काठमाडौं। नेपालको इनर्जी ड्रिंक बजार अहिले तीव्र प्रतिस्पर्धा मोडमा पुगेको छ। कुनै समय यो बजार लगभग पूर्ण रूपमा अन्तर्राष्ट्रिय ब्राण्डहरूको प्रभावमा थियो। रेडबुल प्रिमियम इनर्जी ड्रिंकको पर्यायजस्तै थियो भने स्टिङ, मोन्स्टर, एम–१५० लगायतका अन्य विदेशी ब्राण्डले पनि बजारमा आफ्नो उपस्थिति बनाएका थिए।

खेलकुद प्रतियोगिता, कन्सर्ट, क्लब, रेष्टुरेन्ट, एयरपोर्ट, सुपरमार्केट र आधुनिक व्यापारिक केन्द्रहरूमा विदेशी ब्राण्डहरूको दृश्यता नै बजारको मानक मानिन्थ्यो। तर पछिल्ला केही वर्षमा एउटा स्वदेशी ब्राण्डले यो स्थापित धारणा परिवर्तन गर्ने प्रयास गरिरहेको छ। त्यो ब्राण्ड हो– एक्सट्रीम इनर्जी ड्रिंक।
नेपालको पेय पदार्थ उद्योगमा प्रतिस्पर्धा अब स्वाद, मूल्य वा वितरण सञ्जालमा मात्र सीमित छैन। अहिले प्रतिस्पर्धाको केन्द्र ब्राण्ड रिकग्निसन, ब्राण्ड रिकल, भावनात्मक सम्बन्ध र लाइफस्टाइल मार्केटिङमा सरेको छ। विश्वका सफल ब्राण्डहरूले दशर्कौदेखि यही रणनीति प्रयोग गर्दै आएका छन्।
कोकाकोलाले पेय पदार्थभन्दा बढी खुसी र उत्सव बेच्छ, नाइकले जुत्ताभन्दा बढी आत्मविश्वास बेच्छ, एप्पलले मोबाइलभन्दा बढी प्रतिष्ठा बेच्छ र रेडबुलले इनर्जी ड्रिंकभन्दा बढी साहस, जोखिम र चुनौतीको जीवनशैली बेच्छ। यही अवधारणालाई नेपाली बजारमा स्थानीय सन्दर्भअनुसार प्रयोग गर्ने प्रयास एक्सट्रीमले गरिरहेको देखिन्छ।
बजारका विज्ञहरूका अनुसार आजको उपभोक्ताले कुनै उत्पादन खरिद गर्नु अघि त्यसको गुणस्तर जति हेर्छ, त्यति नै त्यसको सामाजिक उपस्थितिलाई पनि हेर्न थालेको छ। विशेष गरी १८ देखि ३५ वर्ष उमेर समूहका युवा उपभोक्ताको निर्णयमा विज्ञापन, सामाजिक सञ्जाल, खेलकुद, संगीत, प्रभावशाली व्यक्तिहरू र समुदायसँगको सम्बन्धले ठुलो प्रभाव पार्ने गरेको छ।
यही कारणले विश्वका ठुला कम्पनीहरूले विज्ञापनभन्दा धेरै अनुभव बेच्न थालेका छन् । एक्सट्रीमले पनि आफूलाई एउटा साधारण इनर्जी ड्रिंकको रूपमा नभई युवा पुस्ताको ऊर्जा, खेल, मनोरञ्जन, प्रतिस्पर्धा र उत्साहसँग जोडिएको ब्राण्डका रूपमा स्थापित गर्ने रणनीति अपनाएको देखिन्छ।
आज नेपालका मुख्य राजमार्ग, डिजिटल होर्डिङ बोर्ड, सार्वजनिक बस, किराना पसल, सुपरमार्केट, खेल मैदान, विश्वविद्यालय, कन्सर्ट, मोटरस्पोट्र्स कार्यक्रम, ई–स्पोट्र्स प्रतियोगिता, गाउँ, हिमाली क्षेत्र र सामाजिक सञ्जालमा एक्सट्रीमको एकै पटकको दृश्यता उल्लेखनीय रूपमा बढेको छ।
कुनै ब्राण्ड एउटै समयमा यति धेरै माध्यममा देखिनु संयोग होइन, यो योजनाबद्ध ३६० डिग्री मार्केटिङ रणनीति को परिणाम हो। अन्तर्राष्ट्रिय मार्केटिङ भाषामा यसलाई ओम्निच्यानल ब्रान्ड भिजिबिलिटी पनि भनिन्छ, जसको उद्देश्य उपभोक्ता जहाँ पुग्छ, त्यहाँ ब्राण्ड पनि उपस्थित हुनु हो। यही कारणले उपभोक्ताको अवचेतन मनमा ब्राण्डको नाम बारम्बार दोहोरिन्छ र अन्ततः खरिद निर्णयमा प्रभाव पार्छ।
मार्केटिङ मनोविज्ञानमा एउटा चर्चित सिद्धान्त छ, आउट अफ साइट, आउट अफ माइन्ड अर्थात् बजारमा नदेखिने ब्राण्ड उपभोक्ताको स्मृतिबाट बिस्तारै हराउन थाल्छ। त्यसको विपरीत कुनै ब्राण्ड लगातार देखिइरहेमा मानिसले त्यसलाई ठुलो, सफल र विश्वसनीय कम्पनीका रूपमा बुझ्न थाल्छ।

