काठमाडौं। वैदेशिक रोजगारीबाट फर्किएका नेपाली आप्रवासी श्रमिकहरूमध्ये महिलाले पुरुषको तुलनामा रोजगारीका लागि बढी भर्ना लागत तिर्ने गरे पनि मासिक आम्दानी पुरुषको तुलनामा निकै कम रहेको एक सर्वेक्षणले देखाएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन अर्थात आइएलओको सहयोगमा नेपालमा पहिलो पटक आप्रवासी भर्ना लागत सर्वेक्षण २०२३ सञ्चालन गरेको हो। सर्वेक्षणको नतिजा कार्यालयले आज सार्वजनिक गरेको छ।
तथ्यांक कार्यालयको यो सर्वेक्षण दुई चरणको स्तरीकृत नमुना छनोट विधिमा आधारित घर परिवार सर्वेक्षण हो। सर्वेक्षणमा देशभरबाट प्रतिनिधित्व हुने गरी तीन हजार ७४२ घरपरिवार समेटेर राष्ट्रिय स्तरमा विश्वसनीय अनुमानहरू प्राप्त भएका छन्। सर्वेक्षणको नतिजाले नेपालको कुल दुई करोड ९६ लाख जनसंख्यामध्ये २४ लाख ५० हजार अर्थात ८ दशमलव ३ प्रतिशत जनसंख्या फर्किएका अन्तर्राष्ट्रिय आप्रवासी रहेको देखाएको छ।
जसमध्ये १६ लाख १० हजार अर्थात ५ दशमलव ४ प्रतिशत विदेशमा काम गरी नेपाल फर्किएका अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक थिए। विदेशमा काम गरी नेपाल फर्किएका अन्तर्राष्ट्रिय आप्रवासी श्रमिकमध्ये २ लाख ५३ हजार ६८६ अर्थात १५ दशमलव ७ प्रतिशत श्रमिक विगत पाँच वर्षको अवधिमा रोजगारीका लागि विभिन्न गन्त्वय मुलुक गएका थिए। तथ्यांक कार्यालय र आइएलओको सर्वेक्षणमा विदेश पुगेर नेपाल फर्किएका आप्रवासी कामदारसँग विभिन्न तवरबाट लिइएको तथ्यांकलाई आधार मानिएको प्रतिवेदनमा उल्लेख छ।
अर्कोतर्फ प्रतिवेदनअनुसार नेपाल फर्किएका आप्रवासी श्रमिकमध्ये पुरुषको आम्दानी महिला श्रमिकको तुलनामा बढी देखिएको छ।
सर्वेक्षणले आप्रवासी श्रमिकहरूको लागत र कमाइमा ठूलो खाडल देखाएको छ। तथ्यांक कार्यालयले जारी गरेको प्रतिवेदनअनुसार नेपाल फर्किएका आप्रवासी श्रमिकहरुमध्ये भर्ना लागतका रुपमा पुरुषहरुले औसत १ लाख ७६ हजार ६८६ रुपैयाँ खर्च गरेको पाइएको छ। महिलाहरुले औसत भर्ना लागत २ लाख १९ हजार ३६२ रुपैयाँ रहेको सो प्रतिवेदनमा उल्लेख रहेको छ।
रोजगारीको प्रमुख गन्तव्य मुलुक अर्थात मध्येपूर्वका देशहरु र मलेसिया भर्ना लागत २ लाख रुपैयाँ तथा छिमेकी देश भारतमा सबैभन्दा कम लागत भएको देश रहेको प्रतिवेदनमा जनाइएको छ। जसमा भारतमा रोजगारीका लागि जान १६ हजार रुपैयाँ लागत रहेको उल्लेख छ। तथ्यांक कार्यालयको प्रतिवेदनअनुसार सेवा क्षेत्र र उच्च सीययुक्त पेसामा भर्ना लागत उच्च रहेको छ। कृषि क्षेत्रमा सबैभन्दा कम भर्ना लागत लाग्ने गरेको छ।
