काठमाडौं । ग्लोबल आइएमई बैंकका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्यले कार्यभार सम्हालेका छन् । सोमबार बिहान बैंकमा आयोजित एक कार्यक्रमबीच बज्राचार्यले ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा आफ्नो पदभार ग्रहण गरेका हुन् ।
उनलाई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले पद तथा गोपनियताको सपथ गराएका हुन् । त्यस अवसरमा अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले अहिलेको बैकिङ क्षेत्रको चुनौतिलाई सफलतापूर्वक सम्पन्न गर्न सक्ने नेतृत्व पाएको बताए । ‘उहाँ एक अब्बल बैंकर हो । ग्लोबल आइएमईले उहाँलाई दोस्रो कार्यकालका लागि पाएको छ अध्यक्ष ढकालले भने, यो हाम्रो लागि पनि एउटा अवसर हो ’ ।

यसअघि बैंक मर्जर र मर्जरपछिको व्यवस्थापनमा उहाँले खेलेको भूमिका सराहनीय रहेको थियो । ‘अबका दिनमा पनि बैंकलाई देशकै सबैभन्दा उत्कृष्ट र सबल बैंकको रुपमा स्थापित गर्न उहाँको भूमिका रहने छ,’ ढकालले भने ।
नवनियुक्त प्रमुख सीईओ बज्राचार्यले ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई बनेको देशकै ठूलो बैंकको नेतृत्व गर्न पाउनु आफूलाई चुनौति र अवसर दुवै रहेको बताए । ‘बैंकलाई थप मजबुत बनाउँदै बैंकको सेवालाई सरल र सहज बनाउने चुनौति आफ्नो सामु रहेको छ’,उनले भने ।
‘मर्जरपछि धेरैजसो सूचकहरुमा ग्लोबल आइएमई बैंक देशकै ठूलो र एउटा उत्कृष्ट बैंकको रुपमा रहेको छ सीईओ बज्राचार्यले भने, यसलाई थप उचाइमा पु¥याउने र यसको सेवालाई ७७ वटै जिल्लामा विस्तार गरी सबैका लागि बैैंक भन्ने मूल नारालाई साकार पार्ने गरी मैले काम गर्नेछु ’।
बैंकको सञ्चालक समितिको २०७७ साउन ३० गते शुक्रबार बसेको बैठकले बज्राचार्यलाई आगामि चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो ।
चार दशक भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा रहनुभएका बज्राचार्यले यसअघि एक कार्यकाल ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरिसकेका छन् ।
नेपाल राष्ट्रबैंकबाट आफ्नो बैंकिङ्ग करियरसुरुगर्नुभएका बज्राचार्यको बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा मर्जरपछिको व्यवस्थापनमा राम्रो अनुभव रहेको छ । वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट बज्राचार्यले यस अघि एनसीसी बैंकर सनराइज बैंकमा पनि प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरिसकेका छन् ।