काठमाडौं। आगामी असोजभित्र निजामती सेवामा सबभन्दा माथिल्लो श्रेणी सचिवबाट १५ जनाले अनिवार्य अवकाश लिँदै छन्। निजामती प्रशासनको माथिल्लाे अंगका प्रमुख मुख्यसचिव सुमनराज अर्याल पनि आगामी असार २५ मा ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै छन्।
पाँचवर्षे कार्यकाल, उमेर हद तथा अनिवार्य अवकाशका कारण कर्मचारी प्रशासनबाट सचिवहरू क्रमशः बाहिरिने भएका हुन्।
असार लाग्नासाथ सचिवहरु अनिवार्य अवकाशमा जाने क्रम सुरु भएको छ। ऊर्जा मन्त्रालयका सचिव चीरञ्जीवी चटौत असार १४ गते ५८ वर्षे उमेर हद पूरा भएपछि अवकाशमा गएका छन्। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य वज्राचार्य असार १६ गते पाँचवर्षे कार्यकाल पूरा गरेसँगै सेवाबाट बाहिरिएकी छन्।
निर्वाचन आयोगका सचिव मधुसुदन बुर्लाकोटी असार २२ गते र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय (जगेडा) का सचिव कृष्णहरि पुष्कर कर्ण असार २३ मा पाँचवर्षे कार्यकाल पूरा भएपछि सेवाबाट बाहिरिँदै छन्। कृष्णहरि यसअघि अवकाशपछि पदको आस गर्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई म्यासेज पठाएपछि केही घन्टा प्रहरीको केरकारमा परेर विवादमा आएका थिए।
मुख्यसचिव सुमनराज अर्याल असार २५ मा ५८ वर्षे उमेर हदका कारण अवकाशमा जाँदै छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विशेष दरबन्दीमा रहेका सचिव खगेन्द्रप्रसाद नेपाल असार २७ गते पाँचवर्षे कार्यकाल पूरा भएपछि बाहिरिनेछन्।
साउन ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव किरणराज शर्मा पाँचवर्षे कार्यकाल पूरा गरेर बाहिरिनेछन्। साउन ६ गते लोकनाथ पौड्याल ५८ वर्षे उमेर हदका कारण अवकाशमा जानेछन्। त्यसपछि साउन १९ गते हरिप्रसाद मैनाली र साउन २४ मा गोविन्दप्रसाद शर्मा अनिवार्य अवकाशमा जानेछन्।
भदौमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय (जगेडा) का सचिव डिल्लीराम शर्मा, गृहसचिव राजकुमार श्रेष्ठ तथा बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी सेवाबाट बाहिरिनेछन्। असोजमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र सचिव रविलाल पन्थको पनि कार्यकाल समाप्त हुनेछ।
हाल १८ मन्त्रालय कायम रहेकामा १५ सचिव अनिवार्य अवकाशमा गएसँगै सरकारले नयाँ नियुक्ति प्रक्रिया अगाडि बढाउनुपर्नेछ।