काठमाडौं । व्यापारीहरुले उधारो नतिर्दा उद्योगीहरुको पैसाको चक्र बिग्रेको धेरै भइसक्यो । सामान्यतयाः ६० दिनको उधारोको चक्रलाई व्यापारीले १८० दिनसम्म पुर्याइसकेका छन् ।
६० को चक्रलाई व्यापारी सुरुमा ९० दिन पुर्याए, त्यसपछि १२० दिन हुँदै १८० दिनसम्म पुग्यो । यसले व्यापारीलाई त मालामाल नै बनायो तर, उद्योगीलाई गम्भीर संकटमा पुर्याएको छ ।
व्यापारीले लगेको उधारो नउठेपछि उद्योगीले हरेक उपाय अवलम्बन गरेका छन् । सिमेन्ट तथा स्टिल उद्योगले उधारोमा सामान नै नबेच्नेसम्मको निर्णय गरे । ठूलो जोखिम मोलेर दुईओटा संघ उधारोमा सामान नबेच्ने निर्णयमा पुग्नुले दर्शाउँछ, उधारोले उद्योगीलाई कति पोलेको छ भनेर ।
उद्योगीबाट व्यापारीले उधारो लैजाने र उपभोक्तालाई नगदमा सामान बेच्ने र त्यो पैसा उद्योगीलाई तिर्नुको साटो घरजग्गामा लगाउने मात्रै होइन्, बैंकमा राख्ने र दैनिक रुपमा ब्याज खाने प्रचलन पनि बढिरहेको छ ।
बैंकले दैनिक निक्षेपमा ब्याज दिने भएपछि व्यापारीले उद्योगीलाई उधारो तिर्नुको साटो बैंकमा जम्मा गर्ने र त्यहाँबाट ब्याज आम्दानी गर्ने प्रचलन मात्रै बढेन, ६० दिनको चक्र १८० दिन पुगेको उद्योगीहरु बताउँछन् ।
बैंकहरुले असल नियतले दैनिक ब्याज दिने नियम ल्याएका हुन् । तर, व्यापारीले त्यसको गलत फाइदा उठाए । ‘बैंकले दैनिक रुपमा ब्याज दिने भएपछि उधारो दिने उद्योगीलाई किन पैसा तिर्छ ?’ सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले भने, ‘बैंकबाट आउने ब्याजको लोभले उधारोको चक्र १८० दिनसम्म पुगेको हो ।’

केही वर्ष अघिसम्म एक महिनामा जुनदिन सबैभन्दा कम पैसा छ, त्यसको ब्याज दिने प्रचलन थियो । तर, पछि बैंकमा लगानीयोग्य पुँजीको अभाव भएपछि नेपाल राष्ट्र बैंकले दैनिक निक्षेपमा ब्याज दिने प्रचलन सुरु गर्यो, त्यही दिनबाट व्यापारीले समयमा उद्यारो तिर्न छाडेको उद्योगी वीरेन्द्र साह बताउँछन ।
‘जुन बेला बैंकमा लगानीयोग्य पुँजीको अभाव थियो, त्यो बेला हरेक बैंकले ग्राहकबाट निक्षेप तान्नका लागि ग्राहकहरुलाई लोभ्याउनु पर्यो । बैंकले लगानीकर्तालाई लोभ्याउनका लागि निक्षेपको ब्याजमा थरी थरीका स्किम ल्यायो । त्यही बेला तपाई हाम्रो बैंकमा पैसा राख्नुस्, दैनिक निक्षेपमा तपाईलाई ब्याज दिन्छौं भन्ने अभ्यास सुरु भयो’ व्यवसायी साहले भने, ‘आज कुनै निक्षेपकताले १ लाख रुपैयाँ जम्मा गर्छ भने, आजै ब्याज दिन्छ, भोलि ५ हजार राख्छ भने १ लाख ५ हजार रुपैयाँकै ब्याज दिन्छु । एक लाख रुपैयाँ निकाल्नु भयो भने ५ हजारको ब्याज दिन्छ ।’

