काठमाडौं । सरकारले जुत्ता/चप्पलको सोल (तलुवा) र त्यसको कच्चा पदार्थमा समान भन्सार बनाउँदा स्वदेशी उद्योग संकटमा परेका छन् । सरकारले तयारी वस्तु र कच्चा पदार्थको भन्सार एक तह फरक गर्ने बताए पनि विदेशबाट सोल तथा त्यसको कच्चा पदार्थ ल्याउँदा समान भन्सार लगाएको छ ।
नेपालमै सोल बनाउने उद्योग लागेको २ वर्ष बित्तिसक्यो । स्वदेशी उद्योगीले बर्षको लाखौ जोर सोल बनाएर विदेश निर्यात गरेर विदेशी मुद्रा समेत आर्जन गरिरहँदा पनि सरकारले सोललाई तयारी वस्तुको सूचीमा नराख्दा स्वदेशी उद्योग धरासायी बन्ने अवस्था आएको फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालले बताएको छ ।

संघका अनुसार सरकारले सोल बनाउने चाहिने कच्चा पदार्थलाई मात्रै १० प्रतिशत भन्सारमा छुटाउन दिनुपर्छ । सोललाई जुत्ता/चप्पल सरह ३० प्रतिशत भन्सार लगाउन संघले सरकारसँग माग गरेको छ । अहिले सोल बनाउन चाहिले कच्चा पदार्थको भन्सार दर १०/१० प्रतिशत रहेको छ ।
यसमाथि कच्चा मालको मोल भन्दा कममा तयारी माल आइरहेको छ । भन्सार विभागको तथ्यांक अनुसार आयात गर्दा सोलको मूल्याङ्कन प्रतिकिलो १५० देखि १८० रुपैयाँ केजी भइरहेको छ । जबकि, नेपाली उद्योगले ३५० रुपैयाँ प्रतिकेजीमा निर्यात भइरहेको छ ।
जुन बेलासम्म स्वदेशमा सोल उत्पादन हुँदैन्थ्यो, त्यो बेलासम्म मात्रै सोल कच्चा पदार्थ हो । तर, देशभित्रै ठूलो परिमाणमा सोल उत्पादन हुँदासम्म पनि सरकारले त्यसलाई तयारी वस्तुको सूचीमा नराखेकाले स्वेदशमा भएका सोल उद्योग संकटमा पर्न थालेका हुन् ।

‘सोल आयात गरे पनि तथा त्यसको कच्चा पदार्थ ल्याएर स्वदेशमै सोल बनाए पनि भन्सार दर भएपछि कसरी विदेशबाट आयात भएको सोलसँग प्रतिस्पर्धा गरेर स्वदेशी उद्योगलाई बचाउन सकिन्छ,’ संघका एक सदस्यले भने, ‘स्वदेशी उद्योगलाई संरक्षण गर्न थप उद्योग लगाउने वातावरण बनाउन सरकारले सोलको हालको भन्सार दरलाई बढाएर १० बाट ३० प्रतिशत कायम गर्नुपर्छ । त्यसपछि देशभित्र थप सोल बनाउने उद्योग पनि लाग्छन् र नेपालबाट सोल बनेर विदेशी बजारमा समेत पुग्छन् ।

भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा ७ लाख ५९ हजार ७९९ केजी सोल १० प्रतिशत भन्सारमा नेपाल भित्रिएका छन् । त्यो भनेको १३ करोड ७५ लाख ८६ हजार ८३० रुपैयाँबराबरको हो ।
त्यसैगरी, पीयू सिष्टम, पिभिसी कम्पाउन्ड र इभा पनि १० प्रतिशत भन्सारमै नेपाल भित्रिरहेका छन् । पीयू, पिभिसी र इभा सोल बनाउन चाहिने कच्चा पदार्थ हो ।

जवकि, छिमेकी मुलुक भारत तथा बंगलादेश अर्ध प्रशोधित उत्पादन ल्याउँदा बढी भन्सार लगाएर स्वदेशमै उद्योग खोल्ने वातावरण बनाएका छन् । भारतले अर्ध प्रशोधित वस्तुमा २० प्रतिशत र बंगलादेशले २५ देखि ४५ प्रतिशतसम्म भन्सार लगाएको छ । स्वदेशी जुत्ता उद्योगीले पनि सोलको आयात ३० प्रतिशत भन्सार लगाउन माग गरेका छन् ।
सोलको उत्पादन तथा बजारीकरण
छाला, तथा जुत्ता उत्पादक संघका अनुसार पीयू, पिभिसी र रबर सोलमा देश आत्मनिर्भर उन्मुख छ । नेपालमा बार्षिक रुपमा पीयू सोलको उत्पादन २४ लाख जोर रहेको छ । मासिक रुपमा ३० हजार जोर आन्तरिक खपत भइरहेको छ भने मासिक ६० हजार जोर विदेश निकासी भइरहेको छ । त्यसैले यसलाई निर्यातमुलक उद्योग रुपमा पनि विकास गर्नुपर्ने संघले सरकारसँग माग गरेको छ ।

त्यसैगरी, पिभिसी र रबर सोल पनि देशभित्र प्रसस्तै उत्पादन हुन थालेको छ । यी उद्योगको दीगोपनका लागि सरकारले सोच्नुपर्ने संघले बताएको छ । धेरैजसो साना तथा मझौला उद्योगहरु आफूलाई आवश्यक पर्ने मध्ये पिभिसी र रबर सोल आफै उत्पादन गर्छन् र पियू सोल स्वदेशी उद्योगबाट खरिद गरिरहेकाले त्यसको भन्सार बढाउन संघका पदाधिकारीले उद्योगराज्य मन्त्री मोतिलाल दुगडसँग आग्रह गरेका छन् ।
बर्तमान असहजता
१. सोलहरुको आयातलाई जुत्ता उद्योगको कच्चा पदार्थको रुपमा हेरियो र भन्सार मूल्याङ्कन पनि कच्चा पदार्थ सरह १० प्रतिशतमा सीमित गर्दा उद्योगलाई बजारीकरणमा समस्या भएको छ ।
२. भन्सार मूल्याङ्कन ज्यादै न्यून भएको
३. सोलको आयातको गणना जोर संख्यामा गर्नुपर्नेमा किलोको आदत कायम गरी मूल्याङ्कन गर्ने परिपाटिले पादर्शिततामा प्रश्न चिन्ह्र उठेको
४. स्वदेशी उद्योग संकटमा पर्न गएको

अब चाल्नुपर्ने कदम
आयातलाई निरुत्साहित गरी स्वदेशी उत्पादन प्रवद्र्धन तथा विस्तार गर्न पीयू सोलको प्रतिजोर न्यूनतम भन्सार ५० रुपैयाँ कायम गरी भन्सार दर तयारी वस्तु सरह ३० प्रतिशत कायम गर्न संघले माग गरेको छ ।
अन्य सोलको पनि आयात निरुत्साहित गर्न भन्सार दर ३० प्रतिशत नै गर्न जरुरी रहेको संघले उद्योगराज्य मन्त्री दुगडलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ ।
स्वदेशी उद्योगप्रति किन ‘नेगेटिभ’ अर्थमन्त्री खतिवडा? उद्योगी भन्छन्, ‘बोली र व्यवहार फरक’