काठमाडौं । सरकारले २ ओटा आयोजनाहरुबाट २१४ मेगावाट बिजुली उत्पादन गर्न निजी कम्पनीलाई अनुमतिपत्र (लाईसेन्स) दिने प्रक्रिया अघि बढाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले प्रदेश नम्बर १ को ताप्लेजुङमा रहेको तमोर–मेवा आयोजनबाट १२८ मेगावाट बिजुली उत्पादन गर्न स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाएको हो ।
यस्तै गण्डकी प्रदेशमा पर्ने कास्कीमा रहेको ८६ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनाबाट बिजुली उत्पादन गर्न अन्नपुर्ण विद्युत विकास कम्पनीलाई लाइसेन्स दिन लागेको हो ।
कम्पनीहरुले लाइसेन्सका लागि आवेदन दिएपछि विद्युत विकास विभागले ३५ दिने सूचना प्रकाशित गरेको छ । तमोर–मेवा र लान्द्रुक आयोजनाबाट आउँदो ५ वर्षमा बिजुली उत्पादन गर्ने लक्ष्य कम्पनीको छ ।
तमोर–मेवा आयोजनाबाट वार्षिक ७१ करोड ९१ लाख ११ हजार युनिट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ । आयोजनाको दुई बाँधको मुख्य संरचनाहरु मध्ये एउटा मेवाखोलाको बायाँ किनारमा र अर्को बायाँ किनारमा पर्ने र विद्युतगृह तमोरको बायाँ किनारमा पर्ने कम्पनीले जनाएको छ ।
आयोजनाको विद्युतगृह भुमिगत हुने छ । जसमा ४४ मेगावाट क्षमताका ३ ओटा टर्वाइनमा पानी खसालेर बिजुली उत्पादन हुने छ । उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणको हाङपाङमा रहेको प्रस्तावित २२० केभी सवस्टेशनमा जोडिने छ ।
तमोर–मेवाबाट २०८२ साउन १० गते व्यवसायिक रुपमा बिजुली उत्पादन गर्ने स्पार्कले जनाएको छ । आयोजना ताप्लेजुङको मिक्वाखोला र मरिङदेन गाउँपालिकामा पर्छ ।
यस्तै कास्कीको अन्नपूर्ण र माच्छापुच्छ्रे गाउँपालिकामा पर्ने लान्द्रुक मोदी आयोजनाबाट वार्षिक ५५ करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाको मुख्य संरचना मोदीखोलाको बायाँ किनारमा पर्छ । २२ मिटर अग्लो बाँध निर्माण गरी पानी सुरुङबाट पठाइ बिजुली उत्पादन हुने छ ।
आयोजनाको विद्युतगृह भूमिगत हुने प्रस्ताव गरिएको छ । २८.३ मेगावाटका ३ ओटा टर्वाइनहरुमा पानी खसाली बिजुली उत्पादन हुने छ ।
उत्पादन हुने बिजुली २७ किलोमिटर टाढा रहेको कुस्मा सवस्टेशनमा जोडिने कम्पनीले जनाएको छ । आयोजनाबाट ४ वर्ष अर्थात सन २०२४ भित्र सक्ने लक्ष्य लिएको छ ।