विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भ फिफा विश्वकप-२०२६ अहिले चरम रोमाञ्चक मोडमा पुगेको छ। मैदानभित्र विश्वका उत्कृष्ट टोलीहरू उपाधिका लागि संघर्ष गरिरहेका छन्। मैदानबाहिर करोडौँ समर्थक आफ्ना मनपर्ने टोलीको जित-हारसँग भावनात्मक रूपमा जोडिएका छन्। यो उत्साह खेलप्रेमी सर्वसाधारणमा मात्र सीमित छैन, नेपालका उद्योगी-व्यवसायीहरू पनि यतिबेला विश्वकपको रङमा रंगिएका छन्।
दिनभर उद्योग, व्यापार, लगानी र व्यवस्थापनका निर्णयमा व्यस्त रहने व्यवसायिक नेतृत्व रात पर्दा भने आफ्नो रोजाइको टोलीको खेल हेर्न समय निकालिरहेका छन्। कसैले दशकौँदेखि एउटै टोलीलाई निरन्तर समर्थन गर्दै आएका छन्। कसैले यसपटक विश्वकप प्रत्यक्ष रंगशालामै पुगेर खेल हेर्ने तयारीमा छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षदेखि युवा उद्यमीसम्म धेरै व्यवसायीका आफ्नै मनपर्ने टोली छन्। कोही ब्राजिलको जादुमय फुटबलका समर्थक छन् भने कोही अर्जेन्टिना, फ्रान्स, वा इङ्ल्यान्डका कट्टर प्रशंसक।
नेपालमा सबैभन्दा बढी हेरिने अन्तर्राष्ट्रिय खेलमध्ये फुटबल अग्रस्थानमा पर्छ। विश्वकप सुरु भएपछि यसको चर्चा झन व्यापक बन्ने गर्छ। त्यसैले निजी क्षेत्रका नेतृत्वकर्ताहरू पनि यसबाट अछुतो रहने कुरै भएन। उनीहरूका लागि फुटबल मनोरञ्जन मात्र होइन, अनुशासन, रणनीति, नेतृत्व र टिमवर्क सिकाउने खेल पनि हो।
अन्जन श्रेष्ठ: हारे पनि ब्राजिल, जिते पनि ब्राजिल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ ब्राजिलका पुराना समर्थक हुन्। 'आफूले ब्राजिललाई समर्थन गर्न थालेको आजको कुरा होइन। म अहिलेदेखि होइन, धेरै पहिलेदेखि नै ब्राजिलको समर्थक हुँ,' अध्यक्ष श्रेष्ठले भने, 'हारे पनि ब्राजिल, जिते पनि ब्राजिल नै हो। अब टोली हारेर घर फर्किएको छ। त्यसैले फाइनलमा राम्रो खेल्ने टोलीलाई मेरो समर्थन रहनेछ।'
स्कुल र कलेज जीवनमा आफू नियमित फुटबल खेल्ने गरेको उनी सम्झिन्छन्। तर, व्यवसायिक यात्रामा अघि बढेसँगै मैदानबाट टाढिनु परेको उनको अनुभव छ। 'पहिला समय मिल्दा फुटबल खेलिन्थ्यो,' उनले भने, 'व्यवसायिक यात्रामा लागेपछि फुटबल खेल्ने समय नै भएन। अहिले खेल्न चाहेर पनि समय मिल्दैन। तर फुटबलप्रतिको चासो भने अझै उस्तै छ।'
यसपटक अध्यक्ष श्रेष्ठ विश्वकप प्रत्यक्ष हेर्न अमेरिका जाने तयारीमा छन्। आफूले समर्थन गरेको टोली प्रतियोगिताबाट बाहिरिए पनि विश्वकपको रोमाञ्च प्रत्यक्ष अनुभव गर्न चाहेको उनी बताउँछन्। 'म यसै साता विश्वकपको सेमिफाइनल र फाइनल खेल हेर्न अमेरिका जाँदै छु,' उनले भने, 'अब समर्थन गरेको टोली बाहिरिए पनि बाँकी खेलहरू प्रत्यक्ष हेरेर फर्किने योजना छ।'
लाक्पा सोनाम शेर्पा: लुगाको बलबाट सुरु भएको फुटबल प्रेम
