काठमाडौं। आर्थिक वर्ष २०८२/८३ को बजेट भुक्तानी अन्तिम दिन बिहीबार मध्यराती १२ बजेसम्म सरकारले सवा ३३ अर्ब बढी रकम भुक्तानी दिएको छ। सरकारी भुक्तानीका लागि प्रयोग हुने सूत्र प्रणाली बन्द हुनुअघि असार २५ मा ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयले बताएको हो।
महालेखाका अनुसार चालू बजेट खर्चअन्तर्गत १२ अर्ब ४२ करोड ५ लाख, पुँजीगत खर्चअन्तर्गत १८ अर्ब ३९ करोड ७ लाख र वित्तीय व्यवस्थाअन्तर्गत २ अर्ब ३५ करोड ४२ लाख रुपैयाँ खर्च भएको छ। कानुनअनुसार चालू आर्थिक वर्षका लागि नियमित भुक्तानी निकासा गर्न पाउने अन्तिम दिन ठूलो रकम निकासा भएको हो।
यससँगै चालू आर्थिक वर्षका लागि नियमित भुक्तानी प्रणाली बन्द भएको छ।
सार्वजनिक ऋणको सावाँ भुक्तानी तथा वित्तीय व्यवस्थापनतर्फ बिहीबार दुई अर्ब ३५ करोड रुपैयाँ खर्च भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो। बिहीबारसम्म १५ खर्ब ६५ अर्ब १३ करोड रुपैयाँ खर्च भएको छ, जुन कुल विनियोजनको ७९.६९ प्रतिशत हो।
पुँजीगततर्फ सरकारले चार खर्ब सात अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। बिहीबारसम्म एक खर्ब ८१ अर्ब ५६ करोड रुपैयाँ खर्च भएको छ, अर्थात् ४४.५१ प्रतिशत मात्रै। यसमध्ये बिहीबार एकै दिन १८ अर्ब ३९ करोड रुपैयाँ पुँजीगत खर्चको भुक्तानी भएको हो।
चालू खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरिएकामा १० खर्ब ४२ अर्ब ८४ करोड रुपैयाँ खर्च भएको छ, जुन ८८.३ प्रतिशत हो।