काठमाडौं। साउनको पहिलो सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। साउनको प्रत्येक सोमबार भगवान् शिवको व्रत, पूजा–आराधना, जप, तप, अभिषेक तथा दानपुण्य गरिने हुँदा भक्तजनको भीड लाग्ने गरेको हो।
भगवान् शिवको अत्यन्त प्रिय मानिने साउन महिनाको पहिलो सोमबार विशेष श्रद्धा र भक्तिपूर्वक मनाइन्छ।
साउनको सोमबार श्रद्धापूर्वक व्रत बसेर शिवको आराधना गर्दा मनोकामना पूरा हुने, पाप नाश हुने, मानसिक शान्ति मिल्ने तथा परिवारमा सुख, शान्ति र समृद्धि छाउने शास्त्रीय विश्वास छ। धर्मशास्त्रमा यो महिनालाई तप, जप, व्रत, दान र शिवभक्तिका लागि अत्यन्त शुभ समय मानिएको छ।
पुराणअनुसार देवता र दानवले अमृत प्राप्तिका लागि समुद्रमन्थन गर्दा सबैभन्दा पहिले कालकूट (हालाहल) विष निस्किएको थियो। त्यस विषको प्रभावले सम्पूर्ण सृष्टि संकटमा परेपछि भगवान् शिवले लोक कल्याणका लागि उक्त विष ग्रहण गरेका थिए, जुन समय साउन महिना थियो। विषको ताप कम गर्न देवताले शिवलाई निरन्तर जल अर्पण गरेका थिए र यही घटनाको स्मरणमा साउनभर शिवलिंगमा जलाभिषेक गर्ने परम्परा सुरु भएको हो।
सोमबारलाई भगवान् शिवको दिन मानिन्छ। संस्कृतमा ‘सोम’ शब्दको अर्थ चन्द्रमा हुन्छ। भगवान् शिवले चन्द्रमालाई आफ्नो जटामा धारण गरेका हुनाले उनलाई ‘चन्द्रशेखर’ पनि भनिन्छ।
चन्द्रमा शीतलता, मन र शान्तिको प्रतीक मानिने भएकाले सोमबार शिवको पूजा गर्दा मन शान्त हुने, मानसिक तनाव कम हुने तथा सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास छ।