काठमाडौं । भदौ ३ गते उपत्यकामा निषेधाज्ञा जारी हुनुअघि नेपाल स्टक एक्सचेन्जमा (नेप्से) सूचक १३९१.३ अंकमा रहेकोमा गत बिहीबार आइपुग्दा १४५८.०४ मा पुगेको छ ।
यसबीचमा ५ दिन लगातार बढेर १४६२.०४ अंकमा पुगेको सूचक अन्तिम दिन भने सामान्य अंकले घटेर बन्द भएको थियो । यद्यपी त्यसदिन पनि बजार बढेर १४७२.७३ अंकसम्म पुगेको थियो ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेसँगै अहिले काठमाडौं उपत्यका मात्रै होइन मुलुकभरका ४८ जिल्लामा पूर्ण र आंशिक निषेधाज्ञा वा बन्दाबन्दी (लकडाउन)को अवस्थामा छ । अझ प्रमुख शहरी इलाकाहरु ठप्पप्रायः छन् ।
३ महिना (१२० दिन) लामो लकडाउन झेलेर र कारोबार नै बन्द गरेर अघि बढेको सेयर बजारमा पछिल्लो पटकको निषेधाज्ञामा सेयर सूचक मात्रै होइन कारोबार रकममा पनि व्यापक बृद्धि हुनु सेयर बजार विस्तारका लागि कोशेढुङ्गा सावित भएको छ ।
निषेधाज्ञा रहेकै बेलाको एक सातामा नेप्से सूचक ४.३३ प्रतिशत, बजार पुँजीकरणमा ४.५३ प्रतिशत, कारोबार रकममा ९७.०७ प्रतिशत, सेयर संख्यामा ४०.८९ प्रतिशतको बृद्धि बजारका लागि राम्रो पक्ष हो ।
यसले लगानीकर्ता उत्साहित भएको र बन्दाबन्दी तथा निषेधाज्ञाका बीचमा सेयर कारोबारमा अनलाईन प्रयोगकर्ता व्यापक रुपमा बढेको देखाउँछ । विहीबारसम्म ६४ हजार ६१६ जना अनलाइन प्रयोगकर्ता देखिएका छन् ।
निषेधाज्ञामा पनि दोस्रो बजारले एउटा गति समाएको छ । कारोबार रकममा राम्रो सुधार भएको छ । यही बीचमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी, समाज लघुवित्त वित्तीय संस्था र लिवर्टी इनर्जी कम्पनीको प्राथमिक सेयर विक्री भएको छ ।
रिलायन्समा अहिलेसम्मकै धेरै व्यक्तिहरु (६ लाख ९ हजार बढी)ले सेयर भरेका थिए । शुक्रबार त्यसको बाँडफाँड पनि भईसकेकाले आइतबारबाट रोक्का प्राथमिक सेयर भर्दा रोक्का राखिएको रकम फुकुवा हुने क्रम सुरु हुने हुँदा दोस्रो बजारको रौनक अझ बढ्ने देखिन्छ ।
विगतमा प्राथमिक निष्कासनको चाप भएका बेला दोस्रो बजार प्रभावित हुने गरेको पाईन्थ्यो । तर, यसपटक निषेधाज्ञाजस्तो कठिन अवस्थामा पनि प्राथमिक निष्कासन र दोस्रो बजारमा सेयर खरिद बिक्रीको उस्तै दबदबा रहनु सेयर बजारका लागि राम्रो संकेत हो । यसले पक्कै पनि बजारलाई नयाँ दिशामा लैजाने निश्चित छ । बजार घट्ने क्रम सकिएर विस्तारै चढ्दो क्रममा छ । यद्यपी अझै केही समय नेप्से सूचक १ हजार ५ सयकै वरीपरी घुम्ने छ ।
नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । ती वित्तीय विवरणहरुले कम्पनीहरुको नाफाको तुलनात्मक संकुचन देखाए पनि अवस्था सोचेजस्तो खराव नभएको प्रस्टिसकेको छ ।
