काठमाडौं। काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेल यतिबेला चुनावी प्रचारप्रसारको केन्द्र बनेको छ।
ठमेल पर्यटन विकास परिषद्को आसन्न निर्वाचनलाई लक्षित गरी उम्मेदवारले सडकभरि प्रचार सामग्री र ब्यानर राख्दा ठमेलको सौन्दर्य बिग्रिएको छ।
यसअघि सार्वजनिक स्थानमा होर्डिङ बोर्ड, भित्ते लेखन र अव्यवस्थित प्रचार सामग्री हटाउन निकै आक्रामक देखिएको काठमाडौं महानगरपालिका, ठमेलमा देखिएको यो भद्रगोलमा भने मौन देखिएको छ।
ठमेलका मुख्य सडकहरूमा व्यापक रूपमा ब्यानर र चुनावी सामग्री राखिएका छन्। तर, महानगरपालिकाले यसलाई रोक्न वा हटाउन कुनै चासो नदेखाएको भन्दै स्थानीय व्यवसायी तथा घरधनीले असन्तुष्टि व्यक्त गरेका छन्।
पर्यटनको मुख्य हब मानिने ठमेलका सडक र गल्लीमा जथाभावी टाँगिएका ब्यानरले पैदलयात्री र सवारीसाधन र पर्यटकलाई समेत बाधा पुर्याएको छ। ‘महानगरले साना व्यवसायीका बोर्ड हटाउन जुन सक्रियता देखाउँछ, अहिले चुनावी प्रचारका नाममा भएको यो अराजकतामा किन चुप लागेको हो, एक स्थानीय व्यवसायीले प्रश्न गरे।
व्यवसायीका अनुसार निर्वाचनको नाममा सार्वजनिक सम्पत्तिको कुरुप प्रयोग हुनु र पर्यटकीय क्षेत्रको स्वच्छतामा आँच पुग्नु दुःखद पक्ष हो।
उनीहरूले महानगरपालिकाले सबैका लागि समान नियम लागू गर्नुपर्ने र ठमेलको सौन्दर्य कायम राख्न तत्काल कदम चाल्नुपर्ने माग गरेका छन्।