काठमाडौं। निर्वाचन आयोगको आयुक्त पदमा सिफारिस भएपछि राजीव सुब्बाले नेपाल दूरसञ्चार प्राधिकरण अध्यक्ष पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन्। सुब्बाले मंगलबार सामाजिक सञ्जालमार्फत दूरसञ्चार प्राधिकरण अध्यक्षको प्रतिस्पर्धाबाट बाहिरिएको घोषणा गरेका हुन्।
प्राधिकरण अध्यक्षका लागि २०८३ वैशाख २६ मा प्रकाशित सूचनामा दरखास्त दिएका थिए । प्राधिकरण अध्यक्ष बन्न आवेदन स्वीकृत भएका २९ जनामध्येबाट ९ जनाको संक्षिप्त सूची सार्वजनिक गरेको थियो।
सञ्चार तथा प्रविधि मन्त्रालयले असार १९ गते प्रकाशित अर्को सूचनामार्फत अध्यक्ष पदका लागि केवल ९ जनाको संक्षिप्त सूची सार्वजनिक गरेकामा सुब्बा सर्टलिस्टमा परेका थिए। यसमा अर्जुन घिमिरे बहालवाला निर्देशक, नेपाल दूरसञ्चार प्राधिकरण, अनन्तमान सिंह नेपाल टेलिकमका पूर्वकर्मचारी, अनिलकुमार झा पूर्वकार्यकारी प्रमुख, जनक शिक्षा सामग्री केन्द्र, अमलेन्दुनारायण सिंह नेपाल टेलिकमका पूर्वकर्मचारी रहेका छन्।
निर्वाचन आयोगले पछिल्लो समय डिजिटल मतदाता नामावली, साइबर सुरक्षा, सामाजिक सञ्जालको निगरानी र विद्युतीय मतदानजस्ता प्राविधिक विषयलाई प्राथमिकता दिइरहेका बेला प्रविधि क्षेत्रका विज्ञलाई नै नेतृत्व तहमा ल्याएको बुझाइ छ।
यस्तै, जनार्दन भट्ट विभागीय प्रमुख, थापाथली इन्जिनियरिङ क्याम्पस, मधुसूदन दाहाल नेपाल टेलिकम, नवौं तहका इन्जिनियर, राजीव सुब्बा प्रहरीका पूर्वडीआईजी, प्रस्तावित निर्वाचन आयुक्त, सनाउल्लाह खान टेलिकमका पूर्वकर्मचारी र सुशीलप्रसाद साह टेलिकमका पूर्वकर्मचारी रहेका छन्।
गत असार १९ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले रिक्त निर्वाचन आयुक्तमा राजीव सुब्बा काठमाडौंलाई नियुक्त गरेपछि प्राधिकरणको अध्यक्षबाट उम्मेद्वारी फिर्ता लिएका हुन्।
अध्यक्षका प्रत्यासी सुब्बालाई किन आयुक्त बनाइयो
लामो समयदेखि चुनावका बेलामा विदेशमा रहेका नेपाली नागरिकको मतदान गर्ने प्रबन्ध गर्ने भन्दै आए पनि यसले सफलता पाउन सकेको छैन। विदेशमा रहेका नेपालीले नोट चल्ने, भोट नचल्ने अभियान नै सञ्चालन गर्दै आएका छन्। विदेशबाट पठाएको रेमिटेन्स सहजै स्वीकार गर्ने राज्यले त्यहाँ रहेका नेपाली नागरिकलाई मतदानको अधिकारबाट वञ्चित गराउँदै आएकोप्रति चर्को विरोध हुँदै आएको छ।
निर्वाचन आयोगलाई डिजिटल युग सुहाउँदो बनाउन, प्रविधिको उच्च प्रयोग गर्न र विशेष गरी विदेशमा रहेका नेपालीलाई प्रविधिको माध्यमबाट मताधिकार दिलाउनेजस्ता दूरगामी योजनालाई कार्यान्वयन गर्न सुब्बालाई उपयुक्त पात्रका रूपमा हेरिएका कारण तथा पछिल्लो समय यही अवस्था अन्त्य गर्ने उद्धेश्यले सरकारले निर्वाचन आयोगमा योग्य सूचना प्रविधि विज्ञलाई आयुक्त बनाउन चाहेको हो।
निर्वाचन आयोगले पछिल्लो समय डिजिटल मतदाता नामावली, साइबर सुरक्षा, सामाजिक सञ्जालको निगरानी र विद्युतीय मतदानजस्ता प्राविधिक विषयलाई प्राथमिकता दिइरहेका बेला प्रविधि क्षेत्रका विज्ञलाई नै नेतृत्व तहमा ल्याएको बुझाइ छ।
अध्यक्षका प्रतिस्पर्धी सुब्बा को हुन्
संवैधानिक परिषद्ले नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक अर्थात् डीआईजीलाई आयोगको आयुक्तमा सिफारिस गरेको छ। सुब्बासँग सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा तीन दशक लामो अनुभव छ। नेपाल प्रहरीको सञ्चार निर्देशनालयको नेतृत्व गरेको सुब्बाले अमेरिकास्थित युनिभर्सिटी अफ हवाईबाट सञ्चार र सूचना विज्ञानमा विद्यावारिधि गरेका छन्।
सुब्बा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयअन्तर्गत सञ्चालित डिजिटल प्रविधि कार्यक्रम संयोजकसमेत रहेका सुब्बाले आर्टिफिसियल इन्टेलिजेन्स एआई, डेटा साइन्स र साइबर सुरक्षा क्षेत्रका शैक्षिक कार्यक्रमको योजना, विकास तथा कार्यान्वयनको नेतृत्व गरेका थिए।
पाठ्यक्रम, प्राध्यापक तथा विद्यार्थी सहभागिताको व्यवस्थापन गर्दै प्रविधि शिक्षामा विगत केही वर्षदेखि सक्रिय थिए। साथै, उनले नर्वेको युनिभर्सिटी अफ एगडरमा भिजिटिङ एसोसिएट प्रोफेसरको रूपमा समेत कार्य गरेका छन् भने सुब्बाले विभिन्न क्राइसिस लिडरसिप र प्रविधिमा तालिम प्राप्त गरेका छन् भने विभिन्न पदक पनि पाएका छन्।