वित्तीय क्षेत्रको बाहुल्यता रहेको सेयर बजारमा बैंक तथा वित्तीय संस्था (लघुवित्तसमेत) तथा बिमा कम्पनीहरुको नाफा पुँजी बृद्धिको अनुपातमा कम भएपनि समग्रमा थोरै छ भन्न मिल्दैन । यस्तो कठिन अवस्थामा पनि औसतमा १० देखि १५ प्रतिशतको लाभांश दर देखिनु बजारका लागि सकारात्मक कुरा हो ।
यसैबीच कम्पनीहरुले गत वर्षको नाफाबाट लगानीकर्ताहरुलाई लाभांश घोषणासमेत गर्न थालेका छन् । हिन्दुहरुको महान पर्व दशैंअघि नैै केही कम्पनीहरुले लगानीकर्ताको खातामा रकम पुरयाउने गरि लाभांश घोषणा गर्नेछन् । अहिले लगानी गर्दा तुरुन्तै (छोटो समयको अन्तरालमा) हातमा लाभांश आईपुग्ने अवस्था छ ।
अर्कोतिर ऋणको ब्याजदर बैंक तथा वित्तीय संस्थामा मात्रै होइन सहकारीमा समेत घट्दै गएको छ । कतिपय बैंकले सेयर धितो कर्जाको ब्याजदर एकल अंकमा झार्न थालेका छन् । त्यस्तै मुलुकभरको निषेधाज्ञाले लगानीका अन्य स्रोतहरु खुम्चिँदै गएका छन् ।
वित्तीय संस्थाहरु ऋण लगानीका लागि ग्राहक खोज्दै हिँडिरहेका छन् । लकडाउन र निषेधाज्ञा बाबजुद अर्थतन्त्रका अधिकांश सूचकहरु निरासाजनक देखिएका छैनन् । कोरोना भाईरसको संक्रमणका विस्तार र नियन्त्रण कसरी हुन्छ, त्यसले आगामी दिनको निक्र्योल गर्ने भएपनि अहिलेसम्मको अवस्थामा सेयर बजारको कारोबार गुल्जार हुने सम्भावनालाई बढाउँदै लगेको छ ।
लाभांश सम्भावना, प्रचलित सेयर मूल्य, बजारको बहाव र वास्तविक वित्तीय अवस्थालाई विश्लेषण गरेर लगानी गर्ने हो भने बजारले लगानीकर्तालाई अपेक्षित प्रतिफल दिन्छ नै । सेयर खरिद बिक्रीका बेला अत्यन्तै सचेत रहने, धैर्यता कायम राख्ने र बहकाउमा नआउने प्रबृत्तिको विकास गरेमा लगानीकर्ताले घाटा व्यहोर्नु पर्दैन ।
धेरै थरीका लगानकर्ताका विशेषज्ञहरुले आफूअनुकुलका कम्पनीहरुको विभिन्न ढंगले सामाजिक सञ्जाल, युट्यूव च्यानल, अनलाईन समाचार पोर्टल र अन्य माध्यममार्फत लगानीकर्तालाई राम्रो र नराम्रो भन्दै बहकाउमा पार्ने कोशिसहरु भएकै हुन्छन् । त्यस्तो बेला लगानीकर्ताले यथेस्ट बुझेर मात्रै अघि बढ्नु राम्रो हुन्छ । सेयर बजारको आफ्नो कुनै नियम हुँदैन ।
नियामकले गर्नु हुँदैन भनेका कामहरुबाहेक अन्य जुनसुकै हर्कत बजारमा प्रयोग हुन्छन् । कतिपय बेला नियामकको आँखा छलेर पनि अवाञ्च्छित क्रियाकलाप नहुने होइनन् ।
त्यस्ता घट्नाका सत्यतथ्य अध्ययन निकै कम मात्रै हुने गर्छ । त्यसैले त लगानीकर्तालाई सेयर बजारको बारेमा ‘टिप्स’ दिनेहरु नै कतिपय बेला कङ्गाल बनेका छन् । यस्ता पक्षमा लगानीकर्ताले ख्याल गरेर कारोबार गर्ने हो भने गुमाउने अवस्था आउँदैन ।