काठमाडौं । गत आर्थिक वर्ष ०७६/०७७ मा लघुवित्त संस्थाहरुको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लिमिटे मा सूचीकृत ५० लघुवित्त संस्थाहरुले ४ अर्ब ५७ करोड रुपैयाँ खुदनाफा गरेका छन्।
अघिल्लो वर्ष नेप्सेमा सूचीकृत ति लघुवित्त संस्थाले ५ अर्ब ९२ करोड रुपैयाँ खुदनाफा गरेका थिए । लघुवित्त संस्थाहरुले गरेको यो नाफा अघिल्लो वर्षको भन्दा २२.७० प्रतिशत कम हो।
कोरोना भाइरस संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि जारी गरेको बन्दाबन्दी (लकडाउन) को असरले गर्दा नाफामा संकुचन आएको लघुवित्त संस्थाहरुले बताएका छन । यसबीचमा लघुवित्त संस्थाले लगानी बढाउन नसकेको र कर्जा असुली नहुँदा यसको असर नाफामा परेको हो ।
गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा गर्नेमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड भएको छ । छिमेकले ६४ करोड ९२ लाख रुपैयाँ खुदनाफा कमाएको छ ।
यस्तै सरकार स्वामित्वको साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले ५४ करोड ८२ लाख, र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ३५ करोड ६१ लाख रुपैयाँ खुदनाफा गरेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।
नेपाल लघुवित्त संघका अनुसार गत आर्थिक वर्षमा लघुवित्त संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट लिएर ८६ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १९ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
यसबाट १६ अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी भएको छ। संघका अनुसार निक्षेप १९.६१, कर्जा लगानी ८.८९ र खुद ब्याज आम्दानी १४.८७ प्रतिशत बढेको संघले जानकारी दिएको छ ।
अघिल्लो आर्थिक वर्षमा ७२ अर्ब २३ करोड रुपैयाँ निक्षेप परिचालन गरी २ खर्ब १ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । उनीहरुले यसबीचमा १३ अर्ब ९६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको संघले जनाएको छ । लघुवित्तको जगेडा कोष बढेर १५ अर्ब ९१ करोड रुपैयाँको पुगेको छ।
लघुवित्तको लगानीमा प्रतिफल घटेर औसतमा प्रतिसेयर ११.८७ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष १७.७२ रुपैयाँ थियो । गत आर्थिक वर्षमा संस्थाहरुको औसत निष्क्रय कर्जा अनुपात २.३२ प्रतिशत छ।
गत वर्ष साना किसानको सबैभन्दा धेरै १ अर्ब ९७ करोड ४१ लाख रुपैयाँ जगेडा कोष रहेको रहेको छ। घोडीघोडा लघुवित्तको सबैभन्दा कम ५ लाख ४ हजार रुपैयाँले ऋणात्मक रहेको वित्तीय विवरणमा उल्लेख छ ।
समीक्ष अवधिमा छिमेक लघुवित्तले सबैभन्दा बढी निक्षेप परिचालन गरेको छ । छिमेकले गत आर्थिक वर्षम १८ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै सबैभन्दा कम घोडीघोडा लघुवित्त संस्था लिमिटेडको छ । उसको ३ करोड ७६ लाख रहेको छ।