काठमाडौं । नेपालमा पूर्वाधार क्षेत्रको विकासमा पहलकदमी लिने लक्ष्यसहित खुलेको पूर्वाधार विकास बैंकको नाम नियामक निकाय नेपाल राष्ट्र बैंक र सार्वजनिक कम्पनीका रुपमा दर्ता भएको पूर्वाधार विकास बैंकले फरक नाम प्रयोग गरेको पाइएको छ ।
राष्ट्र बैंकले नेपाल पूर्वाधार बैंक भनिरहँदा कम्पनीले भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड नामबाट कारोबार गरिरहेको छ । कारोबार थालेकै दुई वर्ष भईसकेको स्थितिमा पनि केन्द्रीय बैंकले आफूमातहतको संस्था कुन नामबाट कारोबार गरिरहेको छ भन्नेसम्म पत्तो नपाउनु आश्चर्यको विषय हो ।
बैंक तथा वित्तीय संस्थासम्वन्धी ऐन, २०७३ को दफा ४९ मा पूर्वाधार विकास बैंकसम्वन्धि व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार चुक्ता पुँजी २० अर्व हुने गरी इन्फ्रास्ट्रक्चर खुलेको छ । अहिले इन्फ्रास्ट्रक्चरको चुक्ता पुँजी १२ अर्व रुपैयाँ छ र सर्वसाधारणमा सेयर विक्री गरेपछि मात्रै २० अर्व रुपैयाँ पुग्छ ।
राष्ट्र बैंकको सूचीमा भएको पूर्वाधार बैंक लिमिटेड खोज्ने हो भने त्यसको आधाकारिक संस्था कतै पनि भेट्टिदैन । कम्पनी ऐनको व्यवस्थाअनुसार नेपालीमै र एउटै नाम राख्नुपर्ने कारणले बैंकको नाम इन्फ्रास्ट्रक्चर राखिएको हुन सक्छ । यद्यपी इन्फ्रास्ट्रक्चरले आफ्नो बैंकको व्याख्यामा ‘पूर्वाधारका परियोजनाहरुमा बृहत लगानीमार्फत मुलुकको समग्र अर्थतन्त्रको विकासमा सहयोग पुर्याउन स्थापित नेपालको पहिलो पूर्वाधार विकास बैंक’ भनिएको छ ।
उता, राष्ट्र बैंकले पनि पूर्वाधार विकास बैंकको सूचीमा ‘नेपाल पूर्वाधार बैंक लिमिटेड’ उल्लेख गरेको छ । यद्यपी राष्ट्र बैंकले सार्वजनिक गर्ने अंग्रेजी सूचीमा भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड छ ।
कम्पनी ऐन २०६३ को दफा १० मा आफू (सम्वन्धित कम्पनी)ले गर्ने सम्पूर्ण कारोबारहरु सो कम्पनीको नामबाट गर्नुपर्ने उल्लेख छ । कम्पनी रजिस्ट्रारको कार्यालयले राखेको सार्वजनिक जानकारीमा कम्पनी संस्थापना पश्चात कम्पनीले अनिवार्यरुपमा गर्नुपर्ने क्रियाकलापहरु अन्तर्गत कम्पनीको रजिस्टर्ड कार्यालय र कारोबार गर्ने स्थानमा राष्ट्र भाषा नेपालीमा साइन बोर्ड राख्नुपर्ने उल्लेख गरेको छ ।
त्यसो त केन्द्रीय बैंकले आफैँले स्वीकृति कहिले दिएको भन्ने थाहा नभएरै होला औपचारिक कारोबार सुरु भएको मितिभन्दा पछाडी सञ्चालन स्वीकृति दिएको छ । राष्ट्र बैंकअन्तर्गत रहने कुनै पनि संस्थालले केन्द्रीय बैंकबाट औपचारिक स्वीकृति नपाई वित्तीय कारोबार गर्न पाउँदैन ।
केन्द्रीय बैंकले पूर्वाधार बैंकलाई २०७५ फागुन २७ गते सञ्चालन स्वीकृती दिएको उल्लेख छ । तर, अर्थमन्त्री डा.युवराज खतिवडाले २०७५ फागुन २२ गते विधिवत् कारोबारको शुभारम्भ गरेका थिए । यद्यपी इन्फ्रास्ट्रक्चरले भने २०७५ माघ २८ गते केन्द्रीय बैंकबाट वित्तीय कारोबार गर्न अनुमति लिएको उल्लेख गरेको छ ।