यती ग्रुपका अध्यक्ष लाक्पा सोनाम शेर्पा फ्रान्सका समर्थक हुन्। समयले साथ दिएसम्म उनी फ्रान्सका खेल छुटाउँदैनन्। उनका अनुसार फुटबलसँगको सम्बन्ध बाल्यकालदेखि सुरु भएको हो। आर्थिक अभावका कारण फुटबल किन्ने अवस्था नभए पनि खेलप्रतिको मोह कहिल्यै कम भएन।
'बाल्यकाल निकै दुःखमा बित्यो। फुटबल किनेर खेल्ने अवस्था थिएन,' अध्यक्ष शेर्पाले भने, 'त्यसैले लुगाको फुटबल बनाएर गाउँमा साथीहरूसँग खेलिन्थ्यो। त्यहीँबाट फुटबलप्रतिको रुचि बढ्यो। काठमाडौं आएपछि व्यवसायमा व्यस्त हुनुपरे पनि फुटबल हेर्ने बानी भने छुटेन। काठमाडौं आएपछि काममै व्यस्त हुनुपर्ने भयो। त्यसैले खेल्नभन्दा पनि काममै केन्द्रित हुनुपर्यो।' अहिले पनि समय मिल्यो भने फुटबल हेर्न निकै मजा लाग्ने उनी बताउँछन्। फ्रान्सका खेल सकेसम्म छुटाउँदैनन्, उनी।
उनका अनुसार फुटबलले टिमवर्क, धैर्यता र सही समयमा सही निर्णय लिन सिकाउँछ। व्यवसायमा जस्तै मैदानमा पनि रणनीति सफल भयो भने मात्रै नतिजा आफ्नो पक्षमा आउने उनी बताउँछन्।
प्रविणबहादुर पाण्डेः अर्जेन्टिना र फ्रान्समध्ये एकले उपाधि जितोस्
सांग्रिला हस्पिटालिटी ग्रुपका प्रबन्ध निर्देशक प्रविणबहादुर पाण्डेको सबैभन्दा मनपर्ने खेल टेबल टेनिस हो। तर विश्वकप सुरु भएपछि भने उनी पनि फुटबलको रोमाञ्चबाट टाढा रहन सक्दैनन्। व्यस्त कार्य तालिकाबीच समय मिलाएर विश्वकपका महत्वपूर्ण खेलहरू हेर्ने गरेको उनी बताउँछन्।
उनका अनुसार विश्व फुटबलमा सबैभन्दा मनपर्ने टोली अर्जेन्टिना र फ्रान्स हुन्। दुवै टोलीको खेल शैली, खेलाडीको क्षमता र प्रतिस्पर्धात्मक मानसिकताले आफूलाई आकर्षित गर्ने उनी बताउँछन्।
'मेरो कामना अर्जेन्टिना र फ्रान्समध्ये कुनै एक टोलीले विश्वकप जितोस् भन्ने छ,' प्रबन्ध निर्देशक पाण्डेले भने, 'अहिलेसम्मको प्रदर्शन हेर्दा पनि यी दुई टोलीमध्ये एकले उपाधि जित्ने सम्भावना देखिन्छ। त्यसैले विश्वकपको अन्तिमसम्मको यात्रा निकै रोमाञ्चक हुने अपेक्षा गरेको छु।'
उनका अनुसार व्यवसायमा जस्तै फुटबलमा पनि अन्तिम समयसम्म नतिजाको अनुमान गर्न सकिँदैन। त्यसैले विश्वकपको आकर्षण हरेक संस्करणमा झन बढ्दै गएको उनको बुझाइ छ।
सौरभ ज्योतीः मेस्सीले फेरि ट्रफी उचालेको हेर्ने चाहना
पद्म ज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योती अर्जेन्टिनाका समर्थक हुन्। विद्यार्थी जीवनमा उनी नियमित रूपमा फुटबल खेल्थे। कलेज र विश्वविद्यालयमा गोलकिपरको भूमिकामा खेलेको अनुभव उनीसँग छ। 'कलेज र युनिभर्सिटीमा हुँदा म गोलकिपरको रूपमा फुटबल खेल्थें,' उनी भन्छन्, 'खासमा व्यवसायिक यात्रामा समय बढी दिन थालेपछि फुटबल खेल्नबाट टाढा भएको हुँ।'
