काठमाडौं । अविरल बर्षाका कारण देशभर रहेको राष्ट्रिय राजमार्ग तथा सडक र पुल बाढी र पहिरोका भत्किएका छन् । सोमबार मात्रै ठूला चारओटा राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन् । सडक विभागका अनुसार, सिद्धिचरण राजमार्गअन्र्तत सिस्नेरी भिरमा पहिरो जाँदा आवतजावत बन्द भएको छ । सोमबार बिहान ७ बजेदेखि सो सडक बन्द भएको छ ।
त्यस्तै, बाँके धन्सार सडकखण्डमा पनि पहिरोका कारण अवरुद्ध भएको छ । त्यस्तै, नारायण मुग्लिन सडकखण्ड अन्र्तगत चारकिलो डाँडामा पहिरो जाँदा आवतजावत बन्द भएको छ ।
मलेखु मुग्लिन सडकखण्ड अन्र्तगत जोगिमारामा पनि पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । त्यस्तै, मलेखु धादिङबेशी सडकखण्ड अन्र्तगत परेवाटारमा पनि पहिरो जाँदा आवतजावत विच्छेद भएको छ ।
त्यस्तै, पृथ्वी राजमार्ग अन्र्तगत चितवनबाट धादिङ प्रवेश गर्ने विन्द्यु मोवाखोलाको पुल बाढी र पहिरोले क्षति पुर्याएको छ । पुल भत्किएपछि आवतजावत रोकिएको छ ।
यता, पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा पनि सडक भाँसिएको जानकारी प्राप्त भएको छ । त्यो बाहेक देशका विभिन्न ठाउँमा सडकमार्ग र पुल संरचना बाढीले भत्क्याएको छ । केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ ।
तराई क्षेत्रमा डुबानको जोखिम उच्च छ । खोला तथा नदीमा बहाव बढेपछि त्यस क्षेत्रमा रहेको सडक आयोजना र पुलमा समेत क्षति हुन सक्ने अवस्था रहेको सडक विभागले जनाएको छ । क्षतिको बाँकी विवरण विभागले संकलन गर्दैछ ।