काठमाडौं। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहीन भएको कञ्चनपुर प्रहरीलाई उद्धृत गर्दै नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
भीमदत्त नगरपालिका–१९, बागफाँटाका महिला आइतबार बिहान ११ बजे निकुञ्ज प्रवेश गरे पनि हालसम्म सम्पर्कमा नआएका हुन्।
अनुमतिबिना निकुञ्ज प्रवेश गरेर सम्पर्कविहीन बागफाँटाका महिलाका परिवारले प्रहरीलाई खबर गरेपछि खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बताए।
सम्पर्कविहीन हुनेमा बागफाँटाका कनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनीषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार र सिवानी सुनार रहेका छन्।
असार १५ देखि प्रतिकूल मौसमका कारण निकुञ्ज प्रवेशमा रोक लगाइएको थियो।