काठमाडौं। सेयर बिक्री र बिमा कसुरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेपछि हाल आधा दर्जन बढी बिमा कम्पनी प्रमुख कार्यकारी अधिकृतबिनै सञ्चालनमा छन्। विभागले मुद्दा दायर गरेसँगै बिमा कम्पनीका सीईओ र सञ्चालक निलम्बनमा परेका हुन्।
जीवन बिमा, निर्जीवन बिमा, पुनर्बिमा तथा माइक्रो इन्स्योरेन्स क्षेत्रका आधा दर्जन बिमा कम्पनी सीईओबिनै सञ्चालन भइरहेका हुन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत जेठ २८ गते बिमा र धितोपत्र कसुरमा बिमा क्षेत्रका उच्च पदाधिकारीलाई फौजदारी मुद्दा लगाएको थियो।
सीईओबिनै सञ्चालन रहेका बिमा कम्पनीको दैनिक कामकाजमा अप्ठेरोपछि सम्बन्धित कम्पनीका कर्मचारीले नियामक बिमा प्राधिकरणको ध्यानाकर्षण गराएका हुन्। असारको क्लोजिङ समस्या पर्नेबारे प्राधिकरणलाई जानकारी गराएको ती कर्मचारीको भनाइ छ।
प्राधिकरणको निर्देशिका अनुसार सीईओ पद रिक्त भए वरिष्ठ कर्मचारीलाई बढीमा तीन महिनासम्म कायममुकायम सीईओको जिम्मेवारी दिन सकिन्छ। तर, धेरै कम्पनीले यही अस्थायी व्यवस्थालाई लामो समयसम्म निरन्तरता दिएका छन्।
बिमा ऐन, २०७९ ले सीईओ नियुक्त गर्ने अधिकार सम्बन्धित कम्पनीको सञ्चालक समितिलाई दिएको छ। सीईओ नहुँदा बिमामा डिजिटल रुपान्तरण, नयाँ बिमा प्रडक्ट, दीर्घकालीन रणनीतिक निर्णय, लगानी व्यवस्थापन, व्यवसाय विस्तारलगायत प्रभावित हुने निश्चित छ।
हाल नेपाल रि इन्स्योरेन्स, हिमालयन रि इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ, क्रेस्ट माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्समा सीईओ छैनन्।