काठमाडौं। विगत पाँच वर्षयता संघीय सरकारको पुँजीगत खर्च कमजोर देखिएको छ। विगतका वर्षभन्दा गत आर्थिक वर्ष २०८२/८३ मा पुँजीगत खर्च निकै कमजोर देखिएको हो।
सरकारको आर्थिक वर्ष २०७८/७९ भन्दा गत आर्थिक वर्षमा पुँजीगत खर्च न्यून भएको महालेखा नियन्त्रक कार्यालयको विवरणमा उल्लेख छ।
सरकारले गत आर्थिक वर्षमा १ खर्ब ९० अर्ब ८४ करोड १४ लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ। यो लक्ष्यको ४६.७९ प्रतिशत मात्र हो। गत आर्थिक वर्षका लागि पुँजीगत खर्च ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको थियो।
आर्थिक वर्ष २०७८/७९ मा ३ खर्ब ६८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ विनियोजन गरेकोमा २ खर्ब १६ अर्ब २१ करोड ३८ लाख रुपैयाँ खर्च भएको छ। यो लक्ष्यको ५७.१८ प्रतिशत मात्र हो।
महालेखाका अनुसार आर्थिक वर्ष २०७९/८० मा २ खर्ब ३३ अर्ब ६९ करोड ५९ लाख रुपैयाँ खर्च गरेको छ। यो लक्ष्यको ६१.४४ प्रतिशत खर्च हो। यस वर्ष ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको थियो।
आर्थिक वर्ष २०८०/८१ मा ३ खर्ब २० अर्ब ७ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेकोमा १ खर्ब ९१ अर्ब ७१ करोड ७८ लाख रुपैयाँ खर्च गरेको छ। यो लक्ष्यको ६३.४७ प्रतिशत हो।
आर्थिक वर्ष २०८१÷८२ मा २ खर्ब २२ अर्ब ६८ करोड २३ लाख रुपैयाँ खर्च गरेको छ। इो लक्ष्यको ६३.२ प्रतिशत हो। यस वर्ष ३ खर्ब ५२ अर्ब ३८ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको थियो।
सरकारले गत आवमा १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याएको थियो। असार मसान्तसम्ममा १५ खर्ब ८२ अर्ब १६ करोड ८२ लाख खर्च भएको महालेखाको तथ्यांकमा छ।
चालू शीर्षकमा गत आव सरकारले ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेकामा त्यसको ८८.४ प्रतिशत खर्च भएको छ। गत आवको कुल चालूगत बजेट खर्च १० खर्ब ४३ अर्ब ९९ करोड ६२ लाख रुपैयाँ छ।