काठमाडौं । सरकारले आत्मनिर्भर भएका सम्भावित वस्तुको सूची तयार गरेको छ । सरोकारवालासँगको छलफलमा ३० ओटा वस्तुको पहिचान गरेको छ । उद्योग मन्त्रालयले कुन वस्तमा नेपाल आत्मनिर्भर भएको र कुन वस्तुमा कति प्रतिशत आत्मनिर्भर हुन बाँकी छौ भन्ने विषयमा सम्पूर्ण सरोकारवालासँग बसेर सूची तयार गरेको छ ।
मन्त्रालयले सिमेन्ट, टीएमटी रड, चिनी, जुक्ता, चिया, कफी, अदुवा, पश्मिना, गलैचा, औषधि, पिउने पानी, क्रसर, धागो, जुट, रेशम, उन, कपास, स्टिल, पेपर, प्लास्टिकका वस्तु, फर्निचर, बेसार, चाउचाउ, अण्डा, कुखुराको मासु, साबुन तथा सर्फ, आँटा, सूची, रङ, हर्बल प्रडक्टको सूची बनाएर छलफल गरिरहेको स्रोतले जानकारी दिएको छ ।
सरकारले जति सूची बनाएको छ, ती सबै आत्मनिर्भर भइसकेका होइनन्, छलफलका लागि सूची बनाइएको हो । सूचीमा कतिपय वस्तु छुटेका पनि हुन सक्छन्, त्यसलाई पनि समावेश गरिने मन्त्रालयले बताएको छ ।
‘३० ओटा वस्तुमाथि अहिले सम्बद्ध सरोकारवालाई बोलाउँदै छलफल गराइरहका छौं,’ मन्त्रालयका एक अधिकारीले भने, ‘हामीले एउटा फर्म्याट बनाएर पठाएका छौं । त्यसका आधारमा पनि सूचीमा नामहरु थपिन्छन् ।’
उद्योग मन्त्रालयले आत्मनिर्भर हुनसक्न वस्तुको नाम, नेपालमा उपभोगको अवस्था, नेपालमा मागको अवस्था, कच्चा पदार्थको उपलब्धताको अवस्था, कच्चा पदार्थको आयातको अवस्था र विगत ५ वर्षको भन्सार दर, तयारी वस्तुको आयातको अवस्था र विगत ५ वर्षको भन्सार दर, नेपालमा उत्पादन गर्ने उद्योगको क्षमता र अवस्था, उक्त वस्तु प्रशोधन गर्ने टेक्नोलोजीको सम्भावना, उक्त वस्तुमा माग र उत्पादनबीच खाडल पूरा गर्ने तरिका, सरकारले उक्त वस्तुमा आत्मनिर्भर बनाउन गर्नुपर्ने÷चाल्नुपर्ने कदमहरुको बारेमा उद्योगीले फारम भनेर पठाउनुपर्ने छ ।
उद्योग मन्त्रालयका अनुसार सरकारले तयार गरेका ३० ओटा वस्तुको सूची अन्तिम होइन् । यसमा धेरै थपघट हुन सक्नेछन् । तर, अहिले छलफलका लागि ३० ओटा वस्तुको पहिचान गरिएको हो । उद्योगी÷व्यवसायी तथा सरकारले धेरै उत्पादनमा देश आत्मनिर्भर भएको भनिरहेको अवस्था छ । तर, अहिलेसम्म तथ्यांक । त्यही भएर आत्मनिर्भर भएका वस्तुको पहिचान गर्न मन्त्रालयले आवश्यक तयारी थालेको हो ।
मन्त्रालयले सतप्रतिशत आत्मनिर्भर र ५० प्रतिशत आत्मनिर्भर भएका वस्तुको सूची बनाउन लागेको छ । कुन वस्तुमा देश पूर्ण रुपमा आत्मनिर्भर छ, कुन वस्तुमा ५० प्रतिशत भन्दा बढी आत्मनिर्भर छ भन्ने कुराको ययार्थ जानकारी लिन खोलिएको हो ।
सरकारले छानेका वस्तुमध्ये कुन कुनमा पूर्ण रुपमा आत्मनिर्भर हुन सकिन्छ, कति वस्तुमा आत्मनिर्भर भइसक्यौं, कुन कुन वस्तुमा के के गर्यो भने आत्मनिर्भर हुन सकिन्छ र आत्मनिर्भर हुन के गर्नुपर्छ भन्ने विषयमा सरोकारवालासँग छलफल भइरहेको छ ।
याे पनि पढ्नुस : आत्मनिर्भर भएका उत्पादनको पहिचानमा जुट्यो उद्योग मन्त्रालय, सरोकारवालासँग छलफल तीब्र