प्रतिवेदनअनुसार नेपाल फर्किएका आप्रवासी श्रमिकलाई आफ्नो भर्ना लागत बराबर गर्न ३ दशमलव ३ महिनाको मासिक आम्दानी पर्ने देखिएको छ। महिलाहरुलाई यस्तो भर्ना लागत बराबर गर्न पुरुषलाई भन्दा बढी ४ दशमलव ५ महिना आम्दानी आवश्यक पर्ने देखिएको छ। आधारमा श्रमिकहरूको भर्ना लागत सूचक ३ दशमलव ७ महिनाको रहेको छ। आधारित भर्ना लागतमा लैंगिक अन्तर केही घटे पनि वहन क्षमतासम्बन्धी चुनौतीहरू कायम रहेको देखिन्छ।
अर्कोतर्फ प्रतिवेदनअनुसार नेपाल फर्किएका आप्रवासी श्रमिकमध्ये पुरुषको आम्दानी महिला श्रमिकको तुलनामा बढी देखिएको छ।
श्रम गन्तव्य मुलुकमा जाँदा दर्ता नभएका एजेन्टबाट जाँदा बढी शुल्क लाग्ने गरेको प्रतिवेदनमा उल्लेख छ। सो एजेन्टबाट वैदेशिक रोजगारीमा जाँदा औसत ४ दशमलव ८ महिनामध्येका ४ दशमलव ७ महिना तथा दर्ता भएका भर्ना एजेन्सी, कम्पनीहरू औसत ३ दशमलव ६ महिना, मध्येका ४ दशमलव ४ महिना लाग्ने गरेको पाइएको छ। त्यस्तै, परिवार तथा साथीहरुको माध्यमबाट ० दशमलव ६ महिना लाग्ने गरेको छ।
अर्कोतर्फ प्रतिवेदनअनुसार नेपाल फर्किएका आप्रवासी श्रमिकमध्ये पुरुषको आम्दानी महिला श्रमिकको तुलनामा बढी देखिएको छ। पुरुषको औसत आम्दानी ६४ हजार ७२१, मध्यिका ४४ हजार ५०५ रुपैयाँ रहेको सर्वेक्षणको निष्कर्ष छ। महिलाको मासिक औसत आम्दानी ४८ हजार ६४७ रुपैयाँ र मध्यिका ३० हजार ९२० रुपैयाँ रहेको छ। सो तथ्यांकलाई मनन गर्ने हो भने विदेशमा आप्रवासी श्रमिको मासिक आय असमान रहेको स्पष्ट रुपमा देखिन्छ।
तथ्यांक कार्यालयको प्रतिवेदनअनुसार गन्तव्य मुलुकका आधारमा आप्रवासी श्रमिकहरुको मासिक आम्दानी विश्लेषण गर्दा मलेसियामा सबैभन्दा उच्च रहेको तथा औसत आम्दानी ५७ हजार ६९६ रुपैयाँ रहेको छ। त्यसपछि कतार र संयुक्त अरब इमिरेटस (यूएई)मा करिब ५५ हजार रुपैयाँ रहेको छ भने भारतमा सबैभन्दा कम अर्थात औसतमा २६ हजार ८३ रुपैयाँमध्येका २४ हजार रुपैयाँ रहेको प्रतिवेदनले जनाएको छ।
यता, क्षेत्रगत रुपमा हेर्दा सेवा क्षेत्रमा सबैभन्दा बढी मासिक आम्दानी औसत ६५ हजार ३४५ रुपैयाँ र सबैभन्दा कम कृषिमा ३४ हजार ५२८ रहेको छ। उद्योगमा औसत ४६ हजार १८२ रुपैयाँ आम्दानी गर्ने गरेको तथ्यांकले देखाएको छ। आप्रवासी श्रमिकको आम्दानी उच्च सिपयुक्त पेशामा सबैभन्दा धेरै रहेको छ। उच्च सिपयुक्त पेशमा मासिक औसत आम्दानी ६९ हजार ८९१ र मध्यिका ५१ हजार ६०६ रुपैयाँ रहेको प्रतिवेदनको निष्कर्ष रहेको छ।