काठमाडौं । निर्माणधीन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना एक वर्ष ढिलो हुने भएको छ । आयोजनाको पछिल्लो संशोधित निर्माण तालिकाअनुसार आगामी २०७८ असारसम्म बिजुली उत्पादन गर्ने लक्ष्य तय भएको छ । यसअघि २०७७ असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य थियाे ।
तर, कोरोना भाइरस महामारी नियन्त्रण गर्न सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन) का कारण आयोजनाको काम प्रभावित हुन पुगेपछि एक वर्ष पछि धकेलिएकाे आयोजना प्रमुख छवि गैरेले बताए ।
हालसम्म आयोजनाको ७८ प्रतिशत काम सकिएको छ । अझै २२ प्रतिशत काम बाँकी रहेको छ । यसैगरी बाढी र पहिरो जस्ता प्राकृतिक विपत्तिले पनि आयोजनाको काममा ढिलाइ हुन पुगेको छ । बाढीले आयोजनाको हेडवक्स निर्माण कार्य स्थगित भएको, आयोजना वरपर निरन्तर गइरहेको पहिरोले वर्षाभरी अडिट सुरुङको काम रोकिएको गैरेले जानकारी दिए ।
यस्तै, आयोजनाको टेलेरेस टनेलको करिव ७० मिटर लम्बाइमा अति कमजोर जमिन मध्ये ३५ मिटर खुम्चिएका कारण कठिनाइ भई सुस्त गतिमा काम भइरहेको छ । यस्तै सरकारले जारी गरेको लकडाउनका बीचमा सिभिल र हाइड्रोमेकानिकलको काम भए पनि इलेक्ट्रोमेकानिकलको ठेकेदार नफर्किएका कारण यसको काम हुन सकेको छैन ।
सुरुको लागत ब्याज बाहेक आयोजना बनाउन १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ अनुमान गरिएकोमा विदेशी मुद्रा विनिमयदरमा परिवर्तन, बन्दहड्ताल र प्राकृतिक विपत्तिका कारण बढ्ने संभावना देखिएको कम्पनीले जनाएको छ ।
आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ । बिजुली बिक्रीबाट रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी गर्ने छ ।
आयोजनाको ४.२ किलोमिटर लामो सुरुङको काम २ वर्षअघि सकेको छ ।आयोजना चाइना वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशन (सीडब्ल्यूई) रहेको छ । यस पटक पनि चालु आर्थिक वर्षमा सकिने आयोजनाको सूचीमा रसुवागढी परेको छ । चालु आर्थिक वर्षमा सरकारले विद्युत उत्पादन जडित क्षमता बढाएर ३ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको छ ।
आयोजना कर्मचारी सञ्चय कोषको ऋण लगानीमा निर्माण भइरहेको छ । ब्याजदर घटेपछि आयोजनाका लागत पनि कम हुने देखिएको छ । आयोजनाका ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी छ ।
नदीको वहावमा आधारित आयोजनामा ३८ मेगावाट क्षमताका ३ ओटा टर्वाइन जडान हुने छन । आयोजना नेपाल र चीन सीमा नजिक रसुवा जिल्लामा छ ।
रसुवागढी आयोजनाले अब प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न बाँकी छ । यसका लागि स्थानीयसँग आयोजनाले छलफल गरिरहेको छ । रसुवागढी जनताको जलविद्युत आयोजना हो ।