काठमाडौं। नेपालले आफ्नो उच्च भोल्टेज विद्युत प्रसारण सञ्जाललाई क्रमशः विस्तार गर्दै लगेको छ। बढ्दो जलविद्युत उत्पादन र विद्युत खपतसँगै देशभित्र उत्पादित बिजुली एक ठाउँबाट अर्को ठाउँमा सुरक्षित र भरपर्दो ढंगले ओसार्न सक्षम प्रसारण पूर्वाधारको महत्त्व दिनानुदिन बढ्दै गएको छ। नेपाल विद्युत प्राधिकरण (एनइए) अन्तर्गतको विद्युत प्रणालीमा हाल ३३ केभी, ६६ केभी, १३२ केभी र ४०० केभी गरी चार फरक-फरक भोल्टेज क्षमताका प्रसारण लाइनहरू सञ्चालनमा रहेका छन्।
प्राधिकरणले सार्वजनिक गरेको ताजा तथ्यांक अनुसार हालसम्म देशभर ६ हजार ७६० सर्किट किलोमिटर उच्च भोल्टेज प्रसारण लाइन र १४ हजार १२३ मेगावाट क्षमताका सबस्टेसनहरू सञ्चालनमा आइसकेका छन्। यसका साथै थप २ हजार २४ सर्किट किलोमिटर प्रसारण लाइन र ६ हजार ३३८ मेगावाट क्षमताका सबस्टेसन हाल निर्माणाधीन अवस्थामा रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले तयार पारेको विवरणअनुसार आर्थिक वर्ष २०७२/०७३ मा नेपालको कुल प्रसारण लाइन जम्मा २ हजार ९११ सर्किट किमी मात्र थियो। त्यस समयमा ६६ केभी क्षमताको ४९४ सर्किट किमी र १३२ केभी क्षमताको २ हजार ४१७ सर्किट किमी लाइन सञ्चालनमा थियो, जबकि २२० केभी र ४०० केभी क्षमताका लाइनहरू अस्तित्वमा थिएनन्।
आर्थिक वर्ष २०७३/०७४ मा आइपुग्दा कुल लम्बाइ ३ हजार २४३ सर्किट किमी पुग्यो, जुन अघिल्लो वर्षको तुलनामा ३३२ सर्किट किमी अर्थात् ११.४१ प्रतिशतले बढी थियो। यही वर्षदेखि नेपालमा पहिलोपटक २२० केभी (७५ सर्किट किमी) र ४०० केभी (७८ सर्किट किमी) क्षमताका प्रसारण लाइनहरू सञ्चालनमा आएका थिए, जसले देशको प्रसारण प्रणालीलाई थप उच्च क्षमतातर्फ डोऱ्याउने कार्यको सुरुवात भएको संकेत गर्छ।
त्यसपछिका वर्षहरूमा वृद्धिदर भने असमान रहेको देखिन्छ। आर्थिक वर्ष २०७४/०७५ मा जम्मा १४१ सर्किट किमी अर्थात् ४.३५ प्रतिशतको न्यून वृद्धि भएको थियो, जुन विगत एघार वर्षकै सबैभन्दा कम वार्षिक वृद्धिदर हो। तर आर्थिक वर्ष २०७५/०७६ मा आइपुग्दा भने १३२ केभी लाइनमा ठूलो उछाल (२,७१७ बाट ३,१४२.५ सर्किट किमी) आउनुका साथै २२० केभी लाइन पनि ७५ बाट २५५ सर्किट किमीसम्म पुग्यो, जसका कारण कुल वृद्धिदर ६०६ सर्किट किमी अर्थात् १७.९१ प्रतिशत पुगेको थियो। यो विगत एक दशककै सबैभन्दा उच्च वार्षिक वृद्धिदर हो।
आर्थिक वर्ष २०७६/०७७ मा तुलनात्मक रूपमा सुस्त गतिमा २८० सर्किट किमी (७.०२ प्रतिशत) वृद्धि भएको थियो। तर आर्थिक वर्ष २०७७/०७८ मा फेरि उल्लेख्य वृद्धि देखियो, जब १३२ केभी लाइन ३ हजार ५४०.५४ सर्किट किमी र २२० केभी लाइन ७४१.२ सर्किट किमी पुग्यो, जसले कुल ६०५ सर्किट किमी (१४.१७ प्रतिशत) वृद्धि देखियाे।
