काठमाडौं। सीजी फुड्स इन्टरप्राइज बर्दियाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरमा त्रुटि औंल्याइदिएका निश्चित ब्याच नम्बरका उत्पादन बजारबाट फिर्ता लिएको छ।
चाउचाउ उत्पादन क्रममा सीमित ब्याचमा सामान्य त्रुटि भएको विभागले औंल्याएपछि सीजी फुड्सले यस्ता उत्पादन बजारबाट तत्कालै फिर्ता लिई उपभोक्ताका लागि बजारमा गुणस्तीय उत्पादन रहेको सुनिश्चित गरेको हो।
विभागले गोलमोल इन्स्ट्यान्ट नुडल्स (२५ ग्राम)को ब्याच नम्बर बी÷बीएमटूडी, २०८३.०१.११, वाइवाइ फुल मिल इन्स्ट्यान्ट नुडल्स (६० ग्राम) को ब्याच नम्बर बी÷बीएमआई–एक्स–२०२६–०५–१४, प्रिमियम पिरो इन्स्ट्यान्ट नुडल्स (२५ ग्राम) को ब्याच नम्बर बीबीएम१आईसी, २०८३.०१.२८ र मामा इन्स्ट्यान्ट नुडल्स (६० ग्राम) को ब्याच नम्बर बीबीएमआई–एक्स २०२६–०५–१३ मा त्रुटि औंल्याएको थियो।
विभागले त्रुटि औंल्याउनासाथ सीजी फुड्सले यी ब्याचका उत्पादन बजारबाट फिर्ता लिएको हो। ‘हामीले गुण नियन्त्रण विभागद्वारा गुणस्तरमा सामान्य त्रुटि औंल्याइएका ब्याच बजारबाट तत्कालै फिर्ता लिने निर्णय गरिसकेका छौँ। बजारमा रहेका हाम्रा उत्पादन गुणस्तर सुनिश्चित गरिएका छन्’, सीजी फुड्सले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘साढे चार दशकदेखि सीजी फ्ड्सका उत्पादन उच्च गुणस्तरका कारण उपभोक्ताका सर्वप्रिय ब्रान्ड बनेका हुन् । हामी उपभोक्ताप्रति अत्यन्तै जिम्मेवार छौँ र साना तिना त्रुटीहरुमा पनि बिल्कुलै सम्झौता गर्दैनौँ।’
सीजी फुड्सले यो त्रुटि बर्दियास्थित प्लान्टबाट उत्पादित एवं सोही सीमित एरियामा वितरित वस्तुमा मात्रै रहेको र यसलाई तत्कालै निराकरण गरिएको पनि स्पष्ट पारेको छ। यसबाहेक नेपालका अन्य कुनै पनि क्षेत्रका बजारमा समस्या नरहेको र नियोजित रुपमा फैलाउन सकिने भ्रममा बिल्कुलै नपर्न पनि सीजी फुड्सले उपभोक्तासमक्ष अपिल गरेको छ।