काठमाडौं । सबैको चाहना हुन्छ, राम्रो ठाउँमा एउटा सुन्दर घर होस् । जहाँ घरबेटीको कुनै तनाब हुँदैन । स्वतन्त्रपूर्वक आफ्नो परिवारसँग बस्न पाउन । त्यही सपनालाई पुरा गर्न दिनरात कडा मेहनत र परिश्रम गरिरहेका हुन्छौं ।
घर जग्गा जोड्नका लागि जुन मेहनत गरिरहेका हुन्छौं, त्यो मेहनत र परिश्रमले एकै पटकमा घर किन्न सकिने अवस्था हुदैन । त्यसैलाई मध्यनजर गर्दै घरको सपना पुरा गर्न विभिन्न बैंकहरुले सस्तो र सुलभ दरमा ब्याजदर राखेर ऋण प्रवाह गरिरहेका छन ।
होम लोनको लागि आवश्यक स्रोत यी हुन्
घर बनाउन वा घर किन्नका लागि बैंक तथा वित्तिय संस्थाले होम लोनका लागि कर्जा दिँदा आवश्यक स्रोतको खाँचो पर्छ । बैंक तथा वित्तिय संस्थाले बलियो आय स्रोत नभएसम्म होम लोन दिन मान्दैन । त्यसका लागि तपाईंको सम्पत्ति र आम्दानी प्रमाणित हुने कागजपत्र आवश्यक पर्छ ।
एकाघरपरिवार भित्रका अन्य सदस्यको विश्वसनीय आयस्रोतसमेतलाई जोड्न सकिन्छ । नियमित आम्दानी गर्ने निजी कम्पनीका कर्मचारीको तलब विवरण पनि आयस्रोतमा देखाउनुपर्छ ।
संस्थागत ऋणीको हकमा पछिल्ला दुई वर्षको कार्यमूल्यांकन (पर्फरमेन्स) र आउँदो दुई वर्षको लक्ष्य (प्रोजेक्सन) समेत पेस गर्नुपर्छ । योसँगै व्यवसायी, प्रोफेसनल, स्वरोजगार वा कुनै पनि व्यक्तिले आफ्नो विश्वसनीय र स्थायी आयस्रोत भएको हिसाब देखाउनु पर्छ ।
४८ घण्टा भित्र होम लोन पाइन्छ
अहिले बैंकहरुले छिटो र छरितो तरिकाले होम लोन दिन थालेका छन । विभिन्न बैंकहरुले लोनका लागि आवश्यक कागजपत्र मागेको ४८ घण्टा भित्रै होम लोन पाइने वा नपाइने भन्ने विषयको टुंगो लगाउछन् ।
त्यसका लागि सर्वप्रथम तपाईं बैंकमा गएर आवेदन दिनुपर्छ । तपाईं र तपाईंको कागजपत्रप्रति विश्वास लागेमा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रदान गर्छन ।
लोन घर वा व्यावसायिक भवन खरिद गर्नका लागि दिन्छन् । त्यसैगरी, बन्दै गरेको घर, अपार्टमेन्ट, बंगला, फ्ल्याट खरिद गर्नसमेत कर्जा लिन सकिन्छ ।
४० वर्षसम्मको होम लोन पाइन्छ
आफ्नै घरमा बस्ने सपना पुरा गर्न बैंकहरुले लामो समयसम्मको कर्जा दिन थालेका छन । सनराइज बैंकले ४० वर्षसम्मका लागि होम लोन दिने स्कीम सार्वजनिक गरेको छ । एनएमबी बैंकले ३५ वर्षसम्मको लागि लोन दिने भनेको छ ।
अहिले एनआइसी एसिया, नेपाल इन्भेष्टमेण्ट, नबिल र एभरेष्टलगायत बैंकहरुले बढीमा १५ वर्षसम्मको किस्ता अवधिका लागि होम लोन दिन्छन्न । सरकारी स्वामित्वको नेपाल बैंकले २ देखि २० वर्ष अवधिको कर्जा जारी गर्ने गरेको छ ।
हिमालयन बैंकले ३ देखि २० वर्षसम्मको घर कर्जामा लगानी गर्छ । ग्लोबल आईएमई बैंकले २५ वर्षसम्मको कर्जा प्रवाह गरिरहेको छ ।