आर्थिक वर्ष २०७८/०७९ मा २२० केभी लाइनमा भएको ठूलो विस्तार (७४१.२ बाट ८९६.६ सर्किट किमी) र ४०० केभी लाइनमा पहिलोपटक भएको थप (७८ बाट १०२ सर्किट किमी) का कारण ४५५ सर्किट किमी (९.३४ प्रतिशत) वृद्धि भएको थियो। त्यसपछिका दुई आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ मा क्रमशः ४१३ सर्किट किमी (७.७५ प्रतिशत) र ७६६ सर्किट किमी (१३.३४ प्रतिशत) ले वृद्धि भयो। विशेष गरी आर्थिक वर्ष २०८०/०८१ मा ४०० केभी लाइन १४८ बाट ६४४ सर्किट किमीसम्म पुगेको तथ्यांकले यस अवधिमा उच्च क्षमताका ठूला प्रसारण आयोजनाहरू सम्पन्न भएको संकेत गर्छ।
सबैभन्दा पछिल्लो आर्थिक वर्ष २०८१/०८२ मा कुल प्रसारण लाइन ६ हजार ७६० सर्किट किमी पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २५२ सर्किट किमी (३.८७ प्रतिशत) ले बढी हो। यस वर्ष ४०० केभी लाइन ६४४ बाट ७८७ सर्किट किमीसम्म पुगेको छ।
११ वर्षमा दोब्बरभन्दा बढी विस्तार
तथ्यांकले देखाए अनुसार आर्थिक वर्ष २०७२/०७३ देखि २०८१/०८२ सम्मको ११ वर्षको अवधिमा नेपालको कुल प्रसारण लाइन लम्बाइ २ हजार ९११ सर्किट किमीबाट बढेर ६ हजार ७६० सर्किट किमी पुगेको छ, जुन कुल ३ हजार ८५० सर्किट किमीको वृद्धि हो। यसको अर्थ विगत एक दशकभन्दा बढी समयमा नेपालको प्रसारण क्षमता झन्डै दोब्बरभन्दा बढीले विस्तार भएको छ।
भोल्टेज स्तर अनुसार हेर्दा सबैभन्दा उल्लेख्य परिवर्तन भने २२० केभी र ४०० केभी जस्ता उच्च क्षमताका लाइनहरूमा देखिन्छ, जुन एक दशकअघि पूर्ण रूपमा अनुपस्थित थिए। यसले नेपालको विद्युत प्रणाली परम्परागत रूपमा साना क्षमताका लाइनहरूमा निर्भर रहेकोबाट क्रमशः ठूला र उच्च क्षमताका प्रसारण लाइनतर्फ स्तरोन्नति हुँदै गएको स्पष्ट पार्छ। यसो हुनुको एउटा कारण देशभित्र निर्माण सम्पन्न भइरहेका ठूला जलविद्युत आयोजनाहरूबाट उत्पादित बिजुली राष्ट्रिय ग्रिडमा जोड्नुपर्ने आवश्यकता पनि रहेको बुझ्न सकिन्छ।
तथ्यांकले वार्षिक वृद्धिदरमा निरन्तरता नरहेको र केही वर्षमा वृद्धि निकै न्यून (जस्तै २०७४/०७५ मा ४.३५ प्रतिशत र २०८१/०८२ मा ३.८७ प्रतिशत) रहेको देखाउँछ, जसले प्रसारण पूर्वाधार निर्माणमा जग्गा प्राप्ति, वन क्षेत्र, वातावरणीय स्वीकृति र बजेट व्यवस्थापन जस्ता सामान्य चुनौतीहरूको प्रभाव परेको हुन सक्ने आकलन गर्न सकिन्छ। साथै हाल निर्माणाधीन रहेका २ हजार २४ सर्किट किमी लाइन र ६ हजार ३३८ मेगावाट क्षमताका सबस्टेसनहरू तोकिएको समयमा सम्पन्न हुन सके भविष्यमा नेपालको प्रसारण क्षमता थप उल्लेख्य रूपमा विस्तार हुने देखिन्छ।
देशको बढ्दो जलविद्युत उत्पादन क्षमता र विद्युत निर्यातको सम्भावनासँगै दिगो र भरपर्दो प्रसारण पूर्वाधार निर्माण गर्नु नेपालको ऊर्जा क्षेत्रको प्राथमिकतामा रहेको यी तथ्यांकहरूले देखाउँछन्।