काठमाडौं । नेपाल बैंकर्स संघले कोरोना संक्रमणको जोखिम बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको अवस्थामा पनि भिडभाड कम नभएकाले डिजिटल बैकिङ्गमार्फत कारोबार गर्न अनुरोध गरेको छ ।
अत्यावश्यक अवस्थामा बाहेक बैंकको शाखामा नआई घरबाटै डिजिटल बैकिङ्ग (मोबाइल/ इन्टरनेट बैंकिङ्ग) को माध्यमवाट कारोबार गर्न संघले सोमवार विज्ञप्तिमार्फत यस्तो अनुरोध गरेको हो ।
जारी विज्ञप्तिमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को प्रभावबाट बच्न तथा जोखिमहरु न्यूनिकरणका लागि विद्युतीय कारोबारलाई प्राथमिकता दिन सबै ग्राहकसमक्ष अपिल गर्दछौं भनिएको छ ।
कोरोना भाइरसबाट आफू र अरुलाई सुरक्षित गर्न घरबाटै डिजिटल बैकिङ्ग सेवाको अझ बढी प्रयोग गर्न जरुरी भएको संघको भनाइ छ ।
संघकाअनुसार एउटा खातावाट अर्को कुनै खातामा रकम जम्मा गर्न, विभिन्न बिलहरु भुक्तानी गर्न, आफ्नो खाताको कारोबार विवरण हेर्न, खातामा रहेको रकम हेर्न आदि कामहरु सहज रुपमा डिजिटल बैकिङ्गवाट गर्न सकिने हुनाले घरमै बसी सहज रुपमा गर्न सकिने पनि संघले बताएको छ ।
डिजिटल बैकिङ्ग प्रयोग गर्न कुनै पनि प्राबिधिक समस्या भएमा, पासवर्ड बिर्सिएमा वा अन्य कुनै अफ्ठ्यारो परेको खण्डमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको शखामा फोन मार्फत् सम्पर्क गरि सहयोग लिन पनि संघले भनेको छ ।
आफ्नो खाता वा खाताबाट भएको कारोबारको सिलसिलामा कुनै जिज्ञासा भएमा सम्बन्धित शाखामा फोन मार्फत् सम्पर्क गर्न पनि संघले भनेको छ ।