काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवले नेपालका उत्पादनले अमेरिकी बजारमा पुनः सहुलियतपूर्ण पहुँच पाउनुपर्नेमा जोड दिँदै नेपालमा अमेरिकी लगानी विस्तार गर्न आग्रह गरेकी छन्।
मन्त्रालयमा बिहीबार नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमसँग भएको शिष्टाचार भेटवार्तामा मन्त्री यादवले सन् २०२५ डिसेम्बरमा समाप्त भएको नेपाल ट्रेड प्रिफरेन्स प्रोग्रामलाई निरन्तरता दिन अमेरिकी सरकारको सहयोग आवश्यक रहेको बताइन्। उनले व्यापार तथा लगानी ढाँचा सम्झौता (टिफा) अन्तर्गतको संयन्त्रलाई नियमित संवादमार्फत सक्रिय बनाउँदै द्विपक्षीय व्यापार र लगानी विस्तार गर्नुपर्ने धारणा राखिन्।
भेटमा मन्त्री यादवले सन् १९४७ देखि नेपाल–अमेरिका सम्बन्ध निरन्तर सुदृढ बन्दै आएको उल्लेख गर्दै स्वास्थ्य, शिक्षा र आर्थिक विकासमा अमेरिकाले पुर्याएको योगदानको प्रशंसा गरिन। अमेरिकामा रहेका नेपाली समुदायले दुई देशबीचको जनस्तरको सम्बन्ध अझ मजबुत बनाएको उनको भनाइ थियो।
नेपालले नीतिगत तथा कानुनी सुधारमार्फत लगानीमैत्री वातावरण निर्माण गरिरहेको जानकारी दिँदै मन्त्री यादवले जलविद्युत तथा नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग र डिजिटल अर्थतन्त्रका क्षेत्रमा अमेरिकी लगानी बढाउन आग्रह गरिन्।
हाल अमेरिका नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य रहेको उल्लेख गर्दै उनले ऊनी गलैँचा, तयारी पोशाक र पश्मिना जस्ता नेपाली उत्पादनको बजार विस्तारसँगै प्रविधि हस्तान्तरण र निजी क्षेत्रबीचको साझेदारीमार्फत द्विपक्षीय व्यापार असन्तुलन घटाउन सकिने बताइन्।
मन्त्री यादवले उठाएका व्यापार सहुलियतको निरन्तरता, लगानी प्रवर्द्धन र व्यापारिक संवादलाई थप सक्रिय बनाउने विषयमा अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले सकारात्मक प्रतिक्रिया जनाउँदै नेपालसँगको आर्थिक तथा व्यापारिक सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।