काठमाडौं। कुखुराको दाना उत्पादन गर्ने प्रमुख उद्योगहरूमध्ये एक सिद्धार्थ पेलेट फिडको व्यापार र मुनाफा दुवैमा उल्लेख्य गिरावट आएको छ। नेपाल दाना उद्योग संघका पूर्वअध्यक्ष नारायणहरि खत्रीको यो उद्योगको आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/८२ मा कम्पनीको सञ्चालन आम्दानी करिब १७ प्रतिशतले घटेको हो।
व्यापार संकुचन र बढ्दो सञ्चालन जोखिमका कारण रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले कम्पनीको साख मूल्यांकन (क्रेडिट रेटिङ) मा समेत कटौती गरेको छ। केयर रेटिङ्सका अनुसार कम्पनीले बैंकहरूबाट उपयोग गरिरहेको ८० करोड रुपैयाँ बराबरको अल्पकालीन ऋण सुविधाका लागि दिइएको रेटिङ ‘ए थ्री’ बाट घटाएर ‘ए फोर प्लस’ कायम गरिएको छ। कम्पनीको उधारो पैसा उठ्न समय लाग्ने क्रम बढेको र शंकास्पद ऋणको व्यवस्थापन गर्नुपर्दा नाफा घटेका कारण साखमा असर परेको रेटिङ रिपोर्टमा उल्लेख छ।
सिद्धार्थ पेलेट फिडको विगतका वर्षको व्यापार हेर्दा सन् २०२४ मा ३ अर्ब १९ करोड ८० लाख रुपैयाँको कारोबार गरेको कम्पनीको व्यापार सन् २०२५ मा घटेर २ अर्ब ६५ करोड ९० लाख रुपैयाँमा खुम्चिएको छ। व्यापारको आकार घट्दा सञ्चालन मुनाफा पनि ५.८२ प्रतिशतबाट झरेर ३.८० प्रतिशतमा सीमित भएको छ।
नाफाको हिसाबले हेर्दा कम्पनीलाई ठूलो धक्का लागेको देखिन्छ। सन् २०२४ मा ३.५२ प्रतिशत रहेको खुद नाफा २०२५ मा केवल १.२१ प्रतिशतमा झरेको छ। बजारबाट पैसा उठाउन कठिन भएपछि गरिएको ‘प्रोभिजनिङ’ र सञ्चालन लागतमा भएको वृद्धिका कारण कम्पनीको खुद नाफा प्रभावित भएको हो।
कम्पनीको सबैभन्दा ठूलो चुनौती उधारो असुलीमा देखिएको छ। सन् २०२४ मा उधारो उठ्न औसत ८५ दिन लाग्ने गरेकोमा २०२५ मा यो बढेर १०५ दिन पुगेको छ। यसले गर्दा कम्पनीको सञ्चालन चक्र ५८ दिनबाट बढेर ९४ दिन पुगेको छ। उधारो असुली ढिलो हुँदा कम्पनीले चालुपूँजीका लागि बैंक ऋणमा बढी निर्भर हुनुपर्ने बाध्यता देखिएको छ।
सन् २००९ मा स्थापना भएको यो उद्योगको नेतृत्व नेपालको दाना क्षेत्रका अनुभवी व्यवसायीहरूले गरिरहेका छन्। कम्पनीको सञ्चालक समितिको नेतृत्व अध्यक्ष नारायणहरि खत्रीले गरेका छन्। जो नेपाल दाना उद्योग संघका पूव अध्यक्ष समेत हुन्। सञ्चालक समितिमा इश्वरप्रसाद शर्मा (प्रबन्ध निर्देशक) र रवीन पुरी (फाइनान्स निर्देशक) लगायतका विज्ञहरू रहेका छन्। १५ वर्षभन्दा लामो इतिहास बोकेको यो उद्योगको बजार विशेषगरी काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा केन्द्रित छ। हेटौंडा–८, मकवानपुरमा अवस्थित उद्योगले ‘सिद्धार्थ’ ब्राण्डमा ब्रोइलर र लेयर्सका लागि विभिन्न प्रकारका दाना उत्पादन गर्दै आएको छ।
कम्पनीको व्यापार ९३ प्रतिशतसम्म ब्रोइलर दानामा मात्र केन्द्रित रहेकाले यो क्षेत्रमा आउने उतारचढावले कम्पनीलाई सिधै असर गर्छ। कुखुरापालन क्षेत्रमा देखिने बर्ड फ्लु जस्ता रोगको प्रकोप, कच्चा पदार्थ (मकै, सोयबिन)को मूल्यमा हुने उतारचढाव र डलरको विनिमय दर कम्पनीका लागि मुख्य जोखिम हुन्। कम्पनीले मकै र अन्य पूरक तत्त्वहरू भारत, चीन, सिंगापुर र अमेरिकाबाट आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारको प्रभाव यसमा बढी पर्ने गर्दछ।
यद्यपि, कम्पनीको पूँजी र ऋणको अनुपात ०.६७ गुणा मात्र रहनु र ब्याज तिर्ने क्षमता ३.०१ गुणा रहनु कम्पनीका सबल पक्ष हुन्। आगामी दिनमा कम्पनीले कसरी आफ्नो उधारो असुली प्रक्रियालाई तीव्र बनाउँछ र व्यापारलाई पुरानै लयमा फर्काउँछ भन्ने कुरा नै यसको साख सुधारको मुख्य आधार बन्ने रिपोर्टमा उल्लेख छ।