काठमाडौं। आगामी दिनमा थकाली समूदायबाहेक अन्य समूदायका व्यवसायीहरूले थकाली भान्साघर सञ्चालन गर्न परेमा अनिवार्य तालिम लिनुपर्ने र थकाली समुदायकै सेफ राख्नुपर्ने भएको छ। थकाली भान्साघर संघ नेपालले सरकारबाट आधिकारिक मान्यता पाएसँगै जथाभावी सञ्चालनमा आइरहेको थकाली भान्साघरलाई नियमन गर्ने गरी केही नियमहरू बनाएको अध्यक्ष विवेक थकालीले जानकारी दिए।
‘खुल्ला अर्थतन्त्र रहेको मुलुकमा थकाली भान्साघर अन्य समुदायलाई सञ्चालन गर्नबाटै रोक लगाउनु त मिल्दैन,’ अध्यक्ष थकालीले भने, ‘कम्तीमा हाम्रो आधिकारिक स्वाद र उपभोक्तालाई थकाली भान्साको नाममा ठगिनबाट रोक्न केही नियमहरू बनाएका हौँ।’ उनले सकभर आफ्नो जातिबाट सुरु भएको भान्साघर अर्थात व्यवसाय अरु जातिले नगरेकै राम्रो भएको बताउँदै व्यवसायबाटै बन्चित गराउनुभन्दा नियम पालना गरेर काम गर्न आग्रह गरे।
संघले अहिले तत्कालका लागि आधिकारिक थकाली भान्साघरका लागि तीन वटा नियम बनाएको छ। जुन थकाली भान्साघरमा थकाली भान्साघर संघ नेपालको आधिकारिक लोगो, थकाली भान्सा एपमा क्यूआर भेरिफिकेशन र संघले दिएको सर्टिफिकेट अनिवार्य राख्नुपर्छ।
‘जुन भान्साघरमा यी तीन विषय हुन्छ, त्यो नै हाम्रो आधिकारिक भान्साघर हो,’ अध्यक्ष थकालीले भने, ‘हाम्रा सदस्य भएको भान्साघरमा बेला बेलामा अनुगमन गरी नियमन गर्छौं, कावारही समेत गराउने छौँ।’
मोनालिसा थकाली नक्सालका सञ्चालक विजयबाबुका अनुसार व्यावसायिक रुपमा थकाली खाना बेचबिखन पोखराबाट सुरु भएको हो।
अन्य जातिले थकाली भान्साघर सञ्चालन गर्नुपरे अनिवार्य रूपमा निश्चित अवधि तालिम लिनुपर्ने र थकाली समुदायकै सेफ हुनुपर्ने जनाएको छ। ‘हामीले संघको विधान बनाएका छौँ, त्यही विधानअनुसार हाम्रा सदस्यहरू चल्नुपर्ने हुन्छ’, अध्यक्ष थकालीले भने, ‘तीन वर्षको अथक प्रयासपछि संस्थाले ट्रेडमार्क प्राप्त गरेको हो। यो उपलब्धिले देशभर रहेका संघमा आबद्ध सदस्य थकाली भान्साघरलाई आधिकारिक पहिचान दिनेछ।’ अहिले काठमाडौंमा संस्थाका ६७ सदस्य छन्। निकट भविष्यमा उपत्यकाबाहिर पनि सदस्यता विस्तार गरिने अध्यक्ष तुलाचनले बताए।
थकाली समुदायको खाना परिकार 'थकाली खाना'
अहिले जताततै फैलिएको छ, थकाली खाना। धेरैको बुझाइ पनि थकाली खाना कुनै परिकार हो भन्ने लाग्न सक्छ। तर, खासमा यो खाना थकाली समुदायले खाने भएर थकाली भएको हो। अर्थात, एउटा जातले खाने खानालाई थकाली खाना भनेर प्रचार गरिएको हो। थकाली समुदायले खाने परिकारलाई अहिले थकाली खानाको उपनाम दिएर बेचिँदै आएको छ।
मोनालिसा थकाली नक्सालका सञ्चालक विजयबाबुका अनुसार व्यावसायिक रुपमा थकाली खाना बेचबिखन पोखराबाट सुरु भएको हो। पोखरामा उनकै आमा उषा शेचरचनले २०२५ मा उषा लज सञ्चालन गरी थकाली खाना परिकार बेच्न थालेकी थिइन्।
हिमाली जिल्ला मुस्ताङमा थाक सात सय क्षेत्र (थाकखोला) थकाली समुदायको बाहुल्य भएको क्षेत्र हो। थकाली परिकार नेपालको परम्परागत परिकारमध्ये सर्वाधिक प्रचलित पनि मानिन्छ। थकाली खानामा सामान्यतया घिउ हालेको मसिनो चामलको भात वा ढिँडो हुन्छ।
त्यस्तै मुस्ताङी कालो दाल, साँधेको गुन्दु्रकको अचार, मिक्स अचार, मौसमी तरकारी, साग, सलाद, मोही, दही तथा कुखुरा वा खसीको मासु समावेश गरिन्छ। फराकिलो थालको बीच भागमा भात र वरिपरि १२ वटा स-साना आइटम राखिने थकाली खाना उत्तिकै रुचिकर लाग्छ।
‘पहिला भात फरर्र पारेर पस्किन्थ्यौँ, अहिले बटुकामा हालेर सेप निकाली सर्भ गर्ने चलन आयो। गुन्द्रुक, पापड, करेला, सलाद थकाली खानामा राखिँदैनथ्यो। अहिले राख्न थालियो,’ विजयबाबुले भने, ‘मौलिक थकाली खानामा मासुको पातलो झोलसँग भात पस्किइन्थ्यो। अहिले मासुको ग्रेभी बनाइन्छ। कन्चम्पा, लेपकु, तुङ, कातुङ, टिमुर, आलुको तरकारी, सुकुटी आलु प्ला, मुस्ताङ आलु, रायो साग ठेट थकाली खाना हुन।’