काठमाडौं । ऋणीलाई आकर्षिक गर्न बैंकले घरकर्जाको ब्याज सस्तो बनाउन बेसरेटमै ऋण उपलब्ध गराउने घोषणा मात्रै गरे । कर्जा अवधिसमेत ४० वर्षसम्म पुर्याएर ऋण लगानी गर्ने बताए पनि बैंकको कर्जा विस्तारमा खासै उपलब्धी नदेखिएको केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको बार्षिक विवरणमा देखिएको छ ।
केन्द्रीय बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष ०७७/७८ मा घरजग्गामा बैंक तथा वित्तीय संस्थाहरुले ३१ अर्ब ७ करोड २८ लाख रुपैयाँ लगानी गरेका छन् । जबकी अघिल्लो वर्ष बैंकहरुको घरजग्गामा लगानी ४१ अर्ब ३८ करोड ९६ लाख रुपैयाँ रहेको थियो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा घरजग्गामा बैंकको लगानी १० अर्ब ३१ करोड ६८ लाख रुपैयाँले कमी आएको छ ।
गत वर्ष प्रवाह भएको कर्जामध्ये व्यक्तिगत आवासीय कर्जातर्फ १४ अर्ब ५८ करोड रुपैयाँ र रियलस्टेट कर्जातर्फ १६ अर्ब ४९ करोड रुपैयाँ प्रवाह भएको छ ।
राष्ट्र बैंकका अनुसार असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको घरजग्गामा कुल लगानी ४ खर्ब १६ अर्ब २ करोड २८ लाख रहेको छ जसमध्ये व्यक्तिगत आवासीय कर्जातर्फ २ खर्ब ५२ अर्ब ५४ करोड रुपैयाँ र रियलस्टेटतर्फ १ खर्ब ६३ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ ।
गत वर्षको माघ मसान्तसम्म घरजग्गामा बैंक तथा वित्तीय क्षेत्रको कुल ऋण लगानी ४ खर्ब १८ अर्ब २८ करोड रुपैयाँ पुगेको थियो । तर, फागुन महिनादेखि नै कोरोना भाइसरको महामारीको प्रभाव देखिन थालेपछि घरजग्गामा बैंकको लगानी खुम्चिन थालेको थियो ।
विश्व्यापी महामारीका रुपमा कोरोना भाइसर फैलिँदै गएपछि फागुनदेखि नै घरजग्गामा बैंकको ऋण लगानी खुम्चिन थालिसकेको थियो । सरकारले ११ चैतदेखि लकडाउन गरेपछि करिब ३ महिना लगानी शुन्यमा झर्याे ।
लकडाउन सुरु भएसँगै देशभरका मालपोत कार्यालय पनि बन्द हुन पुगे । २५ जेठदेखि मालपोत कार्यालय खुलेपनि नयाँ ऋण लगानी उल्लेख्य मात्रामा हुन सकेन । आर्थिक वर्षको अन्तिम महिना असारमा घरजग्गाको किनबेच राम्रै भएको थियो ।