काठमाडौं। प्रतिनिधिसभाको बैठक ११ बजे बस्ने गरी संघीय संसद् सचिवालयले कार्यसूची सार्वजनिक गरेको छ। बैठकमा विभिन्न विधेयकमाथिको छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१÷८२ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१÷८२ सदनसमक्ष प्रस्तुत गर्नेछन्।
त्यसैगरी आजै विभिन्न नयाँ विधेयक सदनमा दर्ता र छलफलका लागि प्रस्तुत गरिने कार्यसूची छ। कानुनमन्त्री गौतमले राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै उक्त विधेयक सदनमा पेस गर्नेछन्।
यसैगरी नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि उनले नै प्रस्तुत गर्ने कार्यक्रम छ।
बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।