काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीलाई कोरोना भाइरस (कोभिड –१९) को संक्रमण देखिएपछि नियामक निकाय बीमा समितिले ‘वर्क फ्रम होम’ लागू गराउने तयारी गरेको छ । यसका लागि समितिले छलफल अघि बढाइसकेको छ ।
अहिले पनि जीवन तथा निर्जीबन बीमा कम्पनीले सतप्रतिशत कर्मचारीलाई कार्यालयमा बोलाएर काम लगाइरहेका छन् । बैंकमा जस्तै बीमा कम्पनीमा पनि कोरोना संक्रमणको उच्च जोखिम बढेपछि समितिले वर्क फ्रम होम लागू गर्ने विषयमा छलफल चलाएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
‘अहिलेसम्म निर्णय भइसकेको छैन्,’ पौडेलले भने, ‘तर, वर्क फ्रम होम लागू गर्न विषयमा आवश्यक निर्णय आउँछ ।’ समितिका अनुसार अहिले सबै बीमा कम्पनीहरुले पूरा कर्मचारीलाई कार्यालयमा बोलाइरहेका छन् । बैंकजस्ता यहाँ पनि संक्रमण फैलिन सक्ने उच्च सम्भावना रहेको उनको भनाई छ ।
पछिल्लो समय काठमाडौं उपत्यका भित्र कोभिडको संक्रमण बढेसँगै बैक तथा वित्तिय संस्थाहरुले वर्क फ्रम होम लागू गर्न लागिरहेको बेला बीमा समितिले पनि त्यहि किसिमको निर्देशन जारी गर्न छलफल अगाडी बढाएको हो ।
यस अघि आइतबार नेपाल राष्ट्र बैंकले बैंकका कर्मचारीहरुलाई आलोपालो वा ‘वर्क फ्रम होम’को व्यवस्था गर्न निर्देशन जारी गरिसकेको छ ।
बीमा समितिका कार्यकारी निर्देशक पौडेलले वर्क फ्रम होम लागू गराउने विषयमा छलफल भइरहेको बताए ।
‘राष्ट्र बैंकले जसरी सिधै निर्देशन जारी गर्ने अधिकार हामीसँग छैन, कार्यकारी निर्देशक पौडेलले भने, तर सरोकारवाला निकायहरुसँग छलफल गरी जोखिम न्यूनिकरणका लागि वर्क फ्रम होमको व्यवस्था गर्न लागेका छौं’ । हाल १९ वटा जीवन बीमा, २० वटा निर्जीवन बीमा र एउटा रि इन्स्योरेन्स कम्पनी रहेको छ ।