उनले विश्वकपका सुरुआती दुई समूह खेल गुमाएका थिए।
त्यसपछि स्कटल्यान्डविरुद्धको खेलमा मैदान फर्किएका उनको प्रतियोगितामा दोस्रो तथा सम्भावित अन्तिम उपस्थिति नर्वेविरुद्ध रह्यो। अक्टोबर २०२३ यता यो उहाँको पहिलो अन्तर्राष्ट्रिय पुनरागमन पनि थियो।–एजेन्सी