चितवन। भरतपुर अस्पतालले ९२ करोड ३६ लाख भुक्तानी पाएको छ। बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो।
स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए। संस्थाले विसं २०७४ भदौबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो। यस अवधिमा बिमामार्फत दुई अर्ब ४७ करोड ४८ लाख २२ हजार ३२९.९७ प्राप्त गरिसकेको छ।
गत आर्थिक वर्षमा चार लाख ४१ हजार पटक बिमा सेवा दिएको अस्पतालले यस आर्थिक वर्षमा पाँच लाखभन्दा बढी पटक सेवा दिएको छ। अस्पतालमा चितवन, मकवानपुर, बारा, पर्सा, नवलपरासी, गोरखा, तनहुँ, लमजुङ, धादिङलगायत २२ जिल्लाभन्दा बढी स्थानबाट बिरामी बिमामार्फत सेवा लिन आउने गर्छन्।
प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले बिमाका बिरामीलाई उच्च प्राथमिकता दिँदै प्रतीक्षा सूची घटाउने गरी काम गरिरहेको बताउँछन्। भिडियो एक्सरेको एक हप्ताको सूची घटाएर प्रतीक्षा गर्न नपर्ने बनाइएको छ। सिटी मेसिनमा समस्या आएपछि मर्मत नभएसम्मका लागि निजी अस्पतालसँग सहकार्य गरेर बिमाको दररेटमा सेवा दिइएको उनले बताए।
अनलाइनमार्फत टिकट काट्ने व्यवस्था पनि मिलाइएको छ। दैनिक झण्डै २०० हाराहारीले अनलाईनमार्फत टिकट काट्न थालेका छन्। यो सङ्ख्या ४०० हाराहारी पुग्ने अनुमान छ । अस्पतालले आठ वटाबाट नगद काउन्टर बढाएर १० पुर्याएको छ।
बिमाको नयाँ शुल्कसँगै बहिरङ्ग सेवामा २५ हजारसम्मको सेवा लिँदा पहिलेको तुलनामा मूल्य घटेपछि अहिले निकै बढी औषधि र सेवा लिने अवसर बिरामीले पाएका छन्।