काठमाडौं । राष्ट्रिय सभाकी सांसद सरिता प्रसाईले समितिको प्रभावकारी बढ्दै गएको बताएकी छन् । दिगो विकास तथा सुशासन समितिले ८ महिनामा गरेका कामको समीक्षासहितको पत्रकार सम्मेलनमा सांसद प्रसाईले समितिले दिएका निर्देशन पालना तथा कार्यान्वयन बढ्न थालेको बताइन् ।
समितिले दिएका निर्देशनालय कति पालना भए भन्ने पत्रकारको जिज्ञासामा बोल्दै उनले निर्देशन धेरै दिइए पनि पालना र प्रभावकारीता भने कम भएको बताइन् । ‘समितिले धेरै निर्देशन दियो । तर, केही पालना भए केही भएनन्,’ उनले भनिन्, ‘तुलनात्मकरुपमा कम भए पनि प्रभावकारीता बढ्दै गएको छ ।’
उनले सुशासन र दिगो विकास निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताइन् । त्यस्तै, अर्का सांसद कालीबहादुर मल्लले समितिले दिगो विकास र सुशासन निर्माण सबै पक्षलाई दबाबपूर्ण निर्देशन दिनुपर्नेमा जोड दिए ।
पछिल्लो ८ महिनामा समितिले विभिन्न महत्त्वपूर्ण कार्यसम्पादन गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गोरखा सुलिकोट वारपाकको स्थलगत अवलोकनका आधारमा समितिको निर्णय कार्यान्वयनका लागि पत्राचार गरेको जनाएको छ ।
त्यस्तै, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भेरी बबई डाइभर्सन, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको स्टोर र चमेनागृह, रानीपोखरी, धरहरा लगायतका सम्पदाको स्थलगत अवलोकन गरिएको समितिकी सभापति तारादेवी भट्टले बताइन् ।
उनले स्थलगत अवलोकनसहित सातै प्रदेशका राजधानीमा दिगो विकास लक्ष्य कार्यान्वयनमा जनप्रतिनिधिको भूमिका विषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेको बताइन् ।
समितिले प्रत्येक हप्ता समिति बैठक सञ्चालन गर्नेगरी छलफलको एजेन्डा अघि बढाउने छ । त्यस्तै, एसडीजी च्याम्पियनका लागि प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाउने समितिका सचिव निर्मलादेवी लामिछानेले बताइन् ।