काठमाडौं । एक अर्ब लगानीसहित चार जना युवाले कागज उद्योग सञ्चालनमा ल्याउने भएका छन् । ती युवाहरुले विगत दुई वर्षदेखि कागज उद्योग सञ्चालनका लागि आवश्यक तयारी गरेका थिए ।
उनिहरूले क्वालिटी पेपर इन्डष्ट्रिज प्रालिमार्फत कागज उत्पादन गर्ने भएका हुन् । प्रभु बैंकको ऋण लगानीमा कागज उद्योग सञ्चालनमा ल्याउन लागेका हुन् । व्यापारमा अनुभव बटुलेका ४ जना युवाको संयुक्त लगानी छ । केही दिनभित्रै उद्योग सञ्चालनको तयारीमा रहेको प्रालि अध्यक्ष सुकेशकुमार गुप्ताले बताए ।
स्वदेशमा कागजन्य (स्क्राप) फोहोर संकलन गरी दुई प्रकारका गुणस्तरीय कागज उत्पादन गर्ने छ । नेपालमा पहिलो पटक अत्याधुनिक युरोपियन प्रविधिको प्रयोगमार्फत कागज उद्योग सञ्चालन गर्न लागको गुप्ताले बताए ।

स्वदेशी कच्चा पदाथमै नयाँ प्रयोग गर्दै कम्पनीले नवलपरासी (बर्दघाट सुस्त पूर्व) को मध्यविन्दु नगरपालिकास्थित अरुण खोलामा उद्योग स्थापना भएको छ । चितवनको भरतपुरमा मुख्य कार्यालय रहनेछ ।
उद्योग करिव १५ विघा क्षेत्रफलमा फैलिएको छ । नेपालमा खेर जाने कागजन्य फोहोरलाई पुनः प्रयोग गरी दुई प्रकारका कागज उत्पादन हुनेछन् । हाल कागजन्य फोहोर सस्तो मूल्यमा विदेश निर्यात हुँदै आएकोमा उद्योग सञ्चालनमा आएपछि स्वदेशमै कागजजन्य फोहोरको पुनः प्रयोग हुने छ ।
उद्योग सञ्चालनमा आएपछि स्वदेशमा नै रोजगारी सिर्जना हुनेछ । झन्डै १५० जनाभन्दा बढीले उद्योगबाट रोजगारी पाउने छन् ।
नेपालमा कागजजन्य फोहोर यति नै निस्कन्छ भन्ने यकिन छैन् । तर पनि उद्योग सञ्चालनमा आएपछि प्रारम्भिक रुपमा बजारबाट निस्कने १५० टन कागजजन्य फोहोर संकलन गरी दैनिक १२० टन कागज उत्पादन गर्ने लक्ष्य लिइएको छ । अहिले नेपाली कागजजन्य फोहोर भारत र चीनमा सस्तो मूल्यमा निर्यात हुँदै आएको छ ।
उद्योगले पहिलो चरणमा प्याकेजिङ (काटुन) बनाउने कागज उत्पादन गर्ने छ । अहिले पनि प्याकेजिङका लागि भारत र चीनसहित तेस्रो मुलुकबाट आयात गर्नुपर्ने अवस्था छ ।
निकट भविष्यमा सेतो कागज पनि उत्पादन गर्ने उद्योगको लक्ष्य छ । नेपालमा सञ्चालनमा रहेको पत्रपत्रिकाका लागि आवश्यक कागज विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । पत्रपत्रिकाका लागि उपयुक्त कागज पनि उद्योगबाट नै उत्पादन गर्ने उनीहरूकाे योजना छ ।
‘स्वदेशमै लगानी गरौं, स्वदेशमै आन्तनिर्भर बनौं, हाम्रो अभियान’ भन्ने मूल नारासहित युवा व्यवसायी कागज उद्योग सञ्चालनमा होमिएका हुन् । भृकुटी कागज उद्योगले कागज उत्पादनमा पहिचान बनाएको थियो । गाेल्छा समूहले लिएकाे साे उद्योग लामो समयदेखि बन्द छ । त्यस हिसावले नै नेपाली कागज बजार निर्भरमूखी बनाउने लक्ष्य लिएको उद्योगले जनाएको छ ।