गण्डकी। तीज पर्व अझै करिब दुई महिना पर छ। युट्युबमा गुञ्जिन थालेका तीज गीतले भने पर्व नजिकिएको छनक दिएका छन्। साउन नलाग्दैदेखि युट्युबमा तीज गीत छाउन सुरु गरेका हुन्।
अनेक विषय, भाव र बान्कीका तीज गीत सार्वजनिक भइरहेका छन्। गायिका एलिना चौहानको युट्युब च्यानलबाट गत शनिबार सार्वजनिक तीज गीत ‘नौरती फुली’ले दुई दिनमै झन्डै साढे चार लाख ‘भ्युज’ बटुलेको छ।
दीपक शर्माको शब्द र संगीत रहेको उक्त गीतमा गायिका चौहानसँगै रचना रिमाल, मेलिना मैनाली र दीपिका बयम्बूको स्वर छ। गीतको श्रव्यदृश्यमा कलाकार स्मारिका ढकाल, जुना सुन्दासलगायतको नृत्य र अभिनय छ। सार्वजनिक भएको छोटो अवधिमै उक्त गीतलाई दर्शक÷स्रोताले रुचाएका हुन्। चल्तीका गायिकाको मधुर गायकीले गीतलाई श्रुतिमय बनाएको छ।
तीन दिनअघि युट्यबमा सार्वजनिक भएको गायिका देवी घर्तीमगर र सुनिता बुढामगरको तीज गीत ‘तीज आयो बरिलै’लाई अहिलेसम्म झन्डै ५० हजारपटक हेरिएको÷सुनिएको छ।
गायिका समीक्षा अधिकारी र प्रकाश पराजुलीको स्वर रहेको तीज गीत ‘लाहुरेनी’ आइतबार युट्युबमा सार्वजनिक भएको छ। विमल अधिकारीको शब्द र संगीत रहेको उक्त गीतमा कलाकार विमल अधिकारी, सलिना खत्रीलगायत कलाकारको अभिनय देख्न सकिन्छ। यी केही प्रतिनिधि तीज गीत हुन्। जसमा कहीँ प्रेम र सौन्दर्यको चर्चा छ त कतै श्रीमान्–श्रीमतीबीचको मायावी संवाद।
तीज पर्व नजिकिँदै जाँदा दैनिकजसो युट्युबाट तीज गीत सार्वजनिक हुने गरेका छन्। तीजको याम सुरु भएपछि कलाकारले अरु विधाका गीतलाई थाँती राख्छन्। तीज गीतले सधैं चलिरहने लोकदोहोरीलाई पनि ओझेल पारिदिन्छ। बर्सेनि तीज आउँदा यस्ता गीत निकाल्ने लहरै चल्छ।
पर्व गीतको उपमा पाएको तीज गीतलाई कलाकारले त्यसको मूल प्रवृत्तिबाट विमुख पारेको भन्दै चिन्ता पनि व्यक्त हुँदै आएको छ। पहिलेका तीज गीत घटनाप्रद, युग सुहाउँदो, चेतना जागृत गर्ने र समसामयिक विषयवस्तुमा केन्द्रित हुन्थे। खासगरी महिलाले तीज गीतलाई वर्षभरिका दुःख, पीरवेदना र चोट सार्वजनिक गर्ने माध्यम बनाउँथे। महिला मुक्तिको आवाज पनि तीज गीतमा उठ्थ्यो।
अहिलेका तीज गीतमा भने मायाप्रेमका विषय बढी मुखरित भएको पाइन्छ। विपरीत लिंगीबीचको संवेदना, प्रेम र रोमान्सलाई तीज गीतमा उठान गरिएको पाइन्छ। कलाकार भने आधुनिक समाज विकाससँगै मानवीय अभिरुचि र प्रविधिमा आएको फड्कोलाई स्वीकारेर अगाडि बढ्नुको विकल्प नभएको टिप्पणी गर्छन्।