एक्सट्रीमले यही सिद्धान्तलाई अत्यन्त आक्रामक ढंगले प्रयोग गरेको देखिन्छ। नेपालका धेरै जिल्लामा पुग्दा साना किराना पसलको बोर्डदेखि राष्ट्रिय राजमार्गका होर्डिङसम्म एउटै ब्राण्डको दृश्यता हुनु नेपाली बजारका लागि नयाँ अनुभव हो।
विशेष गरी खेलकुद क्षेत्रमा कम्पनीले गरेको लगानी अहिले उसको सबैभन्दा ठुलो ब्राण्ड सम्पत्ति बन्न थालेको छ। विश्वका सफल इनर्जी ड्रिंक ब्राण्डहरू खेलकुदसँग जोडिनुको कारण पनि यही हो। रेडबुलले फर्मुला–वान, एयर रेस, क्लिफ डाइभिङ, स्काइडाइभिङ, माउन्टेन बाइकिङ, फुटबल क्लबदेखि आफ्नै मिडिया कम्पनीसम्म सञ्चालन गरेर आफूलाई खेलकुदकै पर्याय बनाएको छ।
रेडबुलको वार्षिक मार्केटिङ बजेट विश्वका धेरै उपभोक्ता वस्तु कम्पनीभन्दा ठुलो मानिन्छ। त्यसले विज्ञापनभन्दा बढी कन्टेन्ट मार्केटिङ, स्पोट्र्स ओनरसिप र लाइफस्टाइल ब्रान्डिङ मा लगानी गर्छ। नेपालमा एक्सट्रीमले पनि ठ्याक्कै त्यही मोडललाई स्थानीय रूपमा रूपान्तरण गरेको देखिन्छ। फरक यति मात्र हो, उसले नेपाली क्रिकेट, विश्वविद्यालय, ई–स्पोट्र्स, मोटरस्पोट्र्स, संगीत महोत्सव र युवालाई केन्द्रमा राखेको छ।

नेपाल प्रिमियर लिग (एनपीएल)मा कम्पनीले एकैपटक आठमध्ये छ फ्रेन्चाइज टोलीसँग टाइटल स्पोन्सरसिप गर्नु सामान्य व्यावसायिक निर्णय थिएन। यो एउटा रणनीतिक सन्देश थियो कि कम्पनीले क्रिकेटलाई आफ्नो दीर्घकालीन ब्राण्ड प्लेटफर्म बनाउन चाहन्छ। खेलकुद विज्ञहरूका अनुसार कुनै टोलीको जर्सीको अगाडिको भागमा ब्राण्ड देखिनु भनेको टेलिभिजन प्रसारण, समाचार, फोटो, भिडियो, सामाजिक सञ्जाल र दर्शकको मोबाइलसम्म हजारौँ पटक निःशुल्क दोहोरिनु हो।
यही कारणले विश्वका धेरै कम्पनीहरू परम्परागत विज्ञापनभन्दा खेलकुद प्रायोजनमा बढी लगानी गर्न थालेका छन् । एक्सट्रीमले एउटै टोलीलाई २ करोड बढी प्रायोजन गरेको छ ।

६ टोलीलाई १२ करोड बढी प्रायोजन एक्सट्रीमले गरेर आफ्नो आक्रमक विज्ञापन शैलीलाई निरन्तरता दिएको छ । एक्सट्रीमले आफ्नो ३६० डिग्री मार्केटिङमा वार्षिक १ अर्ब बढी खर्च गर्ने योजनाअनुसार अगाडी बढेको देखिन्छ ।
एक्सट्रीमले पुरुष क्रिकेटमा मात्र होइन, महिला राष्ट्रिय क्रिकेट टोलीसँग दुई वर्षे मुख्य प्रायोजन सम्झौता गरेर अर्को महत्त्वपूर्ण संकेत दिएको छ। महिला खेलकुदमा निजी क्षेत्रको लगानी सीमित रहेको अवस्थामा यस्तो निर्णयले कम्पनीलाई सामाजिक उत्तरदायित्वसँग पनि जोडेको छ। प्रधानमन्त्री कप, जय ट्रफी, फुटबल, भलिबल, म्याराथन र अन्य राष्ट्रिय प्रतियोगितामा देखिएको निरन्तर उपस्थितिले कम्पनीले एउटा खेल होइन, सम्पूर्ण खेलकुद इकोसिस्टमलाई ब्राण्ड प्लेटफर्म बनाउने रणनीति अपनाएको देखिन्छ।
दरबारमार्ग फेस्टिबल होस् या मिस नेपाल प्रतियोगिता एक्सट्रीमको लोगो नदेखिने इभेन्ट कमै हुन थालेको छ । भक्तपुरको जात्रा होस् या ग्रामीण मेला एक्सट्रीमको ब्यानर छुटेको छैन। यतिमै सीमित नभई कम्पनीले ई–स्पोट्र्समा गरेको लगानी पनि उल्लेखनीय छ। नेपालमा गेमिङ समुदाय तीव्र गतिमा विस्तार भइरहेको छ।

मोबाइल गेम, पीसी गेमिङ र स्ट्रिमिङ संस्कृति बढेसँगै यो बजार विज्ञापनदाताका लागि नयाँ अवसर बनेको छ। अन्तर्राष्ट्रिय रूपमा रेडबुल, मोन्स्टर र जी–फ्युजजस्ता ब्राण्डहरू ई–स्पोट्र्समा सक्रिय छन् । नेपालमा एक्सट्रीमले यही प्रवृत्तिलाई चाँडै पहिचान गरेको देखिन्छ।
बजारमा कम्पनीको विज्ञापनको परिमाण हेर्दा धेरै विज्ञापन व्यवसायीहरू वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी खर्च हुन सक्ने अनुमान गर्छन्, यद्यपि कम्पनीले आधिकारिक रूपमा यस्तो तथ्यांक सार्वजनिक गरेको छैन। यदि यस्तो स्तरको लगानी भइरहेको हो भने नेपाली उपभोक्ता वस्तु उद्योगमा यो अत्यन्त ठुलो विज्ञापन अभियानमध्ये एक मानिनेछ। यसको प्रभाव केवल बिक्रीमा मात्र होइन, वितरण सञ्जाल, खुद्रा पसलसँगको सम्बन्ध, उपभोक्ताको विश्वास र प्रतिस्पर्धी कम्पनीहरूको रणनीतिमा पनि देखिन थालेको छ।

विश्वकप फुटबल चलिरहेका बेला नेपाली सञ्चारमाध्यम, डिजिटल प्लेटफर्म र खेलकुद सामग्रीमा एक्सट्रीमको उल्लेखनीय उपस्थिति देखिनु पनि संयोग होइन। विश्वकप आधिकारिक प्रायोजक नभए पनि विश्वकपको लोकप्रियतालाई आफ्नो ब्राण्ड दृश्यतासँग जोड्ने रणनीतिलाई अन्तर्राष्ट्रिय मार्केटिङमा मोमेन्ट मार्केटिङ वा कन्टेक्स्चुअल मार्केटिङ भनिन्छ। जब उपभोक्ताको ध्यान कुनै ठुलो घटनामा केन्द्रित हुन्छ, त्यही समयमा आफ्नो ब्राण्डलाई पनि त्यही सन्दर्भसँग जोड्नु अत्यन्त प्रभावकारी मानिन्छ।
तर यति ठुलो ब्राण्डिङ अभियानको अर्को पक्ष पनि छ। विज्ञापनले उपभोक्तालाई पसलसम्म त ल्याउन सक्छ, तर पुनः खरिद गराउने काम उत्पादनको गुणस्तर, स्वाद, मूल्य, उपलब्धता र उपभोक्ताको अनुभवले मात्र गर्छ। इतिहास हेर्दा विश्वभर धेरै ब्राण्डहरूले आक्रामक विज्ञापन गरे पनि उत्पादनले अपेक्षा पूरा गर्न नसक्दा बजारबाट हराएका उदाहरण प्रशस्तै छन्। त्यसैले एक्सट्रीमको दीर्घकालीन सफलता उसको विज्ञापन बजेटभन्दा बढी उत्पादनको गुणस्तर, वितरण सञ्जाल, नवप्रवर्तन र उपभोक्तासँगको विश्वासमा निर्भर रहनेछ।

नेपाली इनर्जी ड्रिंक बजारमा अहिले सबैभन्दा ठुलो प्रतिस्पर्धा मूल्यको होइन, ब्राण्डको दिमागमा बस्ने क्षमताको हो। एक्सट्रीमले स्वदेशी कम्पनी पनि अन्तर्राष्ट्रिय ब्राण्डसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्न सक्छ भन्ने सन्देश बजारलाई दिएको छ।
अर्को चरणमा रेडबुलजस्ता स्थापित विश्वव्यापी ब्राण्डहरूले नेपाली बजारमा आफ्नो उपस्थितिलाई कसरी पुनः मजबुत बनाउँछन् र एक्सट्रीमले अहिलेको गति कति समयसम्म कायम राख्न सक्छ भन्ने कुरा नै यो ब्राण्ड युद्धको निर्णायक विषय बन्नेछ।
नेपालको उपभोक्ता बजारका लागि यो प्रतिस्पर्धा केवल एउटा इनर्जी ड्रिंकको कथा होइन, स्थानीय र विश्वव्यापी ब्राण्डबीच भइरहेको आधुनिक मार्केटिङ युद्धको उदाहरण पनि हो ।