तर, व्यापारीले त्यसको गलत फाइदा उठाएको उद्योगीहरु बताउँछन् । उद्योगीका अनुसार केन्द्रीय बैंक र बैंकर्स संघले तलबी खाताबाहेकलाई दैनिक ब्याज दिने काम बन्द गर्ने बित्तिकै अहिलेको समस्या समाधान हुने उनीहरुको भनाइ छ ।
एउटा व्यापारीले उद्योगीसँग उधारोमा माल लियो । त्यो माल लगेर उपभोक्ता नगदमै बेच्यो । त्यो व्यापारीले उधारो सामान लिएर गएको उद्योगीलाई पैसा तिर्दैन ।
दैनिक रुपमा बैंकले ब्याज दिने नीति अख्तियार गरेपछि त्यो व्यापारीले ब्याजको लोभ गरेर आफ्नो व्यक्तिगत खातामा लगेर डिपोजिट गरिरहेको छ’ सौरभ समूहका प्रवन्ध निर्देशक विष्णु न्यौपानेले भने, ‘साहुलाई १५ दिनपछि दिँदा पनि हुन्छ । १५ दिन मात्रै बैंकमा लाखौ रुपैयाँ राख्न पाइयो भने धेरै ब्याज आउँछ । उधारो दिने उद्योगीलाई व्यापारीले अहिले व्यापार छैन भनेर टारिरहेको हुन्छ, १५ दिनपछि दिन्छु भनेर झुलाइरहेको पनि हुन्छ ।’

यसले व्यापारीलाई बैंकले दिने ब्याजको लोभ बढिरहेको छ र व्यापारको चक्र पनि लम्बिँदै गएको उनीहरुको भनाइ छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणकर भट्टले यो विषय उद्योगी र व्यापारीको समस्या भएकाले उनीहरुले समाधान गर्नुपर्ने बताउछन ।
‘केन्द्रीय बैंकले बैंकहरुलाई डिपोजिटरलाई ब्याज नदेउ वा एक महिनाको न्यूनतम रकमलाई आधार मानेर मात्रै ब्याज देउ भन्न सक्दैन र मिल्दैन पनि’ भट्टले भने, ‘केही सहुलियत दिएर आफ्नो उधारो उठाउन सकिन्छ, त्यसमा उद्योगी आफैले पनि सोच्नुपर्छ ।’
पैसा जम्मा गर्न आउने सबै बैंकको नजरमा एउटै हुन् । उनीहरुको पैसाको ब्याज नदेउ भन्न सक्ने अवस्था नरहने केन्द्रीय बैंकको बुझाइ छ ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश अग्रवालले उधारो नउठेर उद्योगीलाई ठूलो समस्या भइरहेको र यसमा केन्द्रीय बैंक, तथा बैंकर्स एसोसिएसनले आवश्यक सहयोग गर्नुपर्ने बताए ।

‘हामीसँग उधारोमा सामान लैजाने, नगदमा बेच्ने र साहुलाई तिर्नुको साटो बैंकमा पैसा राखेर त्यहाँबाट ब्याज कमाइरहने भइरहेकोे छ,’ अग्रवालले भने ‘उधारो लैजाने पाटीसँग पैसा हुँदाहुँदै पनि उसले दिइरहेको छैन । साहुलाई तिर्नुभन्दा बैंकमा पैसा राख्ने र त्यहाँबाट ब्याज खाने विकृत्ति बढिरहेको छ । उधारो लैजाने पाटीले १० दिन मात्रै बैंकमा लगेर पैसा डिपोजिट गर्न पाए, त्यहाँबाट ब्याज आउँछ ।’
उद्योगी साहका अनुसार यो अभ्यास एकदमै गलत तरिकाले मौलाइरहेको छ । यो विकृत्तिलाई रोख्न केन्द्रीय बैंकले (तलबी खाता) बाहेकलाई दैनिक रुपमा ब्याज दिने काम रोक्नुपर्छ । महिना भरिमा खातावालाको खातामा जति रकम छ, त्यसको न्यूनतम रकमलाई आधार मानेर ब्याज दिनुपर्छ ।
अहिले पैसा राख्ने बित्तिकै ब्याज पाइन्छ भन्ने भएकाले उद्योगीको उधारो भुक्तानी गर्ने भन्दा पनि ब्याज खानेतिर व्यापारीको ध्यान गएको उद्योगीहरु बताउँछन् । यदि केन्द्रीय बैंकले हालको प्रावधानलाई हटायो भने उधारो लैजाने व्यापारीले आफ्नै साहुलाई पैसा दिउ भन्ने सोच्छ ।
बैंकमा राख्यो भने पनि ब्याज आउँदैन । बैंकमा राखेर के फाइदा, बरु साहुलाई तिर्यो भने थप मालसामान त पठाउँछ भन्ने मान्यता स्थापित हुन्छ ।
उद्योगी र बैंक दुईलाई पुग्छ फाइदा
व्यापारको असल अभ्यास हुन्छ
जसले उधारो सामान दिइरहेको छ, उसको पनि भुक्तानी चक्र राम्रो हुन्छ ।
बैंकलाई पनि फाइदा पुग्छ, किनकि, अहिले बैंकले दैनिक रुपमा ब्याज दिइरहेको छ, उसलाई पनि भार कम पर्छ ।