अहिले मैदानमा खेल्न नपाए पनि फुटबल हेर्ने रुचि भने उस्तै रहेको उनी बताउँछन्। 'समय मिलेसम्म विश्वकपका खेलहरू हेर्ने गर्छु। यो पटक मेरो समर्थन अर्जेन्टिनालाई नै हो,' उनले भने।
उनका अनुसार अर्जेन्टिनाप्रतिको आकर्षणसँगै लियोनेल मेस्सी उनी सबैभन्दा मन पराउने खेलाडी हुन्। 'मेस्सी मेरो सबैभन्दा मनपर्ने खेलाडी हुन्,' उनले भने, 'उहाँलाई फेरि विश्वकपको ट्रफी उचालेको हेर्ने प्रतीक्षामा छु।'
विश्वकप प्रत्यक्ष रंगशालामा गएर हेर्ने इच्छा हुँदाहुँदै पनि व्यस्त कार्य तालिकाका कारण यसपटक त्यो सम्भव नभएको उनी बताउँछन्। 'प्रत्यक्ष मैदानमा गएर विश्वकप हेर्ने इच्छा त धेरै छ,' उनले भने, 'तर समय अभावका कारण यसपटक जान सकिएन। आशा छ, अर्काे संस्करणमा त्यो अवसर मिल्ने छ।'
आनन्द बगरिया: मेरो टोली पोर्चुगल हो
निम्बस होल्डिङ्सका प्रबन्ध निर्देशक आनन्द बगरिया पनि विद्यार्थी जीवनमा फुटबलका सौखिन थिए। कलेज पढ्दासम्म उनी नियमित रुपमा फुटबल खेल्ने गर्थे। टोलीमा उनी डिफेन्डरको भूमिकामा खेल्थे। 'कलेजमा हुँदा समय मिल्यो कि फुटबल खेलिन्थ्यो,' बगरियाले भने, 'म डिफेन्समा खेल्ने गर्थें।'
व्यवसायमा व्यस्त भएपछि भने खेल्न समय निकाल्न नसकेको उनी बताउँछन्। 'धेरै वर्ष भयो, नियमित रूपमा फुटबल खेलेको छैन,' उनले भने, 'तर विश्वकप भने समय मिलाएर हेर्ने गर्छु।'
विश्व फुटबलमा आफ्नो सबैभन्दा मनपर्ने टोली पोर्चुगल रहेको उनी बताउँछन्। यस संस्करणमा पोर्चुगल बाहिरिए पनि आफ्नो समर्थन भने कहिल्यै नबदलिने उनको भनाइ छ। 'हारे पनि, जिते पनि मेरो टोली पोर्चुगल नै हो,' उनले भने, 'यसपटक टोली बाहिरिएपछि केही दुःख लागेको छ। अब फाइनलमा जसले राम्रो खेल्छ, उसैलाई समर्थन गर्ने छु।' उनका अनुसार खेलको वास्तविक सौन्दर्य भनेको अन्तिम नतिजाभन्दा पनि प्रतिस्पर्धा, संघर्ष र उत्कृष्ट प्रदर्शनमा हुन्छ।
सूर्याशं वैद्यः मेस्सीलाई मैदानबाटै हेर्न अमेरिका पुगेँ
वैद्य अर्गनाइजेसनका निर्देशक तथा वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत सुर्याशं वैद्य आफूलाई लियोनेल मेस्सीको डाइहार्ड फ्यान भन्न रुचाउँछन्। सानैदेखि फुटबल खेल्न मन पराउने उनी सुरुदेखि अर्जेन्टिनाका समर्थक हुन्।
'मलाई सबैभन्दा मन पर्ने खेलाडी मेस्सी हुन्,' निर्देशक वैद्यले भने, 'उनलाई मैदानबाटै नियाल्नका लागि म अमेरिकामा पुगिसकेँ।'
उनका अनुसार विश्वकपलाई टेलिभिजनबाट मात्र होइन, प्रत्यक्ष रंगशालाबाट अनुभव गर्ने अवसर बिल्कुलै फरक हुन्छ। 'यसअघिका विश्वकपहरू पनि म मैदानमै गएर हेरेको छु,' उनले भने, 'यसपटक अमेरिकामा भइरहेको विश्वकप पनि प्रत्यक्ष हेर्न आएको हुँ। यस्तो माहोललाई शब्दमा बयान गर्न गाह्रो हुन्छ।'
नेपालमा रहँदा पनि आफूले विश्वकपका अधिकांश खेल नियमित रूपमा हेर्ने गरेको उनी बताउँछन। 'नेपालमा हुँदा पनि सकेसम्म खेल छुटाउँदिन,' उनले भने, 'फुटबलले दिने रोमाञ्च र ऊर्जा अरू खेलमा कमै पाइन्छ। त्यसैले विश्वकप मेरो लागि चार वर्षको सबैभन्दा ठूलो खेल महोत्सव हो।'
अक्षय गोल्याण: मेरो रोजाइँ इङ्ल्यान्ड
गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण स्कुल जीवनमा फुटबलका सक्रिय खेलाडी थिए। पढाइसँगै खेलकुदमा पनि उत्तिकै रुचि राख्ने उनी अहिले भने व्यवसायिक जिम्मेवारीका कारण मैदानमा उत्रिने अवसर कम हुने बताउँछन्।
'स्कुल लेभलमा हुँदा नियमित फुटबल खेल्थेँ,' अध्यक्ष गोल्याणले भने, 'तर, अहिले व्यवसायिक व्यस्तताले खेल्ने समय निकाल्न निकै गाह्रो हुन्छ।' मैदानमा खेल्न नपाए पनि विश्वकप भने नियमित रूपमा पछ्याइरहेको उनी बताउँछन्।
'अहिले समय मिलेसम्म विश्वकपका खेलहरू हेरिरहेको छु,' उनले भने, 'मेरो सबैभन्दा मनपर्ने टोली इङ्ल्यान्ड हो।' उनका अनुसार विश्वकप एउटा यस्तो प्रतियोगिता हो, जसले विश्वभरका मानिसलाई एउटै भावनामा बाँध्ने क्षमता राख्छ। खेलप्रतिको यही आकर्षणका कारण आफूले व्यस्त कार्यतालिकाबीच पनि विश्वकप हेर्न समय छुट्याउने गरेको उनको भनाइ छ।
खेलभन्दा ठूलो भावना
उद्योगी-व्यवसायीका रोजाइ फरक-फरक छन्। कसैले ब्राजिललाई दशकौँदेखि साथ दिएका छन्, कसैले अर्जेन्टिना, फ्रान्स, पोर्चुगल वा इङ्ल्यान्डलाई। कसैका लागि मेस्सी सबैभन्दा प्रेरणादायी खेलाडी हुन् भने कसैका लागि टोलीको सामूहिक प्रदर्शन नै सबैभन्दा महत्वपूर्ण हो। तर उनीहरू सबैमा एउटा समानता भने स्पष्ट देखिन्छ, फुटबलप्रतिको गहिरो मोह।
व्यवसायमा उनीहरू प्रतिस्पर्धी हुन सक्छन्, कसैले बैंकिङसँग जोडिएका निर्णय लिन्छन्, कसैले उद्योग चलाउँछन्, कसैले होटल, अटोमोबाइल, ऊर्जा वा उपभोक्ता वस्तुको बजार विस्तारमा केन्द्रित छन्। तर, विश्वकप सुरु भएपछि उनीहरू सबै एउटै पहिचानमा देखिन्छन्, फुटबल समर्थकका रूपमा।
दिनभर बोर्डरुममा रणनीति बनाउने यी व्यवसायीहरू रात पर्दा भने टेलिभिजनको अगाडि बसेर आफ्ना मनपर्ने टोलीका लागि उत्तिकै उत्साहित हुन्छन्। कतिपयले त हजारौँ दर्शकसँगै रंगशालामा पुगेर विश्वकपको रोमाञ्च प्रत्यक्ष अनुभव गर्ने अवसर पनि खोजिरहेका छन्। समर्थक टोली बाहिरिएपछि निराशा व्यक्त गर्ने उनीहरू, अर्काे उत्कृष्ट टोलीलाई खुलेर समर्थन गर्न पनि पछि पर्दैनन्।
उनीहरूका अनुभव सुन्दा व्यवसाय र फुटबलबीच एउटा रोचक समानता पनि देखिन्छ। दुवै क्षेत्रमा सफल हुन नेतृत्व, अनुशासन, रणनीति, धैर्यता, टिमवर्क र सही समयमा सही निर्णय आवश्यक पर्छ। त्यसैले विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता उनीहरूका लागि मनोरञ्जन मात्र होइन, नेतृत्व र प्रतिस्पर्धाको एउटा जीवन्त उदाहरण पनि